Logo

काठमाडौँ-१ को गणितिय सम्भावना र चुनावी आँकलन,कसले मार्ला बाजी ?

स्तावेज,मंसिर २१ गते बिहिवार २०७४,काठमाडौं – क्षेत्र नम्बर–१ भन्ने बित्तिकै सबै चुनावमा उत्तिकै चासो र चर्चा गरिने क्षेत्र हो । काठमाडौं उपत्यकाको पनि भित्री शहरमा मात्र सीमित यो क्षेत्र आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि त्यत्तिकै चर्चामा छ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहविरुद्ध वाम गठबन्धनले उहाँका छोरा उमेरका अनिल शर्मालाई प्रतिस्पर्धामा उतारेको छ भने वैकल्पिक राजनीतिक शक्तिको वकालत गर्ने विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पनि यहीँबाट उम्मेदवारी दिनुभएको छ ।

शिक्षित मतदाताको बाहुल्यता रहेको काठमाडौं–१ मा चुनावी एजेण्डाका आधारमा मतदता प्रभावित हुने भएकाले आसन्न चुनावमा कसले बाजी मार्ला भन्ने अनुमान लगाउन मुस्किल परिरहेको छ ।महानगरपालिकाको १०, ११, २९ र ३१ नम्बर वडा यो क्षेत्रमा कांग्रेस र राप्रपा लोकतान्त्रिक गठबन्धनमा आबद्ध छन् भने एमाले–माओवादी केन्द्रको वाम गठबन्धन बनाएर चुनावी मैदानमा उत्रेका छन् । गएको स्थानीय तहको चुनावमा वडा अध्यक्षले पाएको मतलाई आधार मान्दा पनि काठमाडौं–१ मा निक्कै प्रतिस्पर्धा देखिन्छ ।

दुई गठबन्धनबीच जम्मा ६ सय ६ मतको मतान्तर देखिन्छ । स्थानीय चुनावमा एमाले ८ हजार ७ सय १४ र माओवादी केन्द्रले २ हजार २ सय ७४ गरी १० हजार ९ सय ८८ पाएका छन् भने कांग्रेस ८ हजार ८ सय ४२ र राप्रपाले एक हजार पाँच सय ४० गरी १० हजार तीन सय ८२ भोट पाएको छ । विवेकशील साझा पार्टीले वडा अध्यक्षमा उम्मेदवार नबनाए पनि मेयर र उपमेयरमा ठूला दलको हाराहारी नै मत पाएको थियो ।

यस हिसाबले काठमाडौं–१ को चुनावी प्रतिस्पर्धा निकै रोचक देखिन्छ । तीनजना उम्मेदवारले चुनाव प्रचार प्रसारलाई यति आक्रामक बनाएका छन् कि एउटै घरमा दुई/तीन पटकसम्म पुगिसकेका छन् । २०६४ र ०७० को संविधानसभा चुनाव सजिलै जितेका सिंह यसपटक अलि बढी नै अत्तालिनुभएको उहाँको चुनाव प्रचारको तरिकाबाट प्रष्ट हुन्छ । टोलटोल पुगेर भोट माग्ने सिंहले यसपटक भने घरघर छिरेर भोट मागी रहनुभएको छ ।

रविन्द्र मिश्र र अनिल शर्माको प्रचारप्रसार पनि उत्तिकै आक्रामक छ । तीनैजना उम्मेदवारका प्रचार सामग्रीले सामाजिक सञ्जाल रंगिएका छन् । आफ्ना कुरा मतदाता माझ राख्नदेखि विपक्षीमाथि खनिनसम्म सामाजिक सञ्जालको प्रयोग भएको छ । वाम गठन्धनले सिट बाँडफाँड गर्दा एमालेको भागमा परिसकेको काठमाडौं–१ लाई प्रकाशमान सिंहले ‘चलखेल’ गर्दै माओवादीको भागमा पारेर तुलनात्मक रुपमा कमजोर उम्मेदवारका रुपमा शर्मालाई उठाउँदा केही राहत महशुस गर्नुभएको थियो । अखिल क्रान्तिकारीमा उपाध्यक्ष मात्र रहेका शर्मालाई आफ्नो प्रतिस्पर्धी बनाउन पाउँदा जित्न सहज हुने सिंहको आँकलन थियो ।

तर, चुनावी अभियान अघि बढ्दै जाँदा वाम गठबन्धनले शर्माको पक्षमा पनि राम्रो माहोल बनाएको दाबी गरिरहेको छ । उता, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रको प्रचारप्रसार पनि उत्तिकै अघि बढिरहेको छ । यस क्षेत्रका धेरैजसो नागरिक विदेशमा भएको र उनीहरुले आफन्तलाई फोन गरेर मिश्रलाई भोट दिन आग्रह गरेको भन्दै विवेकशील पार्टी हौसिएको छ । पुराना राजनीतिक दलहरुले देशको विकास गरेनन् भन्ने मतदाताको मनोविज्ञानलाई समात्दै विवेकशील साझा पार्टीले मुख्य चुनावी नारा बनाएको छ । २०४६ सालको जनआन्दोलका कमाण्डर गणेशमान सिंह र आमा मंगलादेवीको छोरा प्रकाशमान सिंह २०४८, ५१ र ५६ सालको संसदीय चुनावमा काठमाडौंबाटै उठे पनि पराजित हुनुभएको थियो ।

२०६४ सालमा काठमाडौंमा ७ बाट १० वटा निर्वाचन क्षेत्र बनाएपछि मात्र सिंहले १ नम्बर क्षेत्रबार लगातार दुईपटक चुनाव जित्नुभएको हो । अनिल शर्मा माओवादी नेता जनार्दन शर्माका भाइ हुनुहुन्छ । केही महिना पहिले भएको अखिलको महाधिवेशनमा उहाँ पराजित हुनुभएको थियो । सानै उमेरदेखि उहाँ विद्यार्थी राजनीतिमा लाग्दै आउनुभएको छ । पहिलोपटक चुनावी मैदानमा उत्रनुभएका रविन्द्र मिश्र चर्चित पत्रकार हुनुहन्छ । बिबिसी नेपाली सेवाका प्रमुख रहेक मिश्रले एक वर्षअघि जागिर छाडेर साझा पार्टी खोल्नुभएको हो । खरो प्रश्न सोध्ने पत्रकारका रुपमा धेरैले उहाँलाई चिन्छन् ।

 स्रोत- उज्यालो अनलाईन

प्रतिक्रिया दिनुहोस्