Logo

कथा – झोलुङ्गे पुलमा एक साँझ

“ती पुरुषको घरमा श्रीमती र छोराछोरीले कति आशा, भरोशा र विश्वास गरेका होलान् ? श्रीमतीलाई श्रीमानको अभावको महशुस कति होला ? यदि ती महिलाको श्रीमान् यु.के अमेरिकातिर कमाउन गएका भए, २/३ दिनको लागि एकैपटक खाना बनाएर फ्रीजमा राखेर हतार हतारमा कामका गैरहेको होला । यदि जापानतिर भए २०/२२ घन्टा उभिएर रेष्टुरेन्टमा रोटि बेल्दै होला, कोरियामा भए कानको जाली फुट्लाझैं गरी कराउने मेसिनको आवाजबाट बच्न कानमा एयर प्लक राखेर काम गर्दै होला । खाडितिर भए ४८/ ५० डिग्री तातो घाममा खजुरको बोटमा पानी हाल्दै होला कि आकाश छुम्लाझैं देखिने अग्ला घरहरुमा डोरीमा झुन्डिएर जिन्दगीलाई जिउनु र मर्नुको दोसाँधमा राखेर सिसा पुछ्दै होला र भारततिर भए साहु महाजनको घरमा बहादुरको नामले कोठिमा काम गर्दै होला । “
     – नबराज क्षितिज
नारायणगढदेखि मुग्लिनसम्मको रोगी बाटो छिचोल्दै म दमौली पुगें । भुईँभरी आत्मीयता छर्दै दमौलीले स्वागत गरिरह्यो मलाई । बिगतमा दमौलीले दिएको मायाँ सम्झना र आत्मबिश्वासलाई मैले मेरो मनभित्र गाता हालेर सुरक्षित राखिरहेको छु, कहिल्यै नच्यातिने गरि ।
     
  दमौलीको मायाँलाई धितोमा राखेर चर्को ब्याजमा सम्झनाहरु ऋण लिएर प्रवास भास्सिएको पनि झन्डै दशक पुग्न लागेछ । जब जब म फर्केर दमौली पुग्छु, तब मलाई दमौली आसपासका रमणीय दृश्यहरु अवलोकन नगरी फर्कन मनै मान्दैन । शिव पन्चायन मन्दिर, व्यास गुफा, पराशर गुफा, मादी र सेती नदीको सुन्दर संगमस्थल , के.बी. गुरुङका व्यबसायिक बाँसका झ्याङ्गहरु मादी नदिको पुल दमौली पुग्नासाथ मेरो मनले छनौट गर्ने स्थानहरु हुन् । समय मिल्दा छाब्दी बराही , र मानुङ्ग डाँडासम्म मन तन्कने र उक्लने गर्छ ।
  
  पश्चिमाञ्चल क्षेत्रीय शिक्षक तालिम केन्द्र पछाडिको बाटो हुँदै के.बी. गुरुङको बाँसको झ्याङ्ग छिचोल्दै पराशर गुफा सम्मको दूरी लगभग ४ किलोमीटर होला । यो दूरी मेरा खुट्टाहरुले नापिसकेपछि एक्छिन पराशर गुफाबाट व्यास गुफातिर आँखा दौडाइरहें । बाढीले खैरो रंग पोतिदिएको मादी नदिको वारी किनार र पारी किनारमा एक अर्कालाई हेराहेर गर्दै हाँसिरहेका छन् यी गुफाहरु । पराशर गुफाबाट देखिने सौन्दर्यता आँखामा अटाइ नअटाई हेरिरहेको छु । महर्षी वेद व्यासले चार वेद र अठार पुराण लेखेका थिए यहि गुफामा बसेर भन्ने भनाई छ । म यहि गुफा हेरिरहेको छु, आँखाले छामिरहेको छु र मनले महशुस गरिरहेको छु । 
 
  परिवर्तनका उकाली ओह्रालीहरु संगसंगै भौतिक सुबिधाहरुको पनि बिकास भैरहेका छन् । पराशर गुफा र व्यास गुफा जोड्ने नयाँ झोलुङ्गे पुल बनेको छ । मैले पुलको बीचमा गएर देखिने सबै रमणीय दृश्यहरु आँखामा कैद गरिरहें । मादी र सेती नदीको सुन्दर संङ्गम हेरिरहदा मलाई दमौली छोड्नै मन लाग्दैन । म झोलुङ्गे पुलको वीचमा बसेर मानुङ्ग डाँडातिर हेरिरहेछु । दिनले आफ्नो रुप बदलेर अँध्यारो रङ्ग पोतिरहेको छ । साँझ गाढा हुन लागे पनि मेरो मन भने उज्यालो भैरहेथ्यो । धेरै समयपछि ती रमणीय दृश्यहरु जो हेर्न पाइरहेको थिएँ ।
 पुलको मुखैमा अन्दाजी तीस हिंउद काटेकी सुन्दर महिला देखिईन् । उनको लाली चढेको अनुहारमा चन्द्रमाको मधुर मुस्कान धेरैबेर उदाएझैं लाग्थ्यो । केही बेर पछि झण्डै तीन दर्जन हिंउद खाइसकेका पुरुष आइपुगे र नारिएर पुल तर्न लागे । पुलको चौडाइ उनिहरुको राजमार्ग सम्झिएर पुलको भएभरको चौडाइ च्यापेर म तिर आइरहे । उनिहरु नजिकै आइपुग्दा म चेप्टिएर अझ पातलो बन्न खोजें ताकी उनिहरुको राजमार्गमा मैले अबरोध नपुर्याउँ । 
   मेरो नजिकै आइपुग्दै गर्दा महिलाले झोलाबाट आइफोन निकाल्दै पुरुषलाई दिदै भनिरहेकी थिईन् ” मेरो प्याराको लागि….. आँखाको ताराको लागि …….. हजुरको लागि , उहाँले पैसा पठाउनु भएको थियो र हजुरलाई किनिदिएको । ” यति भनेपछि  दुबैका ओठहरु एक- आपसमा जोडिए धेरै बेरसम्म । मलाई अप्ठ्यारो लाग्यो । अलि पर पुगेपछि जोडेको भए के जान्थ्यो र ? ……..कुन्नी के भन्दा देख्नेलाई लाज भनेजस्तै ……. म अर्कोतिर फर्किएँ । ब्यक्तिगत कुराहरु हुन् भन्दैमा दुई ब्यक्ति विचको गोप्य रुपमा हुनुपर्ने कुराहरु आधुनिकताको नाममा उदाङ्गो हुन सक्छ र ? यहि प्रश्नले घोचिरह्यो मलाई । 
       उनिहरु कटिसकेपछि मेरो मनमा धेरै कुराहरु खेलिरह्यो । म पुलको वीचमा छु तर जिन्दगीको दोबाटोमा उभिरहेको महसुस गरिरहें। यसरी माया गर्नु उनिहरुको ब्यक्तिगत कुरा होला तर, आफ्नो अधिकार प्रयोग गर्दा अरुलाई अप्ठ्यारोमा पार्नुहुँदैन । जिन्दगीको मध्यान्तरतिर आइपुगेका, बाल बच्चाका बाबू आमाहरु यसरी प्रेम गर्दै हिंड्दा पारिवारिक बिखण्डन आउँदैन ? समाजले के सोच्लान् ? लहलहाउँदो जिन्दगी भाँचिदैन?
 
 बालबच्चाहरुको भविष्य के होला ? ती पुरुषको घरमा श्रीमती र छोराछोरीले कति आशा, भरोशा र विश्वास गरेका होलान् ? श्रीमतीलाई श्रीमानको अभावको महशुस कति होला ? यदि ती महिलाको श्रीमान् यु.के अमेरिकातिर कमाउन गएका भए, २/३ दिनको लागि एकैपटक खाना बनाएर फ्रीजमा राखेर हतार हतारमा कामका गैरहेको होला । यदि जापान तिर भए २०/२२ घन्टा उभिएर रेष्टुरेन्टमा रोटि बेल्दै होला, कोरियामा भए कानको जाली फुट्लाझैं गरी कराउने मेसिनको आवाजबाट बच्न कानमा एयर प्लक राखेर काम गर्दै होला । खाडितिर भए ४८/ ५० डिग्री तातो घाममा खजुरको बोटमा पानी हाल्दै होला कि आकाश छुम्लाझैं देखिने अग्ला घरहरुमा डोरीमा झुन्डिएर जिन्दगीलाई जिउनु र मर्नुको दोसाँधमा राखेर सिसा पुछ्दै होला र भारततिर भए साहु महाजनको घरमा बहादुरको नामले कोठिमा काम गर्दै होला । 
 
  श्रीमान बिदेशमा दुख गरि पैसा कमाएर पठाउनु र घरमा आफुलाई मन परेको ब्यक्तिलाई आइफोन किनेर दिनु कतिको जायज हो ? हुन त माया बसिसकेपछि तन र मन त सुम्पन्छन् , यो आइफोनको कुरा त के भयो र? मनमा यस्तै कुराहरुले गुँड लगाइरह्यो । बिकृती र बिसंगतिको बेतुकको समाजमा अर्को बिकृती थपिदैछ आजभोली ।
  लगभग रातलाई पालो दिएर दिन लुकिसकेको थियो । म पुलको वीचबाट फर्किदै थिएँ । एक जना ब्यक्ति ढनमनिदै पुल टेक्दै थियो । शायद उसले पनि पुललाई राजमार्ग नै सम्झिदै थियो । कहिले दायाँ पट्टिको जाली समाउन पुग्थ्यो कहिले बायाँ पट्टिको जाली समात्न पुग्थ्यो । उस्को पछि पछि ६/७ बर्षीय छोरा बाबुको चर्तिकला निरीह बनेर हेर्दै पछ्याउँदै थियो । म नजिकै पुगेर पारीसम्म तारिदिन्छु भनेर समाएर पारीसम्म पुर्याइदिएँ । उनलाई देख्दा मलाई खुब रिस उठेको थियो तर उन्को छोरालाई देख्दा गह भरिएर आए । ती अबोध बालकको के दोष थियो र ? रक्सीले मातेको बाबुको पछिपछी हिडिरहनु पर्ने ? पुल तारिदिएँ , म फर्कने बेलामा अलि संयम भएर मेरो बारेमा सोध्यो । उसैले चासो गरेपछि मैले एक्छिन कुरा गरें । 
   ४२ हिउँद निखारीसकेका जग बहादुर मगर अँध्यारोमा बसेर मनको बह सर्लक्क पोखे । पहिले देखि अलिअली रक्सी पिउने उनी, चार बर्ष भएछ रक्सीसँग प्रेम बसेको नछुट्ने प्रेम । निम्छरो जिन्दगीदेखि बिरक्तिएर झण्डै आठ बर्ष अगाडि तीन रुपैयाँ ब्याजका दरले ८० हजार रुपैयाँ ऋण खोजेर दुबईमा पुगेका जग बहादुर दुवईको अल अबिर नजिकै रहेको मजरामा काम गर्न पुगेका रहेछन् । ४०० भन्दा धेरै भेडाबाख्रा र ९० वटा भन्दा धेरै उँटहरु भएको मजरामा उनलाई महिनामारी ४०० रुपैयाँ मात्र दिन्थ्यो रे । खाना खर्च २०० ले धान्न मुस्किल पर्ने अनि बचेको २०० ले साहुको ऋणको थाक्रोमा फलेको ब्याज तिरौंकी घर खर्च पठाउँ भन्ने चिन्ताले पिरोल्न कहिल्यै नछोड्ने भएकोले उन्ले अर्को कम्पनीमा गार्डनर काम गर्न थालेका थिए । त्यहाँ उस्लाई सात सय दिन्थे तर त्यति पैसाले उनको घर खर्च तिर्न घर चलाउन र साहुको ऋणको थाक्रोमा फलेको ब्याज तिर्न पर्याप्त थिएन । 
“प्रतिब्यक्ती आयका आधारमा संसारमै उत्कृष्ट १० मा पुगेका अरब मुलुकहरु रोजिरोटिको लागि आउने कामदारहरुलाई दासता लादिरहेका छन् । यो कुरा धेरैले महसुस गरेका छन् तर नेपालबाट बिदेशमा अभिभावकीय दायित्व निभाउन आएका कुटनीतिज्ञहरुले पनि खासैकेही गर्न सकेको अनुभूति हुँदैन”
 
 जगबहादुरलाई २ बर्ष भएपछी घर जान मन लागेछ तर पासपोर्ट पहिला काम गरेको कम्पनीको मालिकसँग भएकाले उनी घर जान पाएनन् र अर्को एक बर्ष पनि उनी त्यहिं बसे । अन्ततः आफुले आफैलाई पुलिस चौकिमा बुझाएर २ महिना जेल बसेपछी नेपाल फर्काइदिए । उनको सानो घर थियो घाम लाग्दा घामबाट छेलिने र पानी पर्दा ओतिन मिल्ने , तर उनी घर जाँदा घर मात्र थियो । उनकी श्रीमतीले अर्कै सँग विवाह गरेकी रहिछिन् । छोरालाई माइतमा छोडेर श्रीमती अरुसँग बिहे गरेको थाहा पाएपछि घर छोडेर जाँदाको पीडाले दुखेको मुटु झन् अचानोमा राखेर टुक्राटुक्रा पारेजस्तै भयो उनलाई । 
“मरुभूमिका बाफिला बालुवाहरुमा काम गर्दागर्दै पारिवारिक सम्बन्धहरु चिसिएका घटनाहरु धेरै छन् । जबसम्म रोजगारीको लागि युवाहरू बिदेशिन बाध्य हुन्छन् तबसम्म यस्ता घटनाहरु घटिरहनेछ्न् । सरकारले सबैभन्दा पहिला युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न जरुरी छ । यदि सरकारले यस बिषयमा ध्यान दिदैन भने पारिवारिक बिखन्डन निम्त्याउन सरकारले महत्वपूर्ण भुमिका निर्वाह गरेको ठहरिनेछ ।”
“बैदेशिक रोजगारीमा जानेहरुको श्रीमतीसँग विवाह गर्नेहरु जेल सजाय वा ५ लाख जरिवाना हुन सक्ने नियम बनाएका छन् नि ?” मेरो प्रश्न पूरा हुन नपाउँदै उनले आक्रोश पोखे ।” यो सबै देखावटी हो , सरकारले पैसामा सम्बन्ध किनबेच गर्न बनेको नियम हो यो त । निकम्मा सरकार युवाहरुलाई रोजगारी दिन नसकेर बिदेश पठाउने अनि हामी जस्तो पीडितलाई सरकारले के जवाफ दिन सक्छ? यो नियम बनाउनु अगाडि युवाहरुलाई स्वदेशमा नै रोजगारीको ब्यवस्था गर्नुपर्छ । उनको बोलिमा र अनुहारमा निराशा, घृणा र आक्रोशको त्रिवेणी छताछुल्ल पोखियो ।
 
 यति कुरा गरिन्जेल साँझ रातमा परिणत हुन खोज्दै थियो । डकर्मी काम गर्ने उन्ले उन्को छोरालाई पनि संगै लिएर जाँदा रहेछन् ।” स्कुल पढाएर के गर्ने ? पढेकाहरु पनि बिदेश गएका छ्न् नपढेकाहरु पनि बिदेश गएका छन् । ” नेपालको शिक्षा नीति र नेपालको शिक्षाको बारेमा उस्लाई पनि मन परेन छ शायद ।  रक्सी पिउने पैसा बचत गर्न सल्लाह दिँदा उनी भावुक हुँदै भन्छन् ” उनलाई सम्झने मेरो बानी खराब हो यो लत लागिसक्यो । मैले उनलाई बिर्सन पनि रक्सी पिउनुपर्छ । मैले बिदेशमा चर्को घाममा दुख गरेको त्यहाका खजुरको बोटहरु साक्षी छन् । बरु मलाई त्यहाँका फुलबारी र त्यहाँका खजुरको बोटहरुले चिन्लान् तर मेरि श्रीमतीले चिन्न सकिनन् मन दुखेको औषधि बिज्ञानले किन पत्ता नलगाएको होला?” उनको गुनासोले मेरा गह भरिए ।
 
 “बाबा भोक लाग्यो” छोराको त्यो बाक्यले मेरो मन झनै अमिलो भयो । कुरै कुरामा अल्झाइरहने मेरो रहर थिएन । जानुस् छोरालाई खाना बनाएर खुवाउनुस् भनेर हामी आ- आफ्नै बाटो लाग्यौं । जग बहादुरको कुराले र उनले भोगेका दुखहरु सुनेर मेरो मन धमिलो बनिरह्यो ।
 जिन्दगीलाई दोधारमा अल्झाएर किन लुकामारी खेलाइरहन्छ यो नियती ?
स्वाभाविक बगिरहने जिन्दगी पो जिन्दगी !  जिन्दगीमा अवरोधहरु आएको कस्लाई मन पर्छ र ?
“जिन्दगीको गणितमा समीकरण नमिलेपछि जीवन बिग्रन्छ , दुख्छ । सहि फर्मुलाको प्रयोग गर्नसके जीवन बिग्रदैन । सम्बन्धमा प्लस र माइनस त भैरहन्छ्न् । गणित मिल्नको लागि प्लस र माइनस दुबै आवश्यक छ । त्यतिमात्र हो प्लस कहाँनेर प्रयोग गर्ने र माइनस कहाँनेर प्रयोग गर्ने थाहा हुन जरुरी छ ।”
 
 प्रकाशित मिती २०७४ साल असार २४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्