Logo

रूपन्देहीमा एमालेको अग्रता कांग्रेस र एमाले अघिपछि

सार १६, २०७४ रूपन्देही –  १६ स्थानीय तह रहेको रूपन्देहीका १५ स्थानीय तहमा मतगणना जारी छ। मतगणना जारी रहेका स्थानमा कांग्रेस र एमालेको कडा टक्कर देखिएको छ।  बिहीबार बेलुका ६ बजेसम्मको जानकारी अनुसार रूपन्देहीमा जम्मा १० प्रतिशत मतगणना भएको छ। रूपन्देहीका सात स्थानीय तहमा एमालेको अग्रता छ भने कांग्रेस चार तहमा अगाडि छ। केही तहमा कांग्रेस र एमाले अघिपछि भइरहेका छन् ।  दुई स्थानमा राजपाबाट उम्मेदवारी दिएका स्वतन्त्र उमेदवार अगाडि छन् भने दुई स्थानमा संघीय समाजवादी फोरम र नयाँ शक्तिका संयुक्त उम्मेदवारको अग्रता छ ।

            रूपन्देहीमा हालसम्म घोषित नतिजा अनुसार एमालेले आठ, कांग्रेसले तीन र नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादीले एक र राप्रपाले एक वडामा जितेका छन्।  बुटवल उपमहानगरसहित आसपासका नगरपालिका सैनामैना, तिलोत्तमा र सिद्धार्थ नगरमा एमाले अगाडि छ। यी मध्ये बुटवल, तिलोत्तमा र सिद्धार्थनगरमा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा छ भने सैनामैनामा कांग्रेसका उम्मेदवारभन्दा एमालेका उम्मेदवार धेरै मतले अगाडि छन्। सैनामैनामा एमालेले तीनवटा वडा जितिसकेको छ। यस्तै, सम्मरीमाई, गैडहवा र शुद्धोधनमा भने एमालेका उम्मेदवार कांग्रेसभन्दा निकै पछाडि छन्।  ओमसतिया, कञ्चन र सियारी गाउँपालिकामा एमालेले अग्रता लिइरहेको छ।

कांग्रेसले देवदह नगरपालिकामा सुरुवातदेखि नै अग्रता लिइरहेको छ। देवदहसहित सम्मरीमाई, गैडहवा र शुद्धोधनमा कांग्रेस अगाडि छ।  मायादेवी र रोहिणीमा संघीय समाजवादी र नयाँ शक्ति पार्टी नेपालको अग्रता छ भने लुम्बिनी सांस्कृतिक नगरपालिकामा राष्ट्रिय जनता पार्टीनिकट स्वतन्त्र उम्मेदवार अगाडि छन् । मर्चवारी गाउँपालिकामा पनि राजपानिकट स्वतन्त्र उम्मेदवार अगाडि छन्। कोटहीमाईमा आज मतदान  माओवादी केन्द्रका कोटहीमाई गाउँपालिका– १ का सदस्य पदका उम्मेदवार मुरली मल्लाहको निधन भएपछि स्थगित भएको मतदान शुक्रबार भएको छ। आज मतदान सकेर मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्