Logo

बाढी प्रभावित जनताको उद्दार र राहतमा लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

स्तावेज ,श्रावण २९ गते आईतबार २०७४,काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित जनताको राहत तथा उद्धारमा सम्पूर्ण शक्तिका साथ परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। अध्यक्ष प्रचण्डले आइतबार प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपद्को यस अवस्थामा उद्धार र राहतका लागि तत्काल जुट्न पार्टीको सम्पूर्ण पंक्तिलाई निर्देशन दिएका हुन् ।

 केही दिनदेखिको अविरल वर्षाका कारण देशव्यापी रुपमा ठूलो जनधनको क्षति भएको र बाढीपहिराका कारण राजमार्ग तथा अन्य सम्पर्क सञ्जालसमेत अवरुद्ध हुन पुगेकाले लनागरिकको जीउधनको रक्षा गर्न, उनीहरुलाई सुरक्षित स्थानमा उद्धार गर्न र राहतको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

उनले सरकारमा सहभागी भएका पार्टीका मन्त्रीलाई पनि नागरिकको उद्धार र राहत वितरणमा सक्रियताका साथ लाग्न र परिचालित हुन आग्रह गरेका छन्। यस्तै माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले पनि बाढी तथा पहिरोपीडित नागरिकको उद्धार तथा राहत वितरणका लागि खट्न आग्रह गरेको छ ।

वाइसिएलका नेता रामप्रसाद सापकोटाले वाइसिएलका सम्पूण समिति तथा सदस्यलाई पूर्ण इमान्दारीका साथ परिचालित हुन आग्रह गरिएको जानकारी दिए। अनेरास्ववियु (क्रान्तिकारी)ले पनि बाढी तथा पहिरो पीडितको राहत तथा उद्धारमा खट्न नेता तथा कार्यकर्तालाई आग्रह गरिसकिएको अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।
   

           रासस

प्रतिक्रिया दिनुहोस्