Logo

कविता – क्लियोपाट्रालाई पत्र

 

डियर क्लियोपाट्रा,

म तिम्रो धेरै टाढाको प्रशंसक पहिलो पटक एउटा डिजिटल पत्र लेख्दैछु

हुन त थुप्रै भयो तिमीले यो धराधामबाट बिदा लिएर गएको

तैपनि तिमीले छोडेर गएका यावत चीरस्मरणीय कर्महरुको प्रतापले

तिम्रो कुनै न कुनै अस्तित्व यो भूमण्डलमा छ जस्तो लाग्छ

जमाना डिजिटल भएकोले त्यो लोकमा पनि इन्टरनेट सुबिधा त होला नै

अति पुरातन मोडेलको नै भए पनि बुढो डेस्कटप खोलेर हेरौली यो इमेल

असाध्यै दयनीय बनेको मेरो देशको हालत बाहेक अन्य खबर ठिकै छ यो लोकमा ।

क्युट क्लियोपाट्रा,

मनिषा,करिश्मा र रेखा कै अगाडी त ओठ कंपाउने यो निर्धो कविले

तिमी जस्ती विश्वसुन्दरीको बयान गर्न के सकूँला, सिर्फ प्रशंसक हूँ

संसार नै आफ्नो हत्केलामा बोकेर हिंड्ने जुलियस सिजर होस् या

यो ब्रह्माण्ड नै थर्काईदिने महान योद्दा मार्क एन्टोनी

तिम्रो रुपराशी देखेर फत्याकफुतुक, इन्तु न चिन्तु भएका थिए

विश्व साम्राज्यका अनेक महान बिजेतालाई समेत

आफ्नो रुप-लावण्यको वेदीमा होमेर विजित गर्ने सुन्दरी,

यो नाथे कलम मात्र चलाउन जान्ने बबुरोले के मनको कुरा खोल्ला र ?

धन्दा नमान, प्रेम प्रस्ताव लिएर आएको छैन म 

बरु एउटा बिन्तिपत्र पेश गरेकोछु, ध्यानपूर्वक पढिदियौ भने आभारी हुनेथिएँ ।

 लभ्ली क्लियोपाट्रा,

अचानक यो इमेल पठाउनु परेको कारण सहित एउटा अनुरोध अब  

आऊ, बोकिएर ब्यापारी मार्फत मेरो देशमा र फिंजीईदेऊ मेरा नेताहरु सामु

र लठ्याइदेऊ तिनीहरु सबैलाई पनि जुलियस सिजरलाई झैं 

शक्तिशाली रोमन मार्क एन्टोनीले तिम्रै खातिर एउटा साम्राज्य नै त्यागे भने,

कसो नत्याग्लान् हाम्रा लम्पट नेताहरुले सत्ता र भत्ता मोह ?

मसँग तिम्रा लागि समुन्द्रमा छोड्ने सयौं विशाल जहाजहरु छैनन्,

न छ भव्य सजधज सहितको प्रीतिभोज आयोजना गरेर

तिम्रो आतिथ्य कुरेर बस्ने औकात नै, मार्क एन्टोनीको जस्तो

तिमी त लाखौँ पाउण्ड दामपर्ने मणिपनि कपमा घोलेर घटघट पिउने

अनि अत्तरको जलमा स्नान गर्ने हैसियत र शौखकी खानदानी सुन्दरी

म आफ्नो पेट पाल्ने चाँजोपाँजो सँगै रेमिट्यान्स पठाएर

नेताहरु घस्याउने गरिब देशको इमान्दार जनता

ऊ बेला तिम्रो सुन्दरताको रागले मारेको मुलुकमा बनिबुतो गर्न आइपुगेकोछु

यहींबाट एउटा गुहार माग्दैछु सुनिदेऊ ।

प्रकृतिकी वरदान क्लियोपाट्रा,

तिम्रा खातिर सिजारले युद्दको मैदानमा आफुलाई चढाए

तिम्रै वियोगमा एन्टोनीले सुसाइड गरे

आस्था,बिश्वास,नैतिकता,सिद्दान्त,

इमान्दारिता र निष्ठा मरेपछि बाँच्नु बेकार ठानी 

तिमीले पनि विषालु सर्पलाई आफ्नो स्तनमा डसाएर देह त्याग्यौ

स्वाभिमानको राजनीतिमा तिमीबाट मेरो देशका राजनीतिज्ञहरुले सिक्नै पर्दछ

म यतिबेला मेरो देशमा चलिरहेको ताण्डव नृत्यको पीडाले आहत छु

तिम्रो मद्दत चाहन्छु,

मेरो देशको छातीमा सङ्गीन रोप्ने असुरहरुलाई तह लाउन   

सुनेकोछु / पढेकोछु ,

तिमीलाई देखेपछी राजाहरुले राजपाठ बिर्सन्थे,

राजनीतिज्ञहरुको सुद्दी बुद्दी हराउँथ्यो

के सकिन्थ्यो तिम्रो सौन्दर्यको महक अझैपनि यो संसारबाट

तिम्रो भौतिक चोला उठेको हजारौं वर्ष बितेर गए पनि ।

कृपालु क्लियोपाट्रा,

मेरो देशको लागि एउटा उपकार गरिदेऊ ।

सके, तिमी स्वयं ओर्लेर यहाँका नेताहरुको लागि एउटा डान्सबार खोलिदेऊ

नाचिरहनु पर्दैन तिमीले त्यहाँ, सिर्फ उभिईदिए पुग्छ

झुम्मिन आइपुग्नेछन् गिद्दहरु आफैं, बत्तीमा पुतली झुम्मिएजस्तो

किनभने तिनीहरु सिनेमाका हिरोइन,

डान्स बारका नर्तकी र क्याबिन रेस्टुरेन्टका तरुनी भनेपछि हुरुक्कै हुन्छन् 

तिमी त रुपकी रानी मात्र होइन,

राजनीति र कुटनीतिकी धनी राजकुमारी पनि    

होमिदेऊ तिम्रो सौन्दर्य,

रुप-लावण्य र दिमागको बलिवेदीमा ति सबै अयोग्यहरुलाई

घुस्रिउन् तिम्रो पेन्टीभित्र छोडेर तोडफोड देशको सम्पति,

धन्धुकारीहरु एक-एक गर्दै ।

 नसके,पठाईदेऊ टोकरीमा राखेर तिम्रो उही नोकरका साथ,

त्यहि विषालु र स्निग्ध सर्प

डसोस् त्यो सर्पले मेरो देश बिगार्नेहरुको दुवै आँखा र अण्डाशय,

जसरी डसेथ्यो तिम्रो स्तन

र अन्त्यमा: युद्द विभीषिकाको बखत

तिमीले लुकाएका सबै बहुमुल्य गाडधन पनि पठाईदिनू

तर कदाचित मेरो देशको पुरातत्व बिभागलाई नदिनू,

किनभने त्यहाँ पनि भ्रष्टाचार हुनसक्छ

बरु, हुण्डीवालासँगै भए पनि त्यसको नेपाली रुपियाँ साटेर

सिधै कर्णाली प्रदेश पठाइदिनू

कमसेकम त्यहाँका बालबालिकाले दुई छाक

ढिंडो खान पाउनेछन् र स्कुलको ड्रेस किन्न सक्नेछन् ।

 

प्रकाशित मिती २०७४ साल श्रावण ३० गते सोमबार

              गणेश खड्का  

   इटहरी – ४ , सुनसरी – नेपाल

    हाल , फ्रिगेट आइल्याण्ड , सेसेल्स

 

प्रतिक्रिया दिनुहोस्