साहित्यले पारेको प्रभाव बन्दुकको गोली भन्दा कैयौं गुणा शक्तिशाली हुन्छ – दुर्गाबहादुर शाह ‘बाबा’
साहित्यका सवैजसो विधामा कलम चलाएका दुर्गाबहादुर शाह ‘बाबा’ मूलतः कवि एवं गीतकारका रुपमा सुपरिचित छन् । बहुआयामिक सरल र शान्त व्यक्तित्वका धनि साहित्यकार बाबासँगको अन्तर्वार्ताको मूल अंश प्रस्तुत गरिएको छ –सम्पादक ।
दस्तावेज डट कमको तर्फबाट यहाँलाई हार्दिक स्वागत छ सर्वप्रथम यहाँले आफ्नो परिचय दिदा कसरी दिनुहुन्छ ?
दुर्गाबहादुर शाह ‘बाबा’,ठुलाडिही – ९ स्याङ्जामा जन्मेकोे, हुर्केको, सदैव सकारात्मक सोचका साथ सामाजीक कार्य गर्न तथा अध्यन, भ्रमण गर्न मन पराउने,साहित्य सिर्जनामा निरन्तर लगाव राख्ने, नेपाल राष्ट्र बैंक पोखराको उप–निर्देशक पदवाट सेवानिवृत म मेरी मुमा, श्रीमती, एक छोरा,एक बुहारी,एक नातीनी र एक छोरी सहित आफ्नो कर्मथलो पोखरा लेखनाथ महानगरपालिका वडा नं – ६ बैदाम, बस्दै आएका छौ । आफुले आफैलाई परिचय दिनु मेरा लागी निकै गाह्रो कुरा हो ।
साहित्यिक नाम ‘बाबा’को अर्थ के हो ?
मेरो साहित्यिक नाम दुर्गाबहादुर शाह ‘बाबा’ हो । मेरा बुबा चित्रबहादुर शाह २०४६ सालमा स्वर्गे होइबक्सियो । त्यसपछि म ज्यादै मर्माहत भएँ । म बुबाको (पितृ) भक्त हुँ । मलाई जन्म दिने हुर्काउने, बढाउने र ब्यबहारीक शिक्षा दिने आदरणीय पूज्य बाबाको सधैँ सम्झना रहिरहोस् र अर्कातर्फ ‘बाबा’ यसै पनि प्यारो शब्द हो । अर्काे ‘बाबा’ को हिज्जे ‘BABA’ हुन्छ यसले छुट्टाछुट्टै अर्थ दिन्छ । B – Broad Sence फराकिलो विचार लिएर हिँड्न सकूँ । म सानातिना कुरामा नअल्मिऊँ । A- Academic Career जीवनको अन्तिम घडिसम्म अध्ययनशिल बनिरहन सकूँ । जती अध्ययनलाई बढाइदै लगिन्छ त्यती आफ्ना अज्ञानताहरु पनि थाह लाग्छ र हटाउनमा मद्दत हुन्छ । अध्ययनमा मैले अझै कयौं माइल पार गर्नु छ । B – Beliveable/Belevier सबैको विश्वासयोग्य बन्न सकूँ । यो बोल्छ मात्रै यसको बोलीको विश्वास छैन भन्ने खालको व्यक्ति नबनूँ । A – को अर्थ माथि भनिएका सबै कुराहरू Achievable प्राप्य होऊन् । कार्यान्वयन गरेर मात्र त्यसले कुनै अर्थ दिँदैन जबसम्म त्यसको परिणाम अर्थपूर्ण हुँदैन । यसरी ‘BABA’ भनेर नामको पछाडि यस अर्थले राखेको हुँ । यसमा मेरो सिङ्गो जीवन दर्शन अटाएको छ । म यहि पदचापलाई पछ्याउँदै छु ।
यहाँका प्रकाशित कृतिहरुको बारेमा भनिदिनुहुन्छ की ?
– समयले कोरेका रेखाहरु (लेख संग्रह २०६३)
– आधुनिक गीति एल्वम गौरव (२०६४)
– नेपाःश्री आधुनिक गीति एल्वम (२०७१)
– दुई हरफ (कविता, सङ्ग्रह–२०६६) – पत्रपत्रिका, रेडियो आदिमा विभिन्न सिर्जनाहरु,प्रकाशित/प्रसारित
यहाँको एकल कविता वाचन कुन कुन ठाउँमा भयो ?
–गुरुकुल काठमाण्डौँमा एकल कविता वाचन सम्पन्न –वि.स २०६६
–पोखरा उध्योग बणिज्य संघको सभाहलमा टिकटमा एकल कविता वाचन सम्पन्न – वि.स २०६८
श्रीलंकामा वि.सं २०७१
कम्बोडीयामा वि.सं २०७१
यहाँ आवद्द भएका संघ संस्थाहरु ?
अध्यक्ष – कस्केली अधिकृत समाज कास्की ( २०६५ देखि २०७०,२०७२ देखि )
अध्यक्ष – गजल यात्रा पोखरा,नेपाल
संस्थापक उपाध्यक्ष – र्याण्डम रिडर्स सोसाइटी अफ नेपाल
सल्लाहकार – सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठान पोखरा
संस्थापक/सल्लाहकार – टिम अर्गनाइजिङ्ग लोकल इन्स्टिच्यूसन (टोली संस्था) पोखरा (२०५० देखि हालसम्म )
यहाँकै नाम दुर्गाबहादुर शाह ‘बाबा’ बाट स्थापना ‘बाबा’ साहित्य साधक सम्मान तथा पुरस्कार कोष २०६७ स्थापना गर्नु भएकोछ अहिले सम्म कतीजना साहित्यकारहरुले पुरस्कार प्राप्त गर्नु भएको छ र यस्को स्रोत के हो ?
– रुपिन्द्र प्रभावि ‘कटु’
– सरस्वती श्रेष्ठ ‘सरू ‘
– सुमन श्रापित
– धन बहादुर गायक
– शान्ती नारायण श्रेष्ठज्यूहरुले प्राप्त गर्नु भएको छ । यस्को मुख्य स्रोत भनेको मेरो एकल कविता वाचन र मेरा सिर्जनाहरु विक्री भएँ वापत प्राप्त रकमहरु नै हुन् ।
तपाईंँका आफ्ना पूर्व प्रकाशित कृतिहरुबाट सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टिको परिभाषा दिन पनि गाह्रो छ । मेरा प्रकाशित कृतीहरुले आ–आफ्नै महत्व वोकेका छन् । मेरा कृतीहरुले पुरस्कार र सम्मान पाएकाले मलाइ अगाडी बढ्नमा हौंसला मिलीरहेको छ । पाठक, दर्शकवाट पाएको माया, सद्भाव, समिक्षा मेरा लागी सधै प्रिय छन् । यस अर्थमा सन्तोष लाग्छ । तर गर्नु धेरै छ । मैले मेरा वचेखुचेको समयलाई सदुपयोग मात्रै गरेको हुँ । जीवन रहुञ्जेल त केही न केही त गरिरहनु पर्यो नै । जीवनलाई भुलाउनु पनि छ ।
नेपाःश्री आधुनिक गीति एल्वम – २०७१ कस्तो एल्बम हो ?
सार्क राष्ट्रका दुई स्रष्टा म दुर्गाबहादुर शाह ‘बाबा’को रचनामा श्रीलंकाका सुप्रसिद्द गायक तथा संगीतकार डा. प्रबाथ निलन्त पेइरिसको स्वर र संगीतले भरिएको संयूक्त नेपाली आधुनिक सांगीतिक एल्बम नेपाःश्री हो । यस एल्बमको सम्पुर्ण बजार व्यबस्थापन म्यूजिक नेपालले गरेको छ । नेपाःश्री एल्बम नेपालका लागि श्रीलंका महामहिम राजदुत सिने.भि. रत्नले पोखरा उध्योग बाणिज्य हलमा आयोजीत कार्यक्रममा विमोचन गरेका थिए । यो एउटा सांगीतिक क्षेत्रमा सार्क राष्ट्रका दुइ स्रष्टाले गरेको पहिलो ऐतिहासिक कार्य भन्दै राजदुत सिने.भि. रत्नले मलाई काठमाण्डौमा सम्मान पनि गर्नु भएको थियो ।
फुर्सदमा के गर्न रुचाउनुहुन्छ तपाई ?
म समयतालीका र परिस्थिती अनुसार चल्न मन पराउछु । फुर्सदमा चिया/कफी पिउन, सँगीत र सिर्जना गर्न,पत्रपत्रिका पढ्न,साथिभाई सँग भेटघाट, घुम्न र परिवार सँगको आत्मीयता अझ प्रगाड बनाइरहन रुचाउछु । म विहान ५ बजेतिर उठ्छु, ब्यायाम गर्छु या ब्याडमिन्टन खेल्छु, केही साहित्यिक सिर्जना गर्छु, पत्र–पत्रिका पनि पढ्छु , दिनभरिको कार्य तालीका तय गरेर आफ्नो कार्यालय ठिक समयमा पुग्छु र बस्छु । आज सम्म म मेरो कार्यालय समयमा ढिलो गरि पुगेको मलाई सम्झना छैन । म समयलाई चिनेर कुन काम पहिला गर्ने भन्ने तय गर्छु । मेरो लागि समय ढुकुटी हो । आवश्यकता हेरी समयलाई खर्च गर्छु । प्रकृतीले सवैलाई वराबरी समय प्रदान गरेको छ तर कुन समय के मा खर्च गर्ने भन्ने महत्वपुर्ण कुरा हो ।
समाज रुपान्तरणको लागि साहित्यको कस्तो भूमिका हुन्छ ?
साहित्यका विभिन्न पाटाहरु हुन्छन् । साहित्य मार्फत पनि समाजमा भए गरेका राम्रा कुराहरुको प्रशंसा र अहित हुने क्रियाकलापको विभिन्न सिर्जना मार्फत सन्देश दिने काम गरिन्छ । मलाई साहित्यले पारेको प्रभाव बन्दुकको गोली भन्दा कैयौं गुणा शक्तिशाली हुन्छ लाग्छ ।
साहित्यिक यात्रामा यहाँको कुनै अविस्मरणीय क्षण वा घटना छ कि ?
म गायक हुन चाहन्थें र ५ वटा आधुनिक गीत पनि गाईसकें । मैले स्रोताहरुको मन छुन सक्ने खालको स्वर दिन नसक्ने आफैलाई लाग्यो । मेरो रचना धेरैले मन पराएको पाएँ । गायन क्षत्रलाई थाती राखेर गीति लेखन तर्फ ध्यान दिएको छु । यस्ता थुप्रै क्षण र घट्नाहरु छन् । साहित्यिक यात्रामा लागि सकेपछि कैयौं परिवेशलाई छिचोल्दै निखारिदै अगाडि बढ्नुपर्ने हुन्छ ।
यहाँ कार्यालयको व्यस्तताको बाबजुद पनि लामो समयदेखि साहित्य सिर्जनामा निरन्तर लागिरहेको पाईन्छ, यस क्षेत्रमा प्रवेश गर्ने प्रेरणा कसरी र को बाट मिल्यो ?
साहित्यलाई उमेरमा आँकलन गर्न सकिँदो रहेनछ । स्कूल पढ्दा देखि नै आफूले पढ्ने पुस्तक र प्रकृतिसँग निकै रम्ने मेरो स्वभाव थियो र छ पनि । यसैको परिणाम स्वरुपहोला कक्षा ७ मा अधयन गर्दा स्कुलकै सर्वोत्कृष्ट बिध्यार्थी र कक्षा ५ मा अध्यन गर्दा अनुशासनमा नगदवाट पुरस्कृत भएको पनि थिएँ । प्रकृति प्रदत्त यो संसार देख्दा अचम्म लाग्दथ्यो र लागि पनि रहेकोछ । वरिपरिका परिवेशले मेरा मन छोइरहन्थ्यो । मेरा घरपरिवार, ईष्टमित्र,साथिभाई, छरछिमेक र गुरुहरुको प्रेणा,माया, सद्भाव मेरा लागि सदैव सकारात्मक र उर्जाशिल रहदै आयो । यी सबै मेरा लागि प्रेरणाका स्रोत बने ।
जीवन र साहित्यलाई कसरी परिभाषित गर्न सकिन्छ ?
जीवन एउटा कला हो । यो क्षयवान छ । जीउने तरिका आ–आफ्नै शैलीका हुन्छन् । तर जीउन जान्न सक्नुपर्छ । जीवनलाई त्यसै खेर फाल्न दिनु हुदैन यसको सक्दो सहि सदुपयोग गर्नुपर्छ । यो अरु कसैको हातमा नभई आफ्नै हातमा भर पर्छ । जीवन गतिशिल र ऋतुअनुसार मौसम परिवर्तन भए झै परिवर्तनशिल छ । साहित्य अजम्वरी र कालजयी हुन्छ । यसैको माध्यमबाट जीवनलाई उचाईमा पुर्याउन सकिन्छ । साहित्यले त्रिलोक देख्दछ । यो चिन्तनको परिणाम हो । यसले मार्ग निर्देश गर्छ । साहित्य लिखित, अलिखित, ब्यक्त, अब्यक्त हुन्छ । साहित्यले साना, ठूला, धनि, गरीव सारा लोकको उजागर गर्छ । यसैले साहित्य सबैको साझा सम्पत्ती हो भन्ने लाग्छ ।
साहित्यको विभिन्न विधामा कलम चलाउने बाबालाई समाजले कस्तो व्यक्ति भनेर परिभाषित गरोस् जस्तो लाग्छ ?
पहिलो प्राथमिकता मेरो कार्यालयको कामलाई दिन्छु र मेरो कर्तब्य पनि हो । कार्यालयको आफ्नो पदिय दायित्व समयनिष्ठ र जिम्मेवारीपूर्वक निर्वाह गरेपछि मनमा आनन्द आउँछ । यसको अलावा बाँकी रहेको विहान बेलुका र विदाको समयलाई सहि सदुपयोग गर्न म सदैव प्रयत्न गरिरहन्छु ।”BABA” सानो जीवन दर्शन बोकेको सिर्जनशिल प्राणी हो लाग्छ । मेरा सिर्जना साझा सम्पत्ती भैसकेछन् र मलाई पनि त्यहि रुपमा लिएको पाउँछु ।
यहाँका प्रकाशित कृतिहरुमा कस्ता–कस्ता रचनाहरु समावेश गरिएका छन् ?
मैले लेख्न शुरु गरेको तीन दशक भन्दा पनि बढि भैसक्यो । कविता, गीत, गजल, कथाका साथै आर्थिक, धार्मिक, नियात्रा, इतिहास आदि विभिन्न सिर्जनाहरु पर्दछन् ।
अन्य क्षेत्रहरुमा जस्तै साहित्यमा पनि विकृति, विसंगति, गुठ, उपगुठहरु छन् भन्ने सुनिन्छ नि ? के यो सत्य हो ? यसमा तपाईको के विचार रहेको छ ?
जसरी बगैंचाका मालीले झारपात, काँडा फालेर फूलहरु राख्छ अर्थात काँडालाई पनि मिलाएर राख्ने खुबि हुन्छ त्यसै गरी साहित्य अनुरागिहरुले पनि विकृति, विसंगति, गुठ, उपगुठहरु तर्फ उन्मूख नभई सत्यता र राम्रो सिर्जनाको पछि लाग्न सक्नुपर्छ । आफ्नाका जस्तो भएपनि राम्रा, अर्काका राम्रा भएपनि नराम्रा ठान्ने र मान्छे हेर्ने बानी दुखद हो ।
के साहित्य सिर्जना गर्न सजीलो छ ?
साहित्य सिर्जना गर्नु भनेको सजिलो छैन । यो अमूल्य छ सजीलै प्राप्त गर्न सकिदैन,मन मस्तिष्क खियाउनु पर्छ, सोच्नु पर्छ, समय खर्चनु पर्छ, यो त्यागको फल हो । तर राम्रो पाठक र स्रोता पाउन सकिएको छैन । भनिन्छ एउटा राम्रो लेखक हुनु भन्दा राम्रो पाठक हुन कैयौं गुणा गाह्रो हुन्छ ।
साहित्य क्षेत्रमा प्रवेश गर्न चाहने नव प्रवेशीहरुलाई केही सन्देश दिनुहुन्छ की ?
आफैमा सिर्जना गर्ने इच्छा र क्षमता छैन भने अरुको भर परेर सिर्जना हुन्छ कि भन्नु प्राय असम्भव नै छ र त्यो निश्चित छ दिगो पनि हुदैन । दुर्घटना हुन जान्छ । अध्ययनशिल, लगनशिल, धैर्यवान, तत्परशिलता, नेटवर्किङ्घ र असल अग्रजहरुको सत्संगत हुनु जरुरी छ । देख्दा जति सजिलो देखिन्छ ब्यवहारमा सिर्जना गर्नु भनेको त्यतिनै कठिन छ । यो एक तपस्याको फल हो । ज्ञानको भण्डार र शब्द शिल्पी हुनु जरुरी छ ।