Logo

सुप्रसिद्ध नियात्राकार दामोदर पुडासैनीको ‘उज्यालो खोजिरहेको घाम’ लोकार्पित

 दस्तावेज संवाददाता, चैत १० गते शनिवार,२०७४,काठमाण्डौं –  महालेखा परीक्षक श्री टंकमणि शर्मा दङ्गालले वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’को नवीन कविता सङ्ग्रह उज्यालो खोजिरहेको घाम एक समारोहका बिच आज लोकार्पण गर्नुभएको छ । सो समारोहमा महालेखा परीक्षक दङ्गालले साहित्यकारहरूले नै राष्ट्रलाई बाटो देखाउने भएकोले राष्ट्रले साहित्यकारहरूको उचित सम्मान गर्नुपर्ने कुरा बताउनुभयो । थोरै शब्दमा सुललित ढङ्गबाट काव्य सिर्जना गर्नुमा कविको बेग्लै पहिचान हुन्छ भन्ने उहाँको भनाइ थियो ।

उक्त कविता सङ्ग्रहमा कवि पुडासैनीले वि.सं. २०७० भाद्र र आश्विनमा नेपालको विकट जिल्ला मुगुमा रहेर रचिएका कविताहरूलाई समावेश गरेका छन् । नेपालका हिमाली तथा पहाडी क्षेत्रहरू सौन्दर्यशाली, वैभवयुक्त र ओजस्वी भएर पनि निरीह बन्नु परेको प्रसङ्गहरूलाई उज्यालो खोजिरहेको घाममा समेटिएको प्रसङ्ग कवि पुडासैनीले बताउनुभएको छ । एकचालिस कविताहरू समावेश उक्त कृतिमा पुडासैनीले कवितामै आफ्नो भूमिका लेख्नुभएको छ ।

उक्त पुस्तकको भूमिका लेख्ने क्रममा वरिष्ठ साहित्यकार डा. रामप्रसाद ज्ञवाली लेख्छन् , उज्यालो खोजिरहेको घाम सङ्ग्रहका कविताले त्यस्तो स्थानका जनताको जीवनस्थिति लाई सम्बोधन गरेका छन् जहाँका जनताले राज्यको उपस्थिति कहिल्यै महसुस गर्न पाएका छैनन् ।

यी कविताहरूले असहायपनको कहालीलाग्दो सन्त्रासमा बाँच्न विवश जनताको वेदना, बोल्छन्, एक छाक भातका लागि यौवन बेच्न विवश पारिएका नारीको कथा भन्छन्, दुई माना चामल पाउनका लागि पुरै दुई दिन चर्को घाम सहँदै पट्यारलाग्दो लाममा बस्नुपर्ने र चाँडै चामल पाउन चाहने नारीले इज्जत सुम्पनु पर्ने अवस्थाको मर्मस्पर्शी चित्रण गर्छन् । अनकण्टारको भूगोल जत्तिकै अनि कष्टकर जीवनको व्यथा प्रस्तुत गर्छन् र प्रकृतिको मनोरम सौन्दर्य जस्तै सुन्दर जीवनका लागि भावपूर्ण कामना गर्छन् ।’
पुडासैनीले यतिखेर हिमाली साहित्य सिर्जनामा कम्मर कसेर लागेका छन् ।

पुडासैनीले जसरी कविता र नियात्राको माध्यमबाट हिमाली संस्कृति, भूगोल, प्राकृतिक वैभव र हिमाली संभावनाहरूलाई उजागर गर्ने हो भने विश्व साहित्य भण्डारमा हिमाली साहित्यले प्रमुख स्थान ओगटने कुरामा शङ्का नरहेको विचार वरिष्ठ समालोचक डा. खेम कोइराला बन्धुले बताए । प्रकाशन संस्था दोभान प्रकाशनकी प्रमुख बालिका गिरीले, उज्यालो खोजिरहेको घाम दामोदर पुडासैनी ‘किशोर’ले रचेका हिमाली समयको चित्र हो । यी कविताहरू आँचलिक स्वादका अब्बल उदाहरण हुन् ।

पुडासैनीका कविताहरू ललित काव्यका रोमाञ्चक यात्राहरू मात्र होइनन्, हिमाल र पहाडका रहस्यपूर्ण ज्योति, प्रकृतिको सुगन्धित वासना, हिमाली र पहाडी धुकधुकीको आलो वर्तमान पनि हुन् । यी कविताहरूमा अनुभूतिका आकर्षक रङहरू छन्, मानवीय संवेदनाका आकृतिहरू छन्, मानव र प्रकृतिका स्पन्दनहरू सुन्दर र जीवन्त बनेर उठिरहेछन्, त्यसैले हामीले यो कृति प्रकाशमा ल्याएका हौ’ भन्नुभयो ।

पुडासैनीको यस अघि आफन्तका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, समयको सहिछाप, पहाड र प्रेम जस्ता कविता सङ्ग्रहहरू, यात्राका प्रेमिल तरङ्गहरू, मायालु हुम्ला, नमेटिएका चित्रहरू, सिमानाका रङ्ग – सिमानाका तरङ्ग, पर्खालभित्रको राजधानी जस्ता नियात्राहरू र ‘धर्मको ह्याङ्ओभर’ नामको दर्शन कृतिहरू प्रकाशित छन् ।

लायन्स क्लबद्दारा नेपालका राय उत्कृष्ट स्रष्टाको रूपमा पुडासैनीलाई गत फागुन महिनामा पोखरामा रथारोहण गरी नागरिक अभिनन्दन गरिएको थियो । थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत पुडासैनी हालै नर्वेको भ्रमण सकेर स्वदेश फर्कनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्