Logo

फरार रहेका गुण्डा नाइके दीपक मनाङे बिहीवार साँझ पक्राउ

स्तावेज, बैसाख ६ गते, बिहिवार २०७५, काठमाण्डौं – ज्यान मार्ने उध्योगमा ५ वर्षको सजाय पाएर फरार रहेका गुण्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) अन्ततः बिहीवार साँझ काठमाडौंबाट पक्राउ परेका छन् ।  महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मनाङेलाई काठमाडौं स्वयम्भूको तीनधाराबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार मनाङे तीनधारा क्षेत्रमा लुकेर बसेका थिए । गत माघदेखि फरार रहेका मनाङेको खोजीका लागि नेपाल प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिस समेत जारी गर्यो । तर एकाएक नयाँ वर्षको दिन मनाङे काठमाडौं आएको सूचना प्राप्त भयो, प्रहरीलार्इ । 

मनाङे आफ्नी श्रीमतीको नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्दथे । माघदेखि निस्क्रिय रहेको उक्त नम्बर वैशाख १ गते सक्रिय भएपछि प्रहरीले मोबाइल ट्र्याकिङ गर्न शुरु गर्यो । विगत तीन दिनदेखि मोबाइल ट्र्याकिङ गरिरहेको काठमाडौं प्रहरीले अन्नतः बिहीवार दिउँसो मनाङे बस्ने घर पत्ता लगाइ छाड्यो । र बिहीवार साँझ गएर पक्राउ गर्यो । 

गत मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङ (ख) बाट प्रदेशसभा सदस्यमा विजयी भएका मनाङे सांसदको सपथ नलिएरै गत माघदेखि फरार थिए । सर्वाेच्च अदालतले गत माघमा ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार भएका हुन् । 

तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ सालमा मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषि ठहर गर्दै  ५ वर्षको जेल सजाय सुनाएको थियो ।३१ वैशाख २०६१ मा काठमाडौंको महाराजगन्जस्थित नफाङ रेस्टुरेन्टमा भएको लफडाका कारण मनाङेले अब ३ वर्ष जेलमा बस्नुपर्ने छ । मनाङेले याे मुद्दामा २ वर्ष जेल बिताइसकेका छन् । 

यस्तो थियो मनाङेले चक्रेको हात छिनाएको घटना

२०६१ सालमा राजधानीको गुन्डागर्दी उत्कर्षमा पुगेको थियो। एरिया नै तोकेर गुन्डा नाइकेहरुले हप्ता असुल्थे। एउटाको क्षेत्रमा अर्को जाँदा मात्र पनि ग्याङफाइट हुन्थ्यो। ठमेलमा दीपक मनाङे ‘राजीव गुरुङ’ तथा चक्रपथ क्षेत्रमा मिलन चक्रे ‘मिलन गुरुङ’को राज थियो। 

चक्रेको आतंक बढेपछि मनाङेले काभ्रेली समूहका गणेश लामा लगायतलाई हात लिएर आफू बलियो बने। मनाङे र चक्रेको शत्रुता झन् झन् बढिरहेको थियो। दुवै समूह एक अर्काविरुद्ध आक्रमणको योजनामा थिए। पानीपोखरीस्थित चाइनिज चुफाङ रेस्टुरेन्ट चक्रेको प्रिय ‘अखडा’ थियो। त्यहाँ पाइने ‘ह्वेल मिट’ उनको ‘फेभरेट’। त्यसैका लागि उनी नियमित जसो उक्त रेस्टुरेन्टमा जान्थे। 

जुन कुरा मनाङेको समूहलाई थाहा थियो। चक्रे त्यहाँ नियमित रुपमा आउने थाहा पाएपछि मनाङेको समूहले आक्रमण गर्ने योजना बनायो। दरबारमार्गको उडल्यान्ड होटलमा बसेर चक्रेलाई त्यही चाइनिज रेस्टुरेन्टमा आक्रमण गर्ने योजना बनेको थियो। मनाङेसहित काभ्रेली समूहका गणेश लामा, रमेश सुनुवार, विष्णु लामा, उमेश लामा लगायत बसेर आक्रमणको योजना बनाएका थिए। सोही अनुसार खुँडासहित उनीहरु उक्त रेस्टुरेन्टमा पुगेर चक्रेलाई आक्रमण गर्न सफल भए। 

नफाङ रेस्टुरेन्ट गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङ र दीपक मनाङेबीच झगडा भएको थियो । झगडाका क्रममा मनाङेले धारिलो हतियार प्रहार गरि चक्रे मिलनको बायाँ हात छिनालेका थिए । आक्रमणमा चक्रेको देब्रे हात दुई टुक्रा भएको थियो। जुन पछि त्रिवि शिक्षण अस्पतालमा जोडियो। सोही घटनाका कारण चक्रेको एउटा हात सानो छ। सोही घटनामा पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध ५ वर्षको जेल सजाय सुनाएको थियो । 

१३ वर्षअघिको सोही ग्याङफाइट अहिले मनाङेका लागि ठूलो आपत बन्न पुगेको छ। सोही आक्रमणको मुद्दामा मंगलबार सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय हुने तत्कालीन पुनरावेदन अलालतको फैसला सदर गरेको हो। आक्रमणमा संलग्न काभ्रेली समूहले पनि सफाइ पाएको छ।

घटना लगत्तै प्रहरीले मनाङे लगायतको समूहविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलायो। जसमा जिल्ला अदालतले २ वर्ष कैद सजाय सुनायो भने तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाई अरुलाई सफाइ दियो। जिल्ला अदालतको फैसलाअनुसार मनाङे २ वर्ष जेल बसिसकेका छन्। अब उनी थप ३ वर्ष जेल बस्नुपर्ने हुन्छ।

त्यसपछि मनाङे पटक–पटक पक्राउ परे। राजनीतिक छहारीमा आफ्नो विगत लुकाउने प्रयास गरेर उनले अनेक हत्कण्डा अपनाई मनाङको प्रदेशसभामा चुनाव जिते। चुनाव जितेर सपथ खान नपाउँदै उनलाई पुरानो अपराधले भूमिगत हुन बाध्य बनायो। भूमिगत भएको ५ महिनापछि उनको जेल यात्रा सुरु भएको छ। 

प्रतिक्रिया दिनुहोस्