कविता : रंगहरुप्रति
सिन्धु पौडेल
रंगले मातेका मान्छेहरु
सधै यौटै प्रश्न गरिरहन्छन्
मेरो सादा जिन्दगी सँग दाँजेर
किन तिमी रङ्गबिहिन…?
के थाहा उनीहरुलाई कि
मलाइ कुनै बहुरङ्ग नै मन पर्दैन
अहँ बिलकुल्लै मन पर्दैन
किन थाहा छ ?
प्रश्नको जवाफ पनि केवल मै सँग छ
शायद मेरो प्रश्नको जवाफ
मैले भन्दा चित्त बुझ्दो
अरु कसले दिन सक्ला र…?
उss ……………..त्यो भब्य आलिसान महलमा बसेको
त्यो रङ्गीन पुरूष छि…
कत्ति घिनलाग्दो रङ्ग
उसको फेरिरहन्छ रङ्ग
छेपारोले झैं
त्यसले आफुभरि पोतेको रङ्ग
त्यसको आफ्नै होइन,
हुँदै होइन,
मेरो/ सपना/ रहर /बैंश/ अतित /वर्तमान/ भविष्य अनि,
मेरो पवित्र सिउँदोको रङ्ग सबै सबै लुटेर
आफूलाई रंगाएको छ .
तसर्थ मलाई अचेल रङ्गीन मान्छे र
कुनै आयातित रङ्ग मनै पर्दैन
मन पर्छ त केवल
मेरो आफ्नै मुटुको रंग
माटोको रंग झण्डाको रंग
लालीगुराँसको रंग हिमालको रंग
र सिङ्गै प्रकृतिको रंग
जसलाई म आफ्नै
सानो आँखीझ्यालबाट
चिहाउने गर्छु अनि
भेट्ने गर्छु म स्वयमलाई त्यहाँ
हाल, ईजरायल