Logo

नेपाली साहित्य फाँटकी बहुआयामिक साहित्यकार ‘गंगा लिगल’

बुबा श्री गणेशप्रसाद श्रेष्ठ र आमा श्री केशवलक्ष्मी श्रेष्ठको कोखबाट पाल्पा तानसेनमा जन्मी सिद्धार्थनगर भैरहवालाई कर्मथलो बनाएकी गङ्गा लिगल नेपाली साहित्य फाँटमा उदाएकी एक बहुआयामिक व्यक्तित्व हुन् । बालककालमा आफ्नो बालसखाको दुर्घटनामा परि मृत्यु भएको दर्दनाक घटनाले उनको हृदयमा गहिरो छाप परेको थियो । उक्त घटनाको स्मरण गर्नासाथ उनको अन्तरआत्माले पटक पटक कविता कोर्न उत्प्रेरित गरिरह्यो । जसको फलस्वरूप उनमा साहित्यको बीजारोपण भयो ।

त्यसपछि लगातार वियोगान्त कविता लेख्न थालेकी गङ्गा लिगलले अन्ततोगत्वा नेपाली साहित्यमा अनवरत रूपले छलाङ मार्ने निधो गरिन् । उनको दृढ ईच्छ्याशक्ति,निरन्तरको अभ्यास एवं त्याग तपस्याको वावजूद आज उनी नेपाली साहित्य आकाशकी एक आशालाग्दो तारा बनेर उदाएकी छिन् । कल्चरल संकायमा त्रिभुवन विश्वविध्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरी नेपाली साहित्यमा कविता बिधालाई लिएर अगाडी बढेकी कवयित्री गङ्गा लिगलका थुप्रै कृतिहरू प्रकाशित भईसकेका छन् ।

उनी भैरहवा बहुमुखी क्याम्पसकी प्राध्यापक पनि हुन् । हाल उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हयुस्टन च्याप्टर युएसए की संस्थापक अध्यक्ष समेत रहेकी छिन् । लगभग दुई दर्जनभन्दा बढी कविता र अन्य बिधाहरु प्रकाशित भईसकेका कवयित्री गङ्गा लिगलको पहिलो रचना ‘बिहानी कविता सङ्ग्रह’ हो । जुन २०५२ सालमा प्रकाशित भएको थियो ।

यो लगायत गंगाको लहर,युगज्योति,आमा,गंगाका तरंग,सङ्गीतको आभास ‘कविता सङ्ग्रह’,ममताको खास्टो ‘खण्ड काव्य’,ऐना ‘कथा सङ्ग्रह’,गंगाको गजल ‘गजल सङ्ग्रह’,सखी वियोग ‘खण्ड काव्य’,सागर पारि,लालीगुराँस ‘गीति सङ्ग्रह’,पत्र मन्जुषा,भानु तिम्रो सम्झनामा,अमेरिका ‘उपन्यास’,गंगाको यात्रा ‘नियात्रा सङ्ग्रह’,जेसिका ‘कथा सङ्ग्रह’,हृदयका स्पन्दन,काव्य जुन ‘मुक्तक सङ्ग्रह’,गोधुलि ‘लघुकथा सङ्ग्रह’,गंगाजल ‘हाइकु’उनका प्रकाशित कृतिहरू हुन् ।

कविता,खण्डकाव्य,गजल सङ्ग्रह,गीति सङ्ग्रह,उपन्यास,मुक्तक,हाइकु,तथा लघुकथाहरूमा अक्सर उनको कलम चलेको पाइन्छ । नेपाली साहित्य आकाशमा २०५२ सालदेखि हालसम्म अनवरत रूपले कलम चलाए बापत विभिन्न सङ्घ संस्थाहरूबाट एवं सरकारी निकायबाट पनि उनले थुप्रै सम्मानपत्र तथा कदरपत्रहरू हातपार्न सफल भएकी छिन् ।

उनले अनेसास नामक केन्द्रीय साहित्य संस्था वासिंगटन डिसीबाट २०६० सालमा “प्रसिद्ध कवयित्री सम्मान” उपाधि प्राप्त गर्न सफल भएकी थिइन् । राष्ट्रिय शिक्षा पदक २०४८,नेवा खलः सिद्धार्थ नगर भैरहवाबाट सम्मान, अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार,अनेसास डायस्पोरा सम्मान,लुम्बिनी वाङमय प्रतिष्ठान सम्मान,विश्व नारी त्रिमूर्ति निकेतन रुपन्देहीबाट सम्मान,ज्योति साहित्य प्रतिष्ठानबाट सम्मान,त्रिमूर्ति निकेतन केन्द्र शताब्दी पुरुष सत्य मोहन जोशीबाट सम्मान,श्री मनमती साहित्य समाजबाट सम्मान,सिसास बाट कदरपत्रका साथै दुई दर्जनभन्दा बढी पुरस्कार तथा कदरपत्रहरू हासिल गरिसकेकी श्री लिगल दर्जनौँ साहित्य संस्थाहरूमा समेत आजीवन सदस्य रहेकी छिन् ।

सन् २०६३ सालमा सर्वोत्कृष्ट साहित्य पुरस्कार पाएको दिन उनी निकै खुसी भएको अनिमात्र आफू साहित्यकार भएको महशुस गर्ने कवयित्री गङ्गा लिगल आफ्नो बाँकी जीवन साहित्य फाँटमा नै इँटा थप्ने उनको लक्ष्य रहेको छ । उनि साहित्यलाई प्राण मान्छिन् र आफ्नो रचनालाई आफ्नो हृदयको स्पन्दन ठान्छिन् । निरन्तर साहित्य साधना गरिरहेकी  गङ्गा लिगलको रुचि सामाजिक कार्य पनि रहेको छ । उनले धेरै सामाजिक सङ्घ संस्थाहरूलाई आर्थिक सहयोग पनि गरेकी छन् । एक अथक साहित्यकार कवयित्री गङ्गा लिगलले नेपाली साहित्य श्रृजनामा अझ बढी प्रगति गर्दै जाउन् ,अझ बढी कृतिहरू पढ्न पाइयोस् । उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।

— दीपशिखा शर्मा

प्रकाशित मिति -२०७६ साल बैसाख १२ गते बुधवार 

[email protected]

प्रतिक्रिया दिनुहोस्