Logo

कथा: अम्रिकने माया

सरल र सहज रूपमा बहिनीले दिएको जवाफले मलाई घाइते बनायो । मन भित्र एउटा पाप जन्मियो “बहिनी पनि स्वार्थी रहिछ” धेरै सोचेँ अन्तमा भविष्य केही नसोची ममी बुवाको आज्ञाकारी बनेर समय सँग सम्झौता गरेर बिहे गर्न राजी भएँ । बुवाममीले कमसेकम ६ महिना समय पाए बिहेको तयारी गर्न र मनमा रहेका जिज्ञासा मेटाउन सजिलो हुने भनेर समय माग्नु भयो तर केटो दशै मनाउन आउँदा बिहे नगरी नछाड्ने भनेपछि बुवाममीले छोरी दिने कुरामा राम्रो सँग नबुझि र तयारी नगरी नदिने अड्डी लिनु भयो । मेरो बिहे नहुने कुरा बहिनीले थाहा पाए पछि ऊ राजी भई बिहे गर्न र फूपु मार्फत बहिनीको कुरा चल्यो बिहेको । दशैँमा घर आएको केटोले मङ्सिरमा मेरै सामु बहिनी बिहे गरेर लग्यो, म हेरेको हेर्यै भएँ । सायद भावीले मेरो भाग्य यस्तै लेखेको थियो होला भनेर चित्त बुझाएँ ।

                                  –मनोज ढुंगाना 

साँझ ५ बजे भक्तपुरे ह्यारी आफन्तहरु सहित कुरा छिन्न आउने भनिए पनि निलु र उनका आफन्त तथा निम्तालुहरु तीन बजेदेखि नै पुरानो सिनामंगलको शान ब्याङ्केटमा तैनाथ थिए । खानपानको व्यवस्था ब्याङ्केटले गरिदिने भएपछि काम खासै थिएन कसैको । पुरुषको अनुपातमा महिलाहरूको बाक्लो उपस्थिति अनि तिनका गहना र साडी हेर्दा प्रतिस्पर्धामा एक भन्दा अर्कि राम्री देखिने होडबाजी नै चलाए जस्तो लाग्दैथियो । हरेक महिलाहरू अलग अलग अत्तरका बास्नाहरुमा मग्मगाइरहेका थिए । निमन्त्रणा पाएको नाताले म पनि शुरु देखि तमासे भएको थिएँ अनि सुन्दै थिएँ महिलाहरूको घरी गहना र साडीको कुरा त घरी बेहुलो पट्टीका कुरा ।

निलु, भर्खरै समाज शास्त्रमा स्नातक सकेकी, हिस्सी परेकी, फरासिली तेइस वर्षकी तरुनी । केटो नआइपुग्दासम्म उनी स्वतन्त्रताको आकाशमा उडिरहिन्, अनेक पोजमा तस्बिरहरू खिचाउदै थिइन् शान ब्याङ्केटको प्रांगणमा, घरी घुम्टोमा लुकेर त घरी घुम्टो उडाएर, घरी पोखरीको पानी छामेर त घरी बगैचामा ढलीमली गरेर । केटा सहितको झन्डै पाँच दर्जन मानिसहरूको टोली मूलगेटमा आएको खबर पाउनासाथ बेपत्ता कुदिन् हल भित्र रहेको बेहुलीघर तिर । निलुका परिवारले स्वागत गर्दै हलमा प्रवेश गराए जम्बो टोलीलाई ।
केटोलाई मन्चमा चढाइयो, अघि सम्म कि चटपटे निलुलाई पनि लज्जालु र शान्त स्वभाव कि दुलही बनाएर ल्याइयो मन्चमा ।

–जोडी चैँ भगवानले जुराइ दिएकै हुन् है ? केटाकेटी देखभेट नै नगरी कुरा छिन्दा पनि कस्तो चिटिक्क सुहाएको जोडी …. ।

–नाक चाहिँ अलि ठुलो रहिछ केटोको ।

–केटो जस्तो भए पनि के भो र अमेरिकामा बस्ने भएपछि भई गो नि ।

–नाम चैँ कस्तो असजीलो हो केटाको, ह्यारी रे, बरु हरि भन्नु नि ।

यस्तै प्रतिकृयाहरु सुन्न थालियो केटी पक्षका महिलाहरुबाट । पण्डितजीले कुरा छिन्ने विधि सुरु गरे, ब्याङ्केटका बेहराले पाहुनाहरुलाई स्न्याक्स र कोल्ड ड्रिङ्कले सत्कार गरे । मन्चको कार्यक्रम सकिदा दुवैका गलामा बास्नादार फुलका माला थिए, आफन्तहरुले मन्च छोडीदिएपछि केटा/केटी हल्का मस्किदै बार्तालाप गर्दै गरेको प्रस्ट देखिदैै थियो । निलुका साथीहरूले सुन्दै नाचौं नाचौं लाग्ने नेपाली गीतहरू घन्काए, मञ्च अगाडीको खुल्ला भागमा निलुका दिदी बहिनीहरू गीत सँगै झुम्न थाले । निलुकि बहिनी शिलुले भावी दुलाहा/दुलहीलाई डोहोर्याउँदै ल्याइन् र केही हद सम्म नचाउने प्रयास सफल पारिन् । नयाँ जोडीसँगै मस्किएर नाच्नेहरुको भिड बढ्दै जाँदा कति बेला दुलाहा/दुलही त्यो भिड बाट हराए कसैले पत्तो पाएनन् । सात बज्दा नबज्दै केटोको टोलीले खानपीन गरेर बिदा भए । अव बाँकी भए निलु र उनका निम्तालुहरु । निलु दिल खोलेर नाच्दै थिइन् आफ्ना दिदी बहिनीहरूसँग । उनका सँगीहरु  भन्दैथिए उनले आज सम्म यसरी खुलेर नाचेको कसैले देखेका थिएनन् रे । शायद उनको जिन्दगीको यो रंगीन समयले उनलाई रंगाइरहेको थियो विभिन्न रङ्गहरुमा ।

मेरा मनमा पनि खड्केको थियो ती महिलाहरू मध्ये कसैले भनेको कुरा, केटाकेटी देखभेट नै नगरी छिनेको कुरा । निलुको मन खोतलेर छताछुल्ल पार्ने रहर जाग्दै गयो । खानपिन चल्दै गरेपनि म जिज्ञासा मेटेर मात्र खाने निधो गर्दै उनलाई भेट्ने मौका पर्खदै थिएँ । अचानक मेरै सामु देखा परिन् । म ङिच्च दारा देखाउँदै आफ्ना कुराहरू तेर्स्याउन थालेँ ।

–जिन्दगीको नयाँ अध्याय शुरु गर्दैछौ, धेरैधेरै बधाई निलु ।

–धन्यवाद, अव त तिम्रो पनि बेला भएन र भन्या, कहिले हो ?

–समय आउला नि मेरो पनि, खुसी छौ नि तिमी ?

–एकदम.., मेरो खुसी को सीमा छैन आज ।

उनले पलभर मै जवाफ फर्काइन् । मैले गर्न चाहेका सबै कुराहरू बिर्सीएँ, हतार हतार एउटा प्रश्न जन्माएर पछारेँ उनको सामु ।

–के रे नाम, ह्यारी भनेको हो ?

–हैन हो ह्यारी त, हरि खरेल हो, शुरुशुरुमा अमेरिकनेहरुले उच्चारण गर्न नजानेर ह्यारी भनेछन् अनि त्यही फेमस भएछ अहिले ।

–आज सम्म तिमीले कति पटक भेट्यौ हरिलाई ?

–अमेरिकाबाट आउनु भएको तीन दिन भयो र मेरो आजको भेट पनि तेस्रो हो ।

झनै अचम्भित बनायो मलाई निलुको जवाफ र आत्मविश्वासले ।

–आजको युगमा पनि तीन दिनमा जिन्दगीको फैसला गर्न सम्भव छ र निलु ?

–म पनि त्यस्तै सोच्थे, केही महिना अघि सम्म । तर सम्भव रहिछ र त (हाँस्दै) आज फैसला गरेँ मैले ।

हाम्रो सम्बन्ध बाल्यकालदेखि कै थियो । उनी बहिनीकी साथी भए पनि म उनको साथी भन्दा कम थिइन । उनीहरूका सबैकुरा म सम्म आइपुग्थे । बहिनीले बिएससी नर्सिङ रहर गरेर पढ्न बाहिर गएदेखि बहिनीको सट्टा पनि म नै साथी भएको थिएँ निलुको । उनको र मेरो परिवारमा आउने, बस्ने र खाने सामान्य भएको कारण सायद उनलाई खुल्न गाह्रो भएन म सँग । गफकै सुरमा उपस्थित भिडबाट केही पर एकान्ततिर डोर्याइन् उनले मलाई अनि सन्तुष्ट पार्दै गइन् मेरा जिज्ञासाहरुलाई ।

– वहाँ अस्ति आउनु भएको हो अमेरिकाबाट एक महिनाको लागि । आएकै दिन म वहाँलाई रिसीभ गर्न एयरपोर्ट पुगेँ र वहाँको घर भक्तपुर सम्म पुगेर फर्किएँ, त्यो हाम्रो पहिलो प्रत्यक्ष भेटघाट थियो । दोस्रो भेट हिजो वहाँलाई बुवा ममी सँग भेटाउन घरमा बोलाएँ र आज तेस्रो भेटमा कुरा छिनियो र तीन दिन पछि विवाह गरेर सधैका लागि एक हुदैछौं । तथापि हामी विगत ६ महिना देखि फेसबुक, स्काइप र भाइवरको माध्यमबाट भेट्दैछौ र मानसिक रूपमा धेरै नजिकिएका छौ । घर परिवार बिच पनि कयौ चरणका बार्ताहरु हुँदै आजको निर्णय सम्म पुगिएको हो ।

– आखिर त्यस्तो के जादु भयो निलु जसको कारण आज सम्म हरेक दिन, साँझ–बिहान देखिएका, नजिकैबाट सङ्गत गरेकाहरुलाई तिमीले नियाल्न सकिनौं, विश्वास गर्न सकिनौ तर आज कहिल्यै नदेखेको एउटा अनजान व्यक्तिसँग तिमी जिन्दगी बिताउन तयार भयौँ ?
म भाबुक भएँ, अनायासै मेरा आँखाहरू रसाए,अँध्यारोका कारण उनले मेरो नजरमा छचल्किएको आँसु देखिनन् म सम्हालिए, आँसुहरु आँखैमा सुकाएँ ।

– त्यस्तो जादु नै भएको भन्न लायक पनि केही छैन, बढेकी छोरी घरमा भएपछि आँखा लगाउने धेरै हुँदा रहेछन् । तीन चार वर्षदेखि पाहुना बनेर घरमा आउने महिला नातेदारहरुको आँखाको तारो भएकी थिएँ म । अधिकांशको मुखमा एउटै कुरा हुन्थ्यो, “छोरी त हलक्कै बढिछ, बिहे गर्ने बेला भएछ त अव” कहिले काहिँ खासखुस गरेको पनि सुन्थें नातेदारहरुले “यति राम्रो बानी व्यवहार, स्वभाव भएकीलाई आफ्नै नातामा पार्न पाए कति जाती हुन्थ्यो ?” ममी–बुवाले छोरी पढ्दैछ, पढाइ पुरा नगरी र ऊ आफैले बिहे गर्ने रहर नगरे सम्म कुरा नचलाउने भनेर टारीदिनु भएथ्यो त्यो पल ।

 मेरो कुरा गर्ने हो भने मलाई कलेजमा मात्र हैन स्कुल देखि नै प्रेम/पत्रहरु टन्नै आउँथे । अधिकांश पत्रहरुले मेरो रूपको, यौवनको वर्णन गर्दथे । बेनामी पत्रले आधा रातसम्म मन तरंगीत गराउंथ्यो । पत्र लेख्ने मान्छे चिन्न मन लाग्दथ्यो, केही नामहरू अनुमान लगाउंथे तर यकिन गर्ने आधार म सँग थिएन । दोहोर्याइ, तेहेर्याइ पत्र पढेर मख्ख पर्थे, मलाई के देखेर मन पराए होलान् जस्तो लाग्थ्यो, फेरी मलाई मन पराउने पनि मान्छे रहेछन् भनेर दङ्ग पर्थे, तिनका पत्रका भावहरुमा मन डुलाउथेँ, प्रफुल्लित हुन्थें तर भोलि पल्टै मेरो मनले भन्थ्यो कि मेरो मनको राजा हुन सक्ने कोही छैन । त्यसैले पनि होला आज सम्म मैले कसैको प्रेमपत्रको जवाफ फर्काइन । पोहर श्रावणको पहिलो सोमबार म र ममी पशुपति मन्दिरबाट फर्किने क्रममा बाटोमा रन्जु फूपु (बुवाको ठुला बुवाकि छोरी) ले ममीलाई भनेकी थिइन् ।

– भाउजू नानु यति सोझि र शान्त छिन्, जहाँ पायो त्यही बिहे गरेर दिँदा कस्तो पर्ने हो दुलाहा ? बरु मेरो कान्छा ससुराको जेठा छोरालाई दिनुपर्छ है ?, उनी जाँड रक्सी केही खाँदैनन्, लप्पन छप्पन केही नजान्ने सोझा छन्, आठ वर्ष देखि अमेरिकन सिपाइ भएर टन्नै कमाका पनि छन् । यसपालि बिहे गर्न खोजिराछन्, के छ हजुरको बिचार ?

अमेरिका बस्ने र टन्न कमाउने भनेको सुनेपछि ममीको तेस्रो नेत्र खुल्यो, अहिल्यै छोरी दिउँकि जस्तो गर्नुभो तर फुपुले बिहे जस्तो कुरा दाजु सँग पनि छलफल गर्नु र नानुको पनि बिचार बुझ्नु पर्छ भनेपछि घरमा मेरो बिहेको कुरा सुरु भयो । म स्नातकको अन्तिम वर्षमा थिएँ, विवाहको सम्बन्धमा मेरो राय माग भयो । मैले केही निर्णय गर्न सकिंन, कयौँ देखिएका अनुहारहरु सँग त जिन्दगी बिताउने प्रसङ्गमा म सन्तुष्ट थिइन भने यो देख्दै नदेखेको व्यक्ति कसरी हुन सक्ला मेरो जीवनसाथी ? मन सम्हालिएन, फेसबुक मार्फत फूपुले केटोको दर्शन गराइदिइन् केटो आहा भन्ने लायक त थिएन तर छि भन्नुपर्ने पनि केही थिएन, सानै देखि (अंकलकी छोरी) बहिनी सँगको मेरो आत्मियता रहेको कारण उसको राय बुझ्न चाहेँ, उसको जवाफ सिधा र प्रष्ट थियो ।

–अमेरिका जान पाइने भएपछि अरू थोक किन हेर्छेस्, जमाना पैसाको हो, पैसाले सबैथोक समायोजन गर्छ । अहिले मान्छे अमेरिका जान भनेपछि नक्कली बिहे गरेर त जान्छन् तँलाई त ग्रिनकार्ड होल्डर सँग साँच्चिकै बिहेको कुरा आको छ । मैले भनेको मान्छेस् भने खुरुक्क हुन्छ भनिदे । आखिर आफन्तहरुले ल्याएको कुरा हो नराम्रो पनि त ल्याएका छैनन् होला नि ।

सरल र सहज रूपमा बहिनीले दिएको जवाफले मलाई घाइते बनायो । मन भित्र एउटा पाप जन्मियो “बहिनी पनि स्वार्थी रहिछ” धेरै सोचेँ अन्तमा भविष्य केही नसोची ममी बुवाको आज्ञाकारी बनेर समय सँग सम्झौता गरेर बिहे गर्न राजी भएँ । बुवाममीले कमसेकम ६ महिना समय पाए बिहेको तयारी गर्न र मनमा रहेका जिज्ञासा मेटाउन सजिलो हुने भनेर समय माग्नु भयो तर केटो दशै मनाउन आउँदा बिहे नगरी नछाड्ने भनेपछि बुवाममीले छोरी दिने कुरामा राम्रो सँग नबुझि र तयारी नगरी नदिने अड्डी लिनु भयो । मेरो बिहे नहुने कुरा बहिनीले थाहा पाए पछि ऊ राजी भई बिहे गर्न र फूपु मार्फत बहिनीको कुरा चल्यो बिहेको । दशैँमा घर आएको केटोले मङ्सिरमा मेरै सामु बहिनी बिहे गरेर लग्यो, म हेरेको हेर्यै भएँ । सायद भावीले मेरो भाग्य यस्तै लेखेको थियो होला भनेर चित्त बुझाएँ ।

फेरी रञ्जू फूपुले आफ्नै नातामा पर्ने अर्को केटाको कुरा ल्याइन् । उनी पनि अमेरिकामा सात वर्षदेखि सङ्घर्ष गरेका र अहिले राम्रो व्यवसाय गरेर जमेका सोझा केटा भन्दै फेसबुकमै दर्शन गराइन् । केटाको पढाइ, सम्पत्ति सहित तीन पुस्ताको खोजीनिती गनुभयो बुवाले, फूपु रेडियो बजाए जस्तै बजिरहिन् । द्धन्दकालमा पढिरहेको केटो माओवादीको सिकार नहोस् भनेर बाबुआमाले विदेश पठाएका रहेछन्, जसको कारण केटोले स्नातक पुरा नगरेको देखियो । फूपुले हतार गर्नुपर्दैन दाजु, दुवै पक्षमा कुरा मिले बिहे गर्ने हो, बिचार गर्नुहोला म उता पनि कुरा चुहाउँछु भनेर बिदा भइन् ।

एकदिन साँझ फेसबुकको म्यासेन्जरमा नयाँ साथी बनाउने अनुरोध आयो, हेरेँ हरि खरेलको रहेछ । फोटो खोलेर हेरेँ, काटीकुटी त्यही अनुहार जुन फुपूले देखाएकी थिइन् । मन ढक्क फुलेर आयो, के गर्ने के नगर्ने भयो, ३–४ दिन फेसबुक नै खोलिन । त्यसपछि आत्मबिश्वास बढ्यो जे त पर्ला भनेर अनुरोध स्वीकार्दै साथी बनाएँ, केटो अनलाइन मै रहेछ, तुरुन्तै म्यासेज आयो ।

–हाई, रञ्जु दिदीले कुरा गर्नुभएको होला मेरो ’bout ‘मा ।

–हजुर ।

मैले यत्ति हो जवाफ फर्काएको, त्यसपछि फेरी ६/७ दिन हाम्रो कुरा भएन । एक दिन फेरी अर्काे म्यासेज आयो ।

–के गर्दैछौ आजकल ?

उसको प्रश्नको जवाफ फर्काउँदै, त्यही सवाल उसलाई सोध्दै गर्न थालेपछि बल्ल हामी बिच दोहोरो कुरा शुरु भयो । मेरो बायोडाटा सबै उसले लियो, मैले उसका सबै कुराहरू खोतलेँ । दुवैका भविष्यका योजना र आ–आफ्नो कल्पनाको जीवनसाथीका चर्चा पनि गरियो । हाम्रा म्यासेजका गफहरुले प्रगति गर्दै हामी भिडियो च्याट तर्फ़ उन्मुख भयौँ । पहिलो पटकको भिडियो च्याट निक्कै असहज थियो हाम्रो, ऊ मलाई घुर्थ्यो, म उसलाई, निःशब्द भएर । त्यसपछि एक हप्ता हाम्रो सम्पर्क भएन । दोस्रो भिडियो च्याटमा हामी एक अर्कालाई हेरेर हाँसी मात्र रहयौं ।

फेरी ४–५ दिन शान्त, तेस्रो पटकबाट बल्ल बोली फुट्यो दुइटैको । नेपाल र अमेरिकाको समय मिलाउनु त थियो नै दुवैको फुर्सद मिलाउन खोज्दा कहिले काँही हाम्रो सबै भन्दा दुस्मन नेपाल टेलिकम र नेपाल बिधुत प्राधिकरण हुने गर्दथ्यो, कहिले नेट छैन त कहिले बिजुली । फलस्वरुप हामीले कहिले काहीं गफ्फिने क्रममा निन्द्रा माया मारेर रात छर्लङ्ग पार्दथ्यौ । फेसबुकमा गाँसिएको मित्रतामा टुसा पलाउँदै गर्दा मलजल गर्यो भिडियो च्याटले । अनि कति नै समय लाग्दो रैछ र अम्रिकनेको मायाजालमा फस्न ? बरु यता बुवाममी भने केलाउँदै हुनुहुन्थ्यो उसको ग्रिनकार्डको सत्य तथ्य ।

–रिफ्युजी भएर बसेकाहरुले आफ्नो देश आउन पाउँदैनन् रे आइहाले भने जान पाइन्न रे अनि हाम्री छोरी कसरी जान पाउँछे त अमेरिका ? जान नपाउने भए त राम्रै हैसियतको सरकारी जागिरे ज्वाइ त नेपाल मै पनि पाइन्छ नि । बुवा एकातिर सरकारी जागिरे अर्कोतिर  आफ्नी एकलौटी छोरीको भविष्य पनि बनाउनु थियो वहाँलाई । तर मेरो भर्खरै शुरु भएको मायाको चल्लो मर्ने संकेत देखियो, मैले हरिलाई घरमा चलिरहेका सबैकुरा नढाँटी शेयर गरेँ । उसले मलाई चित्त बुझाउन अमेरिकामा ग्रिनकार्ड पाउन सकिने कानुनी आधारहरु, भिसाका प्रकारहरू र हाल आफूसँग रहेको वास्तविक कागजातहरू र भविष्यमा बिहे गरेर म त्यहाँ पुग्न सकिने विकल्पहरू सबै शेयर गरेपछि मैले पनि त्यसैको आधारमा आफन्तहरूलाई बुझाउन खोजेँ ।

अन्ततः हामी दुवैका अभिभावकहरु एकले अर्कोको घरजग्गा सम्पत्ति, पारिवारिक स्थिति सबै जाँचपडताल गरेर वार्तामा बस्न राजी भए । नटुंगिएका र अस्पष्ट सबै कुराहरूको छलफल चल्यो, दुवै पक्ष प्रष्ट भए बिहे गर्न र गराउन । केटो असारमा आएर झ्याई पार्ने भयो अनि केटी पनि अमेरिका पुग्नेभई एक दुई सालमा ।

बाबुआमाकोे मन्जुरी सँगै भविष्यको अमेरिका बसाइ साकार हुने देख्दै थिएँ म । त्यसपछि पो झाँङ्गियो त मेरो र अम्रिकनेको मायाप्रिती स्काइप, भाइवर, फेसबुकमा जताततै । अव त आफ्नै भइयो जस्तो लागेर होला, उसका माग अनौठा र गोप्य हुन्थे, मैले पुरा नगर्नुपर्ने कारण पनि केही थिएन । बिजुली र इन्टरनेटले साथ दिएसम्म चौबिसै घण्टा जस्तो कानमा इयरफोन र हातमा उसैले पठाएको आइफोनमा उसै सँग भिडियोमा रमाउँदा हामी पर्स बाहेकका हरेक कुरा प्रत्यक्ष भेटघाट सरह नै पाइरहेका थियौ, एक आपसमा मनमुटु साटीरहेका थियौँ । अनि बल्ल महशुस भयो मलाई, आखिर मन नै त हो रहेछ सबैथोक । अव तिमी आफैँ भन, जिन्दगीको फैसला गर्न तीन दिन कम हो त ?

उनका मायाँ प्रेमका कथा सुन्दै गर्दा भाबुक मेरो मनले ट्र्याक भन्दा बाहिर गएर नयाँ प्रश्न जन्माइदियो ।

–मैले प्रेम प्रस्ताव राखेको भए के तिमीले स्विकार्थ्यौ निलु ?

– शायद त्यो दिन आएको भए आज यो दिन आउथ्यो र ?

भाबुक हुँदै प्रश्न माथि प्रतिप्रश्न राखेर आफन्तका भिड तर्फ़ मिसिइन् निलु । खानपिनको अन्तिम चरण चल्दै थियो, कोही घर फर्किने तयारीमा थिए । उनको प्रतिप्रश्न कुनै शिकारीले छोडेको बाँण झैँ मेरो मनमा रोपियो । आखिर गल्ती मेरै थियो, उनलाई के थाहा उनका हातमा परेका सबै बेनामी पत्रहरु मैले जन्माएको थिएँ भनेर । लुकिलुकि एक्लै माया गर्ने, आफ्नो परिचय दिन नसक्ने मायालुहरुले पाउने पुरस्कार सायद यस्तै हुन्छ । म शान ब्याङकेटबाट चुपचाप बाहिरिएँ र नजिकैको मधुशाला छिरेर अम्रिकने ह्यारी–निलुको पिरतीका कथा अनि खुल्न नसकेको आफ्नो विगत दुवैलाई बिर्सने कोसिसमा भोकोपेटमा चुस्की लगाउँदै गएँ l

“मनोरस वाटिका” श्रद्दानगर, हेटौडा -४

प्रकाशित मिति, २०७४ साल, कार्तिक २५ गते, शनिवार

प्रतिक्रिया दिनुहोस्