Logo

दाहाल पुत्र प्रकाशको आकस्मिक हृदयाघातका कारण अल्पायुमै निधन

स्तावेज, मंसिर ४ गते, सोमबार,२०७४,काठमाण्डौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको ३६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका प्रकाशको आइतबार साँझ हिन्दू संस्कारअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । प्रकाशलाई उनका बुवा पुष्पकमलले दागबत्ती दिएका थिए । प्रकाशका दुई छोरा भए पनि ब्रतबन्ध नगरेकाले बुवाले नै दागबत्ती दिएका हुन् ।

प्रकाशको दाहसंस्कारअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो । आमासँगै लाजिम्पाटमा रहेका उनलाई हृदयाघातपछि आइतबार बिहान नर्भिक हस्पिटल पुर्याइएको थियो । हृदयाघात भएका दाहाललाई आइतबार बिहान साढे ५ बजे नर्भिक अस्पताल पुर्याइए लगत्तै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । चिकित्सकका अनुसार अस्पताल आइपुग्नु करिब तीन घण्टाअघि नै हृदयाघातका कारण उनको मृत्यु भइसकेको थियो ।

दाहालको निधन भएपनि बुवा चुनावी प्रचारका लागि झापामा रहेकाले उनी आएपछि मात्रै ११ बजे हस्पिटलले मृत्युको औपचारिक घोषणा गरेको थियो । 

नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. जेपी जैसवालले प्रकाशलाई ५ः५० मा इमर्जेन्सी कक्षमा दुई सहयोगीका साथमा ल्याइएको र त्यसपछि ईसीजी गर्दा उनको मुटुले काम गर्न छाडिसकेको पाइएको बताए । ‘उनको शरिर चिसो भइसकेको थियो । हात अडरिएको थियो । लगत्तै हामीले ईसीजी गर्दा मुटुको भल्बले समेत काम गरेको थिएन,’ डा. जैसवालले प्रेस ब्रिफिङमा भने ।

‘प्रकाशलाई हृदयाघातको लक्षण देखिए लगत्तै अस्पताल पुर्याउन सकिएको भए बचाउन त्यति समस्या हुँदैनथ्यो,’ नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ एवं चार वर्षदेखि प्रचण्डका पारिवारिक निजी चिकित्सक रहेका जयसवालले भने ।

नर्भिक हस्पिटलले उनलाई चार/पाँच घण्टाअगाडि नै हर्ट अट्याक भएको जनाउँदै त्यसको करिब तीन घण्टाभित्र अस्पताल ल्याउन सक्दा उपचार सम्भव रहन सक्नेसमेत जनाएको छ । अस्पताल नपुर्याउँदै दाहालको मृत्यु भएको भनिएपनि उनको पोस्टमार्टम नै नगरी अन्त्येष्टि गरिएको थियो ।

उनलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुखहरूसहित हजारौंको संख्यामा सर्वसाधारण पेरिसडाँडा पुगेका थिए । श्रद्धाञ्जलीपछिको शवयात्रामा समेत हजारौं सर्वसाधारणसहित नेता–कार्यकर्ता सहभागी भए ।

२०३८ असार १७ गते चितवनको शिवनगरमा जन्मेका प्रकाशले जनयुद्धमा माओवादी सशस्त्र विद्रोहमा समेत सहभागी बनेका थिए ।भूमिगत जीवन देखि पार्टी शान्ती प्रक्रियामा आएपछि अध्यक्ष दाहालको सचिवालय सम्हालेका थिए । उनी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत हुन् ।

प्रकाशले राष्ट्रपतिबाट प्रवल जनसेवा श्री पदक पाए पनि उनले त्यसलाई फिर्ता गरेका थिए । राजनीतिका अलवा प्रकाशको अर्को फरक परिचय पनि रहेको छ । उनी हिमाल आरोही पनि हुन् । उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । उनी प्रविधिमा पनि अब्वल मानिन्थे । प्रकाश हतियारका पनि सौखिन थिए । जनयुद्धको समयमा पनि उनले जनमुक्ति सेनाले चलाउने हतियारबारे चासो राख्ने गरेका उनका साथीहरु बताउँछन् । पछिल्लो पटक उनले पिता प्रधानमन्त्री भएकै समयमा २२ बोर बन्दुक इटालीबाट किनेका थिए ।

जनयुद्धकै समयमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महराले पनि प्रकाशसँग सहकार्य गरेका थिए। उनको सम्झनामा प्रकाश एक कुशल व्यवस्थापक हुन् । ‘हाम्रो भेट २०५९ साल तिर दिल्लीमा भएको हो त्यो समयदेखि हामी निरन्तर सहकार्यमा रह्यौं,’ महराले भने, ‘पछि म पार्टी हेडक्वार्टरको सुरक्षा टोलीमा खटिँए त्यसपछि अन्तरंग कुराहरु पनि हुनथाले । उहाँ निरन्तर काममा लाग्ने सरल स्वभावको व्यक्ति हो।’

बाबु/छोराबीच अन्तिम कुराकानी

किन हस्पिटल नगएको ? पार्टी अध्यक्ष समेत रहेका बुवा पुष्पकमल दाहाल चुनावी अभियानका लागि शनिबार नै झापा पुगेका थिए । सामान्य रुघाखोकी र ज्वरोको कारण देखाउँदै प्रकाश बुवासँग गएका थिएनन् । शनिबार साँझ बाबु/छोराबीच फोनमा कुराकानी भएको थियो । सोही क्रममा प्रकाशले बुवालाई सामान्य रुघाखोकी र हल्का ज्वरो आएको बताएका थिए ।

फोनमा नै बुवाले किन अस्पताल नगएको भनेर प्रश्न गरेका थिए । एक आफन्तका अनुसार प्रकाशले १५ दिनअघि मात्र होलबडी चेक अप गराउँदा केही नभएको भन्दै आफूलाई धेरै गाह्रो नभएको र भोलि (आइतबार) हस्पिटल जाने बताएका थिए । प्रकाश परिवारको एक्ला छोरा हुन् भने उनले पुष्पकमल दाहालको स्वकीय सचिव बनेर हरेक काममा सहयोग गर्दै आएका थिए । प्रकाशको निधनपछि पार्टी कार्यालयमा अन्तिम श्रद्दाञ्जलीका क्रममा पुष्पकमल दाहाल समेत स्तब्ध बने । अन्तिम संस्कार सम्पन्न भइसक्दा समेत दाहालका आँखामा आँसु रोकिएन ।

बुवा पुष्पकमलसँगै उनका दिदी रेणु, श्रीमती सिर्जना त्रिपाठी, बिना मगरसहित आफन्तहरू भावविह्वल बने । निधनको खबर लगत्तै नर्भिक अस्पताल पुगेकी सिर्जना बेहोस बनेकी छन् भने बिनासमेत भावविह्वल छिन् ।

वैवाहिक जीवन

उनको वैवाहिक जीवन भने उतारचढाबपूर्ण रह्यो । पहिलो विवाह सफल हुन नसकेपछि दोस्रो विवाह कास्कीकी सृजना त्रिपाठीसँग भयो । पोखराको पृथ्वी चोकमा रहेको तत्कालिन वाइसिएल क्याम्पमा पञ्चेबाजा बजाएर विवाह भए पनि दुई बीचको सम्बन्ध सुखद रहेन । प्रकाशले पुन: विध्यार्थी नेत्री विना मगरसँग बिहे गरे । विनासँग विहे गरेपछि केही समय उनी कुनै सिनमा देखिएनन् । पार्टीले पनि प्रकाशलाई कारबाही गर्यो। कारबाही फुकुवा भएसँगै उनी फेरी पिताको सचिवालयमा फर्केर काम गर्न थाले । सृजना र विनातर्फ प्रकाशका एक एक छोरा छन्।

प्रचण्डलाई बज्रपातै बज्रपात

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री बन्ने सौभाग्य पाएका पुष्पकमलले पारिवारिक बज्रपात भने बारम्बार सहन गर्नुपरेको छ । नेपाली राजनीतिमा उनको रोल किङ मेकरका रूपमा रहे पनि उनलाई पारिवारिक सुखले भने साथ दिएको छैन ।

उनी छोरो प्रकाशका विवादित क्रियाकलापका कारण विभिन्न समयमा विवादमा पर्नु त सामान्य नै रह्यो । २१ असोज २०६८ मा बुवा मुक्तिराम दाहाललाई गुमाएका उनले २०७१ सालमा अर्को पारिवारिक दु:ख सहन गर्नुपर्यो । १५ वैशाख २०७१ मा उनकी जेठी छोरी ज्ञानु दाहाल के.सी.को निधन भयो । उनी लामो समय क्यान्सर रोगबाट पीडित थिइन् ।

परिवार शोकमा

एक मात्र छोराको अल्पायुमै निधनपछि उनको समग्र परिवार शोकमा डुबेको छ । दाहाल श्रीमती सीता समेत शारीरिक रूपमा कमजोर छिन् । उनी सुगर तथा प्रेसर रोगबाट पीडित छिन् । दाहालका एक छोरा र तीन छोरी रहेकोमा अब दुई छोरी मात्र परिवारमा छन् । प्रकाश परिवारका कान्छा सदस्य हुन् । जेठी दिदी ज्ञानु दाहालको क्यान्सरका कारण यस अघि निधन भैसकेको छ । माइली दिदी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल हुन्  भने कान्छी दिदी गंगा दाहाल हुन् । यसैबीच, नेकपा एमाले र नेपाली कांग्रेसले दाहालको निधनप्रति शोक वक्तव्य जारी गरेका छन् । आइतबार अपरान्ह ५ बजेतिर प्रकाशलाई श्रद्धान्जलि दिन हजारौँ शुभचिन्तक र विशिष्ट व्यक्तिको आर्यघाटमा उपस्थिति रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्