Logo

सक्छौ, मलाई माफ गर जननी !

“हिजो यहि शब्द बकवास लाग्थ्यो तर यथार्थमा जीउँदै छु अझ भनौं जिउने अन्तिम प्रहरमा छु । मैले सत्य पहिल्याउन निकै ढिला गरेँ र त जीवनको अर्को पाटो बनेर भित्रिएकी प्रीयसीको ख्यालराख्नै जानिन र सकियो सम्बन्ध अनि प्रेमको औचित्य मेरो जिन्दगीबाट सन्ध्या झैं उ पनि पराई भै सदा सदाको लागि अनि म टाढिँदैछु एउटा जीवन अन्त्य गरेर सक्छौ भने मलाई माफ गरिदेउ मेरा जन्मदाताको बिश्वास झैं अर्को जन्म पाएछु भने तिम्रै काखमा जन्मिने सौभाग्य मिलोस यहि कामना गर्दै बिदा हुन्छु ,,मलाई माफ गरिदेउ जननी ! …..अलबिदा जननी !!उहि तिम्रो सन्तान मरुभूमिबाट”
   
    –अमन एकल 
 प्यारी जननी !
 
सम्बोधनमा म सँग शब्दनै छैनन् ,तिमी सर्वश्व हौ ! महशुस हुनुपुर्व अनेकौं अपमानजनक सम्बोधन गरेको छु त्यसैले महशुस पश्चात् पनि सम्बोधन गर्ने हिम्मत जुटाउन गाह्राे भयो सम्मानजनक सम्बोधन र अपमानजनक सम्बोधनमै फेल खाएको छु जिन्दगीमा पास कसरी हुन्थेँ र ?  तारेभिरमा झुन्डिएको फर्सीलाई लहरोको र लहरोलाई फर्सीको खुबै माया लाग्छ रे शायद मिलनका प्रहर निकै कम छन् भन्ने ज्ञात भएर होला त्यस्तै भएको छ आज मलाई  ।
 याद र झझल्काका तुफानहरु अत्तालिएर आएका छन् ,तिम्रा सम्झना र खबरहरु बोकेर अनि पठाएकोछु मैले तिनै पवनसँग आफू जे जस्तो रहेपनी सकुशलताको सन्देश ,गरेको छु बिनय मेरा दुखका खबरले बिछिप्त बनेकि तिम्रा आँसुमा होलि नखेलिदेउ है भनेर । तिनै हत्केलामा नाचेको मेरो बाल्यकाल ,तिम्रै ढाडमा बुई चडेर बिताएका जीवनका विशेष बसन्त मानसपटलमा यतिबेला चलचित्र झैं चलिरहेका छन् दुबै नयन सामु …………..
 पर्दाको आकार म प्रष्ट्याउन सक्दिन किनकी तिमी र त्यो बाल्यकाल बाहेक अरुकेही देखिएकै छैन तिमीले हरेक खुशीमा बधाईका गुच्छाहरु पठाईरह्यौ,मैले म दर्दका भारीले थिचिनुको कारण तिमी मानेँ अनि हेलाँ घृणा गरिनैरहेँ निरन्तर निरन्तर । तिमी दर्दले काँप्दा थर्थराउदा मेरो मनोरञ्जनको खातिर यो सब गरिरहेछौ लाग्थ्यो अझ भनौं यो त तिम्रो दायित्व हो मेरा लागि सम्झिएँ । अग्लो छहराबाट खसेपछी मात्रै आफ्नो अस्तित्व थाहा पाएँ कयौं बर्ष कोमामा रहेर निन्द्राबाट ब्युझिँदा जीवनको उत्तरार्द्धमा पुगेकोले के नै गर्न सक्छ र अनि के नै स्वप्न देख्नु ? र के नै हिम्मत देखाउनु ?
 लाग्थ्यो जब जब सम्बन्धमा प्रस्तावहरु अस्विकार हुन्छन् तब प्रेमिल सम्बन्धको धरोहर नै ध्वस्त हुन्छ । तर म भ्रमित भएको रहेछु । मेरा अनेकौं अस्विकार पश्चात् पनि तिमी मलाई उतिकै प्रेम र बिश्वास गर्दिरहिछौ । आज मुग्लानी भूमिमा जीवनको अन्तिम प्रहर कटाउदै गर्दा तिम्रो मातृत्व , तिम्रो स्नेह तिम्रो बिश्वास र तिम्रो सामीप्यताको निकै अभाव भएको छ मलाई काश : सक्थेँ त मुटुको एक पन्ना झिकेर तिम्रो महानताको गाथा सिरा र धमनी निचोरेर आफ्नै रगतले लेखी बिदा भैदिन्थेँ सक्थेँ त शीर छेद गरी तिम्रै पाउमा टक्र्याउँथें ।
काश:सक्दो हुँ त … द्दन्दको निर्मम प्रहारमा टुहुरो भै मृत्युको भिख मागिरहेको प्रहर जिउन आधार र मार्गदर्शन गर्दै नवजीवनको बिजारोपण गर्ने तिमीलाई आमा मानेर पूज्नुथियो ,हरेक खुशी र दर्द खुलेर सटही गर्दै तिम्रै काखमा निदाउन सक्ने तिमीलाई प्रेमिका मान्नुपर्ने थियो, आफू चुरचुर हुँदा पनि मेरो रक्षार्थ जुट्ने तिमीलाई सर्वश्व मान्नुथियो तर लत्याएर पराईलाई सिंच्न अर्कैको दुनियाँमा रम्न हिंडे ,आज त्यसैको हर हिसाब भुक्तान गर्नुथियो तर जिन्दगीले जीवनको उत्तरार्द्धमा ल्याएर छाडेको छ ।
 
 जिन्दगीलाई तिम्रो काख नसीव नभएपनी पार्थिब शरीर त्यही काखको कुनै कुनामा दफ्निन या जल्नपाए तिमीले मलाई माफी दियौ सम्झिन्थेँ । थाहाछैन त्यो सौभाग्य प्राप्त होला नहोला तिम्रै आलिङ्गनमा बाधिँएको बेला संयोगवश मिलेकी प्रीयसी छुटाएको आरोप थोपर्दै , दैवी बिपत्तिले तिमी बिछिप्त बनेको बेला मेरा आफन्त खोसेको रिसमा दर्दले चुरचुर बनेकि तिमीलाई कर्के नजर समेत नलगाई नयाँ जीवनको प्रलोभनमा लम्किएँ । यो भन्दा अहं के मा थियो भन्नू ? हुनत मेरै दृष्टीकोणमा पनि म क्षमायोग्य त छैन तर लाचारी तिम्रै सन्तान आज मृत्युको पूर्व सन्ध्यामा मरुभूमि जिन्दगीबाट अन्तिम अनुनय बिनय गर्दैछु । सक्छौ मलाई माफ गरिदेउ जननी !  
 
करोडौं सपनाका कोपिलाहरु फक्रने तयारीमा थिए अरबौँ चाहनाहरु कोशौं दूर क्षितिजबाट पुनः उदाउने जमर्को गर्दै थिए लाखौं कर्तव्यहरु बोध हुँदै थिए जो सब औचित्य हिन बनेको छ आफ्नै नालायकिपनले । एक सुखको प्रलोभनले सारा सुख र खुशी लुटिएको रैछ लुटाईसके पश्चात् महसुस भएको छ । अब जुन महशुसको अस्तित्व नै छैन अझ भनौं अस्तित्व नै मेटिईसकेको छ ।
 
 आकाशमा बादलका झुन्डहरुको महासंग्राम चलेको छ, अनेकौं साना र निमुखा बादलहरु रोईरहेछन् ,चिच्याईरहेछन् ,गुहार मागिरहेछन् । हिजो म रमिते बन्थेँ उनीहरुको पीडाका आवाजमा आफू रम्थेँ आज त्यो पीडा सहजै महशुस गरेको छु शायद तिमीलाई झैं प्रकृतिलाई पनि बुझ्ने प्रयासमा छु या स्वार्थी मन आफ्नै बचाउमा छु ।
 
 भैंसी दुहेर बाल्टिभरी दूध लिएर उठ्ने जमर्को गर्दा नगर्दै भैंसीले लात्ती हानेर एकै निमेषमा भुइँभरी दुधको तर लागेझैं अनेकौं कष्ट र दर्दको सामना गर्दै खुशीहरु समेट्ने अथक प्रयासमा बल्लतल्ल सफलताको छेउ पुग्दा नपुग्दै आँखाको परेली एक पल नझिम्किँदै जिन्दगीले यसरी लात हान्यो मृत्यु बाहेकको कुनै विकल्प नै रहेन ।
 
 आत्मग्लानीले जलाएर राख बनाएपनी स्वच्छ पवनमा दुषित बनेर बहने मेरो आत्मा तिम्रै काखको आसपास रहनेछ । म झैं अरु कपुतले त्यो गर्भमा बास नपाउन् सपुतहरुले मैले दुखाएको त्यो मनमा मल्हम लगाउन सकुन यहि कामना गर्छु । प्यारी जननी सोचौली मृत्युको पूर्व सन्ध्यामा पुगेर सम्झिएझैँ गर्यो तर त्यसो होइन प्रवासको तातो हावाले छाती पोल्दा तिम्रै काखमा बसेर हिजो संगालेको अदभुत स्पर्श हरपल प्रीय बनेर हरपल यादका बारातसंगै आइरह्यो।
 
 कयौंपल मुटुको कुना कन्दरामा तरङ्गीत भै नयन छल्किएको म तिमीलाई देखाउन सक्दिन । यादै यादले भरिएको सिरानी नरुझेका शायदै कुनै रात होलान् । प्रीयसीले बहादुर र सक्षम बन्ने आग्रहमा उनको चाहमा प्रश्न तेर्साएर उनिलाई बिदा गरेको थिए तर आज न मुटु न प्राण न उनी,एक्लो भएको छु । बाँचेका छन् यस्तै सिर्जना छोडेर जाँदैछु यहि यादहरु । सक्षम धनुष कि काण अन्यौलमा छु प्रीया ! धारिलो वचन कि बाण अन्यौलमा छु प्रीया !! आमा र देशमा एक रोज भन्छौ तिमी मलाई मुटु रोजौ कि रोजौ प्राण अन्यौलमा छु प्रीया !!! तिमीलाई लत्याएर मुग्लान पसेपछी हो मैले यसरी आफूलाई परिवर्तन गर्ने प्रयास गरेको तर असफल कदमले तिम्रो आगनी सम्म टेक्ने हिम्मत भएन र त झन्डै आधा दशक तिम्रो स्नेह लत्याएर बेपत्ताको सूचीको अग्रपङ्तीमा आईरहेँ । भनिन्छ नदुखेको मन र नरसाएको आँखा कस्को पो हुन्छ र  …….? 
  हिजो यहि शब्द बकवास लाग्थ्यो तर यथार्थमा जीउँदै छु अझ भनौं जिउने अन्तिम प्रहरमा छु । मैले सत्य पहिल्याउन निकै ढिला गरेँ र त जीवनको अर्को पाटो बनेर भित्रिएकी प्रीयसीको ख्याल राख्नै जानिन र सकियो सम्बन्ध अनि प्रेमको औचित्य मेरो जिन्दगीबाट सन्ध्या झैं उ पनि पराई भै सदा सदाको लागि, अनि म टाढिँदैछु एउटा जीवन अन्त्य गरेर सक्छौ भने मलाई माफ गरिदेउ मेरा जन्मदाताको बिश्वास झैं अर्को जन्म पाएछु भने तिम्रै काखमा जन्मिने सौभाग्य मिलोस यहि कामना गर्दै बिदा हुन्छु ,मलाई माफ गरिदेउ जननी ! अलबिदा जननी  !!
 
     
       उहि तिम्रो सन्तान मरुभूमिबाट,
 
 “अमन एकल” राम कृष्ण पाण्डे, भोर्ले – ७ रसुवा हाल, युएई
 प्रकाशित मिति २०७४ साल श्रावण २१ गते शनिबार 
प्रतिक्रिया दिनुहोस्