Logo

हिन्दुहरू माथि गरिएको अत्याचार एवं दमन विरुद्द रिपब्लिक पार्टीले पाकिस्तान राजदूतावासलाई बुझायो ज्ञापनपत्र

काठमाण्डौं – नेपाल रिपब्लिक पार्टीले पाकिस्तानले हिन्दू मन्दिर तोडफोड गर्नुका साथै हिन्दूहरुमाथि ‘दमन तथा अत्याचार’ गरेको घटनाबारे तिब्र विरोध जनाएको छ । पार्टीका प्रेसिडेन्ट सिद्धार्थ गौतमको संयोजकत्वमा पार्टीले विहीबार ‘विरोध पत्र’ सार्वजनिक गर्दै पाकिस्तान सरकारले हिन्दू मन्दिरहरु तोडफोड गरेको, हिन्दूहरुमाथि दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको तथा हिन्दूहरुलाई ज्यानको धम्की दिएर धर्म परिवर्तन गराउनेसम्मका निन्दनिय कार्य गरेको भन्दै यसको भर्त्सना गरेको हो  । पार्टीले हिन्दूहरु जस्तै बौद्ध, सिख र ईसाई समुदायप्रति पनि पाकिस्तानले दोस्रो दर्जाको व्यवहार गरेको आरोप लगाएको छ ।

विरोधपत्रमा भनिएको छ,’यस्ता घोर मानवता विरोधी, प्रजातन्त्र विरोधी एवं बर्बरतापूर्ण कार्य तत्काल बन्द गरी हिन्दू लगायत सबै धर्मावलम्बीहरुसँग माफी माग्न र उनीहरुका धार्मिक स्थलहरुको मर्मत/सम्भार र पुर्निर्माण गरी सबैलाई आ–आफ्नो धर्म-आस्था निर्वाध रुपले अपनाउन सक्ने वातावरण तयार पार्न नेपाल रिपब्लिक पार्टी पाकिस्तान ईस्लामिक सरकारलाई सचेत गराउन चाहन्छ ।’

हालै फ्रान्समा ईस्लामिक आतंकवादको घटनाका विषयमा पाकिस्तानले गरेको समर्थनको समेत पार्टीले विरोध गरेको छ ।‘उइगुर मुस्लिमको नरसंहार भइरहेको अवस्थामा एक शब्द नबोल्ने पाकिस्तानी सेना समर्थित इमरान खान, हिन्दु, बौद्ध, शिख, इसाई, अहमदिया मुस्लिम माथिको अक्षम्य अपराधको जति भ्रर्त्सना गरे पनि कमै हुनेछ’, विरोधपत्रमा भनिएको छ ।

उसले इस्लामिक आतंकवादविरुद्धको विश्व लडाइँमा फ्रान्सेली राष्ट्रपति इमैनुएल मैक्रोंको पहलकदमी धर्मनिरपेक्ष, मानवअधिकार, विश्वबन्धुत्व, प्रजातन्त्र, अभिव्यक्तिको स्वतन्त्रता र विश्व मानव सभ्यताको पक्षमा निर्णायक कदम भएको जनाएको छ ।पाकिस्तानले हिन्दू/बौद्ध सम्पदामाथि सुनियोजित रुपमा आक्रमण गरिरहेको उसले आरोप लगाएको छ ।

‘पाकिस्तान नियन्त्रित काश्मीरको गिलगित–बल्तिस्तान क्षेत्रमा ७ हजार वर्ष अघिका ५ हजार भन्दा बढी पुरातात्विक महत्वका बौद्ध शिलालेख र कलाकृतिका साथै पुरातात्विक वैभवले सम्पन्न एउटा सिंगो गाउँ नै डुबाउने गरी दियामर–भाशा बाँध बनाउन लागेको योजना षडयन्त्रप्रेरित रहेको छ’, विरोध पत्रमा भनिएको छ, ‘यो बाँध कम्युनिष्ट चीन सरकारको उक्साहट र सहयोगमा बनाउन लागिएकाले बौद्ध धर्ममाथिको आक्रमणमा ईस्लामिक-कम्युनिष्ट सहकार्य भएको सहजै बुझ्न सकिन्छ।’विश्व बौद्ध समुदायको आस्था र भावनामाथि आँच आउने यस्ता कार्यहरु  तत्काल रोक्न समेत पार्टीले माग गरेको छ ।

प्रेस विज्ञप्ती (अति गम्भीर विरोध पत्र)

      इस्लामिक रिपब्लिक अफ पाकिस्तान राजदूतावास,

                         काठमाडौँ।

 न्याय, स्वतन्त्रता र प्रजातन्त्रमा विश्वास गर्ने नेपाल रिपब्लिक पार्टी इस्लामिक पाकिस्तान सरकारले हालै हिन्दु मन्दिर तोडफोड गर्नुका साथै हिन्दुहरू माथि गरेको अत्याचार एवं दमनको कडा प्रतिवाद गर्दछ । पाकिस्तान सरकारले सैकडौं हिन्दु मन्दिरहरू तोडफोड गरिसकेको, हिन्दुहरू माथि दोस्रो दर्जाको नागरिकको व्यवहार गर्दै तीव्र अत्याचार एवं दमन गरेको र हिन्दुहरूलाई ज्यानको धम्की दिएर धर्म परिवर्तन गराउने गरेको प्रति नेपाल रिपब्लिक पार्टी तीव्र विरोध गर्दछ । हिन्दुहरू जस्तै बौद्ध, सिख र इसाई समुदायप्रति पनि दोस्रो दर्जाको व्यवहार गर्नुका साथै अत्याचार, दमन र धर्म परिवर्तनका प्रयासहरू पाकिस्तानले गर्दै आएका घटनाहरूप्रति यो पार्टी जानकार छ । यस्ता घोर मानवता विरोधी, प्रजातन्त्र विरोधी एवं बर्बरतापूर्ण कार्य तत्काल बन्द गरी हिन्दु लगायत सबै धर्मावलम्बीहरूसँग माफी माग्न र उनीहरूका धार्मिक स्थलहरूको मर्मत–सम्भार र पुनर्निर्माण गरी सबैलाई आ–आफ्नो धर्म-आस्था निर्बाध रूपले अपनाउन सक्ने वातावरण तयार पार्न नेपाल रिपब्लिक पार्टी पाकिस्तान इस्लामिक सरकारलाई सचेत गराउन चाहन्छ । पाकिस्तान इस्लामिक आतङ्कवादको संरक्षक, प्रवर्धक र उद्गम स्थल समेत रहेको कुरा विश्वमा सर्वविदित नै छ।

इस्लामिक आतंकवादीलाई संरक्षण, तालिम सुरक्षा र शरण प्रदान गर्ने पाकिस्तान विश्वमा जहाँ जहाँ जहिले जहिले इस्लामिक आतंकवादले टाउको उठाउँछ त्यस्ता प्रत्येक घटनामा इस्लामिक आतंकवादको पक्षमा उभिने गरेको र सबैजसो घटनाको मुख्य तार पाकिस्तानसँग जोडिने गरेको सर्वविदितै छ । यसै क्रममा हालै फ्रान्समा इस्लामिक आतंकवादको टाउको उठाएको घटनाक्रम प्रति पाकिस्तानले गरेको समर्थनको नेपाल रिपब्लिक पार्टी तीव्र निन्दा गर्दछ। उइगुर मुस्लिमको नरसंहार भइरहेको अवस्थामा एक शब्द नबोल्ने पाकिस्तानी सेना समर्थित पाखण्डी इमरान खान हिन्दु, बौद्ध, शिख, इसाई, अहमदिया मुस्लिम माथिको अक्षम्य अपराधको जति भर्त्सना गरेपनि कमै हुनेछ।

इस्लामिक आतंकवाद विरुद्धको विश्व लडाइँमा फ्रान्सेली राष्ट्रपति इमैनुएल मैक्रोंको पहलकदमी धर्मनिरपेक्ष, मानवअधिकार, विश्वबन्धुत्व, प्रजातन्त्र, अभिव्यक्तिको स्वतन्त्रता र विश्व मानव सभ्यताको पक्षमा निर्णायक कदम हो । प्रजातन्त्र र मानव अधिकार प्रेमी समग्र विश्वले यस कदमप्रति ऐक्यबद्धता जनाउनुपर्दछ र इस्लामिक आतंकवादलाई विश्वबाट निर्मूल पार्नुपर्दछ । इस्लामिक आतंकवाद विरुद्ध समग्र विश्व एक हुनेछ भन्ने कुरामा नेपाल रिपब्लिक पार्टी विश्वस्त छ । फ्रान्सको कदमलाई समर्थन गर्दै अष्ट्रियाले इस्लामिक आतंकवाद विरोधी कानुन बनाउन लागेकोमा हाम्रो पार्टी त्यसको स्वागत गर्दछ र अन्य मुलुकहरूमा पनि यस प्रकारको कानुन बन्ने विश्वास व्यक्त गर्दछ ।

इस्लामिक आतंकवादको समर्थक पाकिस्तानले हिन्दु–बौद्ध सम्पदामाथि सुनियोजित आक्रमण गरिरहेको छ । यसै क्रममा पाकिस्तान नियन्त्रित काश्मीरको गिलगित–बल्तिस्तान क्षेत्रमा सात हजार वर्ष अघिका पाँच हजार भन्दा बढी पुरातात्त्विक महत्वका बौद्ध शिलालेख र कलाकृतिका साथै पुरातात्विक वैभवले सम्पन्न एउटा सिङ्गो गाउँ नै डुबाउने गरी दियामर–भाषा बाँध बनाउन लागेको योजना षडयन्त्र प्रेरित रहेको छ । यो बाँध कम्युनिस्ट चीन सरकारको उक्साहट र सहयोगमा बनाउन लागिएकाले बौद्ध धर्म माथिको आक्रमणमा इस्लामिक-कम्युनिष्ट सहकार्य भएको सहजै बुझ्न सकिन्छ।

विश्व बौद्ध समुदायको आस्था-भावनामाथि घृणापूर्ण आक्रमणले इस्लामिक समुदाय पनि सुरक्षित रहन सक्दैन भन्ने कुरोको हेक्का राख्न पनि पाकिस्तानमा र बंगलादेशलाई सचेत गराउन चाहन्छु। यो कार्य तत्काल रोक्न नेपाल रिपब्लिक पार्टी पाकिस्तानका साथै चीनलाई समेत चेतावनी दिन चाहन्छ। नेपाल रिपब्लिक पार्टी इस्लामिक आतंकवाद विरुद्ध फ्रान्सले चालेको कदमको दृढ समर्थन गर्दछ र इस्लामिक आतंकवादलाई विश्वबाट समाप्त पार्न विश्वका सबै प्रजातन्त्रवादी मुलुकलाई फ्रान्सको समर्थन गर्दै हातेमालो गर्न आह्वान गर्दछ। इस्लामिक आतंकवाद मानव सभ्यता, प्रजातन्त्र र विश्वबन्धुत्वका लागि सबैभन्दा ठूलो खतरा हो। यसलाई निमिट्यान्न नपारेसम्म विश्वले शान्ति र सच्चा अर्थमा समृद्धि, खुसीयाली प्राप्त गर्न सक्तैन । नेपाल रिपब्लिक पार्टी पाकिस्तान इस्लामिक सरकारलाई इस्लामिक आतंकवादको संरक्षण, सहयोग र समर्थनका क्रियाकलाप तत्काल परित्याग गरी इस्लामिक आतंकवाद विरुद्ध उभिन धम्कीपूर्ण चेतावनी दिन चाहन्छ। अन्यथा उसले प्रजातान्त्रिक विश्वबाट बहिष्कृत हुनुका साथै गम्भीर परिणाम भोग्नु पर्नेछ ।

                                                       भवतु सब्ब मंगलम्

                                                               भवदीय,

                                                          सिद्धार्थ गौतम

                                                             (प्रेसिडेन्ट)

प्रतिक्रिया दिनुहोस्