Logo

समयका पदचापहरु – दीपशिखा शर्मा

“उ छाँगाबाट खसेजस्तै भई । वास्तविकता त्यसको विपरीत थियो । सौर्यले मिठा मिठा सपना देखाएर उसको ईज्यत र अस्मितामाथि खेलवाड पो गरेको रहेछ । बिचरा बाबु आमा र भाइ बैनीको सुन्दर भविष्यको लागी सौर्यको पासोमा परेर आएकी सोनीको जवानीको रस चुसेर उसलाई त्यत्तिकै अलपत्र पारेर छोडिदिएको थियो । एक नम्बरको धुर्त,जँड्याहा थियो सौर्य । खानदान राम्रो भएपनि आवारा साथीहरूको संगतले बेश्यालय,डान्सबार अनि क्यासिनो जाने,बाबा आमाले मेहनत र पसिनाले कमाएको पैसा खराब साथीभाई बटुलेर क्षणभरमै फुक्ने गर्दथ्यो । उसको लागी पैसा र केटी अम्मल सरी थिए । तिनी बिनाको जीवन उ कल्पना पनि गर्न सक्दैनथ्यो । बाबा आमाको पैसा,पुर्ख्यौली सम्पत्ति सब सखाप पारिसकेपछि अन्नत उसलाई परिवारले नै निकालिदिएका थिए । ड्रग्सको कुलतमा फँसेर महिनौ महिना त उ पुनर्स्थापना केन्द्रमा बस्यो,अस्पताल मा उपचारको लागी भर्ना भयो त्यसको लेखाजोखा थिएन । बाबा आमा निराश थिए । उसलाई सुधार्न कुनैपनि हालतमा नसकेपछि सौर्यको लागी सदा सदा घरको ढोका बन्द भएको थियो । “

                    – कथाकार 

काठमाण्डौंको व्यस्त जीवन । रातभर डान्सबारमा नाचेर मेकअप उतार्न सोनीले ऐना के हेरेकी थिई झसंग भई अनुहारभरि चाउरीका रेखा बसीसकेका थिए,आँखा गडेर भित्रै पुगीसकेको थियो । दुब्लो पातलो ख्याउटे अनुहार,गालामा एकथोपा रगतपनि थिएन,जे जति मेन्टेन गरेको थियो सब मेकअपको कमाल थियो । जब जब पुरै मेकअप उतारी अनि एक डरलाग्दो निलो भूतको जस्तो अनुहार देखापर्यो । आँखा वरिपरि डार्क सर्कल प्रष्टै देखिन्थ्यो । आफ्नो अनुहार हेरेर आफैँ झसंग भई । उसलाई बिश्वासगर्न नै गाह्रो भयो । त्यो जवानी,त्यो कलकलाउँदो भरभराउँदो गोरो अनुहार,ती स्याउजस्ता रक्तिम गाला , त्यो यौवनरस क्षणभरमै खत्तम भइसकेको थियो । अब त उ दिनदिनै बुढी हुँदै गइरहेकी थिई दुनियाँको आँखाकी तारा सोनी थिइन । समयले कति छिट्टै फड्को मारेछ कुन्नि ? सोनीले आङ तन्काउँदै अतीतका ती तिता मिठा यादहरू जुन मनको कुनामा थन्क्याएर राखेकी थिई,फुकाएर सम्झन खोजी ।

 बाबा आमाले लाडप्यार गरेर उसलाई मिठी भन्दथे । हालसालको सोनी नाम त उसको भुतपुर्व श्रीमान् सौर्य ले दिएको नाम थियो । हिजो जस्तै लाग्छ आफ्नो घर मकवानपुरबाट काठमाण्डौं को सौर्यको प्रेममा अन्धो भएर उसको पछाडि लागेर शहर पैसा कमाउन हिंडेकी आज दुई दशक बितीसकेछ । गाई भैंसीको गोरस अनि अर्गानिक मल राखेर खेती गरिएको दाल भात खाएर खाएर राती पिरी भएकी उ भर्खर कुरकुरे बैँसले धपक्क बलेकी थिई । १६ औं वसन्त पार गरेकी सोनी गोरो वर्ण, अनारका दाना जस्ता टम्म मिलेका दाँत,लाल परेका स्याउका जस्ता राता गाला,गोलो सर्लक्क परेको अनुहार,बाक्लो कालो लामो कपाल,मिलेका आँखिभुई,हिस्सी परेकी कम्ती राम्री थिइन उ । स्वर्गकी अप्सरालाई मात दिने उसको सौन्दर्यले पुरै गाउँ नै मगमगाएको थियो । गाउँकै दाईपर्ने सरोजको साथी थियो सौर्य ।

 आजभन्दा करिब २० वर्ष अगाडि सरोजको साथ लागेर सौर्य सोनीको गाउँमा आएको थियो । सोनीलाई देख्नासाथ दुवैका आँखा जुधेका थिए । सौर्य सोनीलाई देख्ना साथ उसको रूप र सौन्दर्यको आशिक भएको थियो । गाउँमा बसेर हुर्के बढेकी युवती सोनी शहरिया बाबु देख्नासाथ मन्त्रमुग्ध भएकी थिई । दुवैले एक अर्कालाई मनपराउन थालेका थिए । फलतः दुवै एक अर्का बिना बाँच्नै नसक्ने भए । मकवानपुरको विकट बस्ती,जति खेतीपाति गरेपनि ६ महिनाभन्दा बढी खान नपुग्ने । तामाङ्ग समुदायमा सोनीको जन्म भएको थियो । धान ,मकै , कोदो,आलु मुख्य बाली थियो ।

बर्षदिन घोटिंदा पनि ६ महिना परिवार पाल्न मुश्कील हुन्थ्यो । बाबु,आमा,चार बहिनी अनि दुई भाइ अनि उ समेत गरी नौ जनाको परिवार । परिवारकी जेठी बाठी छोरी थिई उ । परिवारको मुख्य पेशा खेतिपाति नै थियो । खोरिया खनेर बनाइएको खेत बारी, जति मेहनत गरेपनि उब्जनी थोरै परिवार पाल्न धौ धौ हुँदैगयो । अरू पेशा त्यस विकट गाउँमा सम्भव थिएन । बाबु आमा चिन्तित थिए । आखिर शहर गएर कमाएर दुई चार पैसा देखाउने परिवारमा कोही थिएन । भाइ बैनी भन्ट्याङ्ग भुन्टुङ्ग अनि बुढा भईसकेका बाबु आमाको दुःख पिर देखेर सोनीलाई गाउँमा त्यतिकै हल्लेर बस्न मनले मानेन ।

अन्ततः कसैले थाहा नपाउने गरी भालेको डाँकसँगै सोनीले सौर्यसँग शहरको बाटो तताएकी थिई । मनभरि सुन्दर सपना, शहरको रमझम,अनि सुखद जीवनको कल्पना गर्दै सौर्यको काखमा लुटपुटिएर सोनी काठमाण्डौं आएकी थिई । सौर्यले नै सोनीलाई सुखद सपनाका महलहरू देखाएर मोहजालमा पारी काठमाण्डौं ल्याएको थियो । तर केही दिनको काठमाण्डौं बसाइमा नै उसका सपनाहरू छताछुल्ल भएर यत्रतत्र पोखिए । सोनीको सपना सपना नै रह्यो । उ छाँगाबाट खसेजस्तै भई । वास्तविकता त्यसको विपरीत थियो । सौर्यले मिठा मिठा सपना देखाएर उसको ईज्यत र अस्मितामाथि खेलवाड पो गरेको रहेछ । बिचरा बाबु आमा र भाइ बैनीको सुन्दर भविष्यको लागी सौर्यको पासोमा परेर आएकी सोनीको जवानीको रस चुसेर उसलाई त्यत्तिकै अलपत्र पारेर छोडिदिएको थियो । एक नम्बरको धुर्त,जँड्याहा थियो सौर्य । खानदान राम्रो भएपनि आवारा साथीहरूको संगतले बेश्यालय,डान्सबार अनि क्यासिनो जाने,बाबा आमाले मेहनत र पसिनाले कमाएको पैसा खराब साथीभाई बटुलेर क्षणभरमै फुक्ने गर्दथ्यो । उसको लागी पैसा र केटी अम्मल सरी थिए । तिनी बिनाको जीवन उ कल्पना पनि गर्न सक्दैनथ्यो । बाबा आमाको पैसा,पुर्ख्यौली सम्पत्ति सब सखाप पारिसकेपछि अन्नत उसलाई परिवारले नै निकालिदिएका थिए । ड्रग्सको कुलतमा फँसेर महिनौ महिना त उ पुनर्स्थापना केन्द्रमा बस्यो,अस्पताल मा उपचारको लागी भर्ना भयो त्यसको लेखाजोखा थिएन । बाबा आमा निराश थिए । उसलाई सुधार्न कुनैपनि हालतमा नसकेपछि सौर्यको लागी सदा सदा घरको ढोका बन्द भएको थियो ।
नानीदेखि लागेको बानी भने झैँ उ कुनैपनि हालतमा सुध्रिन चाहेन । फलतः उ दुई नम्बरी धन्दा गरेर पनि आफ्नो जरुरतको परिपुर्ती गर्ने तलासमा लागेको थियो । सिधासादा युवतीलाई प्रेमजालमा फँसाएर जागिर लगाईदिन्छु भनी पासोमा पार्ने अनि श्रीमती बनाउँछु भनेर झुट्टो बिहेको नाटक गरी बार र बेश्यालयमा लगेर बेच्ने गर्दथ्यो । बिचरा त्यो अन्जान,अबोध,सोझी गाउँले युवती सोनीलाई मोहरा बनाएको थियो । करिब ५,६ महिनासम्म त सोनीलाई उसले आफ्नो डेरामा राखेर आश्रय दियो,झुटो बिहेको नाटक गरेर सोनीको ईज्यत र अस्मितामाथी खेल्यो,उसलाई लुट्नुसम्म लुट्यो । जब जब उ सोनीबाट अघाउँदै गयो,बिस्तार बिस्तार उसको आचरणमा परिवर्तन हुँदै गयो । सानो सानो कुरामा पनि शारीरिक र मानसिक यातना दिने,रिसाउने,झर्किने गर्नथाल्यो । उसलाई अव पैसाको सख्त जरुरत थियो । जुन सोनीले पुर्तीगर्न सक्दिनथी । आखिर एउटा युवतीको अस्मीतासँग कतिदिन खेल्ने? उसको घृणित जीवनमा लुगा फेरे झैँ केटी फेर्नु गर्दथ्यो,मनोरञ्जनको लागी डान्सबार,क्यासिनो जानुपर्दथ्यो,नयाँ नयाँ केटीसँग रोमान्स गर्नुपर्दथ्यो । सोनीको ईज्यतसँग खेलेर मात्र उसको भोको पेट भरिने थिएन,उसलाई ड्रग्स र रक्सी २४ सै घण्टा चाहिन्थ्यो । अन्ततः उ सोनीलाई पाखा लगाएर कुनै अर्को नयाँ सोनीलाई प्रेमजालमा फँसाउन चाहन्थ्यो । फलतः उसले भित्रभित्रै योजना बनाईसकेको थियो ।

“ प्रेममा अन्धो भएर उ सौर्यसँगै बस्ने दृढता गरेकी थिई । तर सौर्य त्यसको विपरीत थियो । सौर्यको सोनी प्रतिको प्रेम बनावटी थियो,मात्र उ सोनीलाई हासिल गर्न चाहन्थ्यो,हासिल गरिसकेको थियो, बिचरा सोझी र नीरिह युवती सोनी जसले सौर्यलाई आफ्नो सुनौलो भविष्यको राजकुमार ठानी प्रेममा पागल भएर बुबा आमाको जानकारी बिना भागेर काठमाण्डौं आएकी थिई ।

उसलाई विश्वास थियो कि एकदिन सौर्यले उसका सपनाहरू जरुर पुरा गर्नेछ । बुबा आमाको गरिबी निवारण गर्नेछ,भाइ बैनीको सुखद भविष्यका गोरेटाहरु कोरिदिनेछ । उसको दुखेको घाउमा मलहम लगाईदिने छ ,उसको जीवन सम्हारिदिने छ , स्याहारीदिने छ ,र उसलाई समाजको परजिवी किटाणुहरुबाट बचाएर उसको अस्मीताको रक्षा गर्नेछ । तर यथार्थ त्यसको विपरीत भयो । शहरमा पसेपछि बल्ल उसले सौर्यको असली अनुहार देखी । अव पछुताएर पनि हुनेवाला केही थिएन । एकमन सौर्यले थाहा नपाउने गरी भागेर आफ्नो प्यारो गाउँ फर्किने अनि बुबा आमासँग माफी माग्ने बिचारपनि मनमा नआएको होइन । तर पनि सोनीको पवित्र एकोहोरो प्रेमले सौर्यसँग अलग हुन दिएन ।

उसको मायामा एक प्रकारको सुगन्ध थियो,त्याग र तपस्या थियो,गंगाजल जस्तै पवित्रता थियो,निश्छल र निष्कपट थियो सोनीको सौर्य प्रतिको प्रेम । तर सौर्यको नजरमा सोनी “घरकी मुर्गी दाल बराबर”जस्तै भएकी थिई । जुनसुकै हालतमा पनि उ सोनीलाई पाखा लगाउने योजना बुन्न थाल्यो ”

एकदिन सौर्य काम छ भनेर घरबाहिर गएको थियो । सोनी उसको लागी खाना बनाउन,लुगाधुन अनि घर सफागर्न लागेकी थिई । ३,४ घण्टापछि उ एकजना अधबैंसे मानिस लिएर डेरामा आयो । सोनी घरको काम सकेर पल्टीरहेकी थिई । सौर्यले उठाएर सोनिलाई परिचय गराउँदै भन्यो,सोनी ! मेरो साथी बिराट स्कुल पढ्दाको साथी,मेरो लँगोटिया यार ! सोनीले नमस्कार गरी । बदलामा बिराटले पान खाएर कुहिएको दाँत किच्च देखाएर आँखा गाडेर सोनीलाई एकोहोरो हेरिरह्यो । मानौ बाजले परेवा झम्टे झैँ अहिल्यै झम्टेर सोनीको ईज्यत र अस्मितामाथी खेल्न चाहन्छ । सोनी बिराटको दुर्व्याबाहर देखेर डरले पर हटी उसलाई एक तमासको डरलाग्न थाल्यो । किनकिन आज उ आफूलाई असुरक्षित महशुस गर्नथाली ।

“खाना तयार छ ?” बडो रहस्यमयी अन्दाजमा सौर्यले सोनीलाई सोध्यो ।

बिचरा सोझी सोनीलाई के थाहा ? सौर्य सँगको बसाई यो जीवनमा यत्ति रहनेछ भन्नेकुरा, उसले भनी,

“हजुर छ”

उसले झोलाबाट रेड लेवल ह्विसकी अनि दुई किलो मासु सोनीलाई थम्याउँदै भन्यो,

“यो मासु बेस्सरी भुटिदे आज मेरो साथी मेरो घरमा आएको छ रमाइलो गर्नुपर्छ ।”

सोनीले सहमतिमा मुन्टो हल्लाई । भान्छातर्फ खानपानको तयारीमा जुटी । सोनी किचनमा पस्नासाथ सौर्यले बिराटको कानमा केही फुसफुसायो । बिराटले बुढी औंलो माथि उठाएर सौर्यलाई धाप मार्दै केही चिज भन्यो । सौर्यले ढुक्क भएर मन्द मुस्कानमा सन्तोषको श्वास फेर्यो । केहिबेरपछि सोनीले एउटा ठुलो भाँडोमा मासु अचार अनि रक्सी खानको लागी पानी र गिलास अगाडि ल्याएर राखिदिई । दुवै जनाले रक्सी र मासु खानथाले । बिच बिचमा सांकेतिक भाषा प्रयोग गरेर दुवै मरिमरी हाँस्थे । रातको १२ बजिसकेको थियो तर सौर्य र बिराट त्यहाँबाट उठ्ने छाँटकाँट थिएन । दिउँसोदेखी केही नखाई बसेकी उसलाई ज्यादै भोक लागिरहेको थियो । सोनीलाई उनीहरूको नजिक बस्न मन लागेन । सौर्यको फोहोरी व्यवाहारले सोनी दिक्क भईसकेकी थिई । तसर्थ अलिकति खाना खाएर किचनमा राखेको पलङ्गमा लमतन्न परेर सुति । अर्को कोठामा सौर्य र बिराट रक्सी को नशामा चित थिए । अलि अलि गर्दै उनीहरूले रेड लेबल का बोतल रित्याए । २ किलो मासुपनि सफाचट पारे । दुवै रक्सीको नशाले मातेका थिए । जुन खराब नियतले सौर्यले बिराटलाई ल्याएको त्यो पुराहुन बाँकी थियो । सोनी बिस्तारमा पल्टेकी त थिई तर उसलाई निद्रा परेको थिएन । आज के हुने हो ? अनर्थ हुने डरले सोनीको मन थरथर काँपिरहेको थियो । नभन्दै एकछिन पछि सौर्यको भद्धा चर्को स्वर सोनीले सुनी,

“ए सोनी खाना पनि नदिई के सुतेकी ? खुरुक्क ढोका खोल् !” किचनको ढोका फोरुँला झैँ सौर्यले ढोकामा लात्ताले हान्यो । सोनी झसंङ्ग भई हत्तपत्त ढोका खोली ।

“ए अलक्षिनी ? बाहिर तेरो श्रीमान भोकै छ तँ यहाँ भुँडी भरेर लम्पसार परेर सुत्ने ? लाज सरम छैन तँलाई ? खुरुक्क बिराट र मलाई खाना पस्की नकचरी । गाँउमा पेटभर भुटेको मकै नपाउनेकी छोरी यहाँ आएर मातेर भई न भाँडामा भई छ । तँलाई अलिकति पनि लाज छैन ? घरमा आएका पाहुनालाई नखुवाईकन सुत्न ?”

बिचरा सोनी सौर्यको कठोर ब्यवाहारले अक्क न बक्क भई । उसले कुनै प्रतिकार गरिन । चुपचाप खाना पस्केर दिई । खाना खाने समयमा बिराटले सोनीलाई खाउँला झैँ गरेर घुर्न थाल्यो । सोनीलाई असजिलो महसुस हुनथाल्यो । यता उता छलेर हेर्न खोजी तर केही सिप लागेन । बिराट एकटक लगाएर सोनीलाई हेर्दै थियो ।

“खाना चिसो भयो बिराट !” सौर्यको बोलीले बिराट झसंग भयो । अनि खाना खान थाल्यो । सौर्यले थप्यो, “बिराट लाज नमानी खा यार……. यो तेरै घर त हो नि……..तेरो सहयोग नपाएको भए म कुन हालतमा हुुनेथिएँ थाहा थिएन । ड्याडी मम्मीले घरबाट निकालीदिईसेको पनि १० वर्ष भई सक्यो । तैँले नै मलाई साहारा दिईस् । मलाई दुःख सुखमा साथ दिईस् । तेरो गुन मैले सात जुनीसम्म पनि तिर्न सक्दिन यार मेरो दोस्त ! यो सबै तेरो कृपा त हो नि ! मेरो घर तेरो घर,मेरो कोठा,तेरो कोठा,मेरो सम्पत्ति तेरो सम्पत्ति,मेरो श्रीमती तेरो श्रीमती ! होइन त साथी ? हा…हा….हा…. दोस्त सब तेरो……..आजदेखि यो सब तेरो ।” बिराटले रहस्यमय तरिकाले हाँस्दै सौर्यलाई धाप मार्यो । सोनी छाँगाबाट खसेजस्तै भई…..उसलाई विश्वास गर्नै गाहृो भयो कि सौर्य के बोलिरहेछ ? शायद रक्सीको नशामा बोलेको होला भनी मन बुझाई । बिस्तार बिस्तार उनीहरूले खानाको थाल रित्याए । खाना खाईसकेर सौर्यले सोनीलाई आदेश दियो,

 “सोनी ! आजदेखि तैँले बिराटलाई पनि खुसीपार्नु पर्छ बुझिस् ? दायाँ बायाँ गरिस् भने राम्रो हुने छैन । मैले जे जे भन्छु चुपचाप गर् । नत्र तँलाई के गर्छु यो कुरा याद गर । म कोठामा गएँ । बिराट ईन्ज्वाई गर यार !” यती भनी सौर्यले सोनीलाई धकेलेर बाहिरबाट बेडरुमको ढोका लगाईदियो । बिराट पहिल्यै तयार भएर बसिसकेको थियो । सोनी डरले थरथर काम्दै रुनथाली । उसले दयाको भिख मागी हे भगवान मलाई केही नगर भनी बिराटको सामु हात जोडी तर रक्सीले मातेको र कामबासनाले मस्त भएको पशुतुल्य राक्षस बिराटको अगाडी सोनीको केही लागेन । उ हरहालतमा सोनीलाई हासिल गर्न चाहन्थ्यो ।

 उसले जबर्जस्ती सोनीलाई पलङ्गमा लडायो । सोनीले प्रतिकार गर्न खोजी हार गुहार गर्न खोजी बिराटले उसको मुखमा रुमाल कोचिदियो अनि उसलाई मोटो डोरीले बाँध्यो । र कानमा फुसफुसाउँदै भन्यो,“चुपलाग् ! बोलिस् भने तँलाई टुक्रा टुक्रा पारेर मारिदिन्छु । तेरो श्रीमान सौर्यले मलाई बेचिसक्यो । तैँले लगाउने कपडा,खाना,अनि तेरो श्रीमानको दिन दिनको खर्च कसले भरिदिएको याद छ ? त्यो सब मेरो पैसा हो बुझिस् ? मेरै अनुग्रहले तिमीहरू पालिएका छौ । अब तैले दिनदिनै आफ्नो शरीर मलाई सुम्पिनुपर्छ । सौर्यले म बाट एडभान्स पैसा २ लाख लिईसक्यो । आजै बैना गरेको तँलाई मैले । हा….हा…..हा….. आजदेखि तँ मेरो माल होस् बुझिस् ?”

सोनीले जोडले रुमाल निकालेर निस्सासिंदै रुँदै भनी,“मेरो सौर्य त्यस्तो हुनै सक्दैन हजुर मलाई छोडीदिनुस् । म बरु गिट्टी कुटेर पनि हजुरको पैसा तिरुँला । मेरो ईज्यत र अस्मितामाथी खेल्ने प्रयास नगर्नुस् मलाई जान दिनुस् दश औंला जोडी बिन्ती छ हजुर…..
“सौर्य …….. ढोका खोल सौर्य………. म बरु ज्यान दिन तयार छु तर यस्तो कुकार्य गर्न हर हालतमा तयार छैन । सौर्य ..सौर्य…ढोका खोल सौर्य ! ”

सौर्यको डेरा एकान्तमा थियो । रातको १ बजिसकेको थियो । त्यो चुक घोप्टिए जस्तो अन्धकार रातमा निरीह सोनीको हार गुहार क्रन्दन अनि चित्कार सुन्ने त्यहाँ कोही थिएन । पुनः बिराटले सोनीको मुखमा बेस्सरी रुमाल कोच्यो । सोनी निस्सासिई । पालै पालो बिराटले आफ्नो कपडा खोल्यो । अनि हिंस्रक रूपमा सोनीको कपडा जवर्जस्ती च्यातेर एकातिर फ्याँकीदियो । हातखुट्टा बाँधिएको थियो । मुखमा रुमाल कोचिएको थियो । चाहेर पनि सोनी उम्कन सक्ने अवस्थामा थिइन । आँखाबाट बलिन्द्रधारा आँसु खसिरहेका थिए । सोनीले आफ्नो मुन्टो हल्लाएर नाईँ …..नार्इँ…. भनी आत्मरक्षाको भिख मागीरहेकी थिई । तर अफसोस ! एउटा हिंस्रक नरपशुको अगाडी उसको केही लागेन । सोनीलाई देख्नासाथ बिराट सोनीको सौंन्दर्यमा पागल भइसकेको थियो । गिद्धले सिनो भेट्टाएझैं उसले सोनीलाई झम्ट्यो । भयले सोनीको शरीरको रगत जम्ला जस्तो भयो । मुटुले कामगर्न छोड्यो । प्रतिकार गर्न खोजी सकिन । अन्तत बिराटले सोनीको ईज्यत लिएर नै छोड्यो । रातभर पाशविक रूपमा सोनीमाथि बलात्कार गरिरह्यो ।

“एउटी लाचार अनि अवला नारीको अस्मितासँग खेल्ने परजिवी बिराट अनि खेल्न बाध्य बनाउने कसाही पुरुष जो उसको श्रीमान थियो । जसको विश्वासमा परेर सुन्दर भविष्यको कल्पना गर्दै सोझा साझा बुबा आमाको आँखामा छारो हालेर भागेर सौर्यको पछि लागेर आएकी थिई त्यसले नै आज परपुरुषको हातबाट ईज्यत लुटिदिएको थियो । जन्म दिने बुबा आमाभन्दा पनि बढ्ता विश्वास गरेर सौर्यको प्रेममा पागल भएर पछि लाग्दा सोनीको यो दुर्गती भएको थियो । एक नशेबाज,केटिबाज,र रिल्याक्स लाई नै जीवन ठान्ने दलाल सौर्यको अगाडी नत कुनै नाताको मतलब थियो नत कुनै ईज्यतको मतलब थियो । उसलाई त सिर्फ पैसा चाहिएको थियो । जसरी भएपनि उ आफ्नो जरुरत पुरागर्न चाहन्थ्यो । जसका लागी उसले पवित्र प्रेम गर्ने आफ्नी जीवन संगिनी सोनीलाई समेत बेचेको थियो ।” 

           क्रमश:

प्रकाशित मिति २०७४ साल भाद्र २७ गते मंगलवार

[email protected]

प्रतिक्रिया दिनुहोस्