Logo

हिमालको आवाज-२६

               – साहित्यकार डा.दामोदर पुडासैनी किशोर

 म बिरूपाक्ष गाडिएको होइन कसैद्दारा

उम्रिएको होइन बाँसको टुसा झैँ

विश्व नियाल्न र विश्व उचाल्न उठेको हुँ धरोहर बनेर

 

संसारभरको अँध्यारो पचाइरहेछु

र निलिरहेछु संसारभरका कुरूप आकारहरू

संसारभरका अश्वशक्तिमान म्याराथन धावकहरू

संसार नाघ्ने तयारीमा मेरै सिट्ठी कुरिरहेछन् लाभा र म्याग्मा

झुण्डिरहेका मेरा हाँगाहरूमा उनेको छु मैले मान्छेलाई

 बाफका खिरिला केस्राहरूमा

 

तिम्रा यादहरू ज्वालामुखी फुटिरहेछन्

कहिले ठिङ्ग उभिन्छन् हिमालका हाँगाहरूझैँ

कहिले बगिरहन्छन् हिमनदीझैँ बेजोड गतिमा

कहिले त उडिरहन्छन् बादलका भुल्काहरू जसरी

 तिम्रा यादहरूको ज्योति स्तम्भ निर्माण गरिरहेको बेला

यादहरूकै उभियो बिशाल सगरमाथा

 

मलाई सिमाना र इन्द्रेणी रँगहरूमा बिभाजित गर्न नखोज

 म निर्बस्त्र आदिम मान्छे बाच्न चाहन्छु

तिमी अनुहारले होइन पहिरनले चिनिन खोजिरहेछौ

मलाई चिनाउन कुनै परिधानको ज़रूरत छैन

म प्याजका पत्रहरूझैँ भित्र जे छु बाहिर त्यही बाँचिरहेछु

 

गुम्बामा बालिएका बत्तीहरूले तिम्रो अनुहार खोजिरहेछन्

भर्खरै सल्काएका धूपिका सुगन्धहरूले तिम्रै सबिस्तार खोजिरहेछन्

हरेक पटक सम्याइदिन्छन् हिमागारहरूले

तिमीले कोरेका भित्ते चित्रहरूलाई

आनीले भर्खर बुन्दैगरेका गलैँचाका बुट्टाहरूले

तिम्रै छायाँ छवि खोजिरहेछन्

 

किन रातहरू दिन र दिनहरू रात बनेर उभिन्छन् मेरो सामु ?

किन आँखाहरू मुटु र मुटुहरू आँखा बनेर चल्छन् मेरा सामु ?

तिमी आउने बाटाहरूमा किन तह तहका पर्खालहरू

उभिएका छन् ढुङ्गाहरूका ?

 डढेका आकाशहरू र खैरा दिनहरूलाई

 झर्यामझुरूम फुटाइरहेछु मैले क्रमश: क्रमश:

 

तिम्रा मीठा झुठहरू पिइरहेछु मैले रसायन बनाएर

र पखाल्दैछु संसारभरका सबै झुटहरूलाई

तिमी छौ,झुट छ र झुट पत्याउनेहरूको लहर छ संसारभरि

त्यसैले त बादलहरूले पनि हिमाललाई हैरान पारेको खबर छ

शक्तिशालीहरूका मुख्य अखबारहरूमा

 

तिमी पाइला पाइलामा मेरो मुटुभित्र पसेँ भन्ठान्छौ

सट्टामा तिमीले पो बोकेर हिँडिरहेछौ मलाई आफ्नो मुटुका केस्राहरूमा

-२०७६ आश्विन २ गते सोलुखुम्बु ,सगरमाथा

नोट – आदरणीय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित छ । वरिष्ठ कवि डा.दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् । प्रिय कवि डा.दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो । हिमाललाई बिम्ब र प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय छ । उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो । हिमालका आवाजमा हिमाली पर्यावरण र सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर र उदात्त चित्रण गरिएको छ । नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा र नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो ।’ नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ । हामीले थालेको यो नयाँ काम र डा.दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौँ । अझ खुशीको कुरा त डा .दामोदर पुडासैनी किशोर लेखापरीक्षण विषयमा विध्यावारिधि गर्ने नेपालको पहिलो विद्दान हुनुहुन्छ । आर्थिक व्यवस्थापन ,जीवनदर्शन र भ्रमणबाट खारिएका उहाँका कविताहरू हामीले निरन्तर प्रकाशित गरिरहेका छौँ । हजुरहरू जस्ता आदरणीय पाठकहरूले साह्रै मन पराइदिनुभएकोले हामी अत्यन्त उत्साहित छौँ । 

                                                                                                          –सम्पादक

प्रतिक्रिया दिनुहोस्