Logo

ऐन संशोधन एकै दिनमा हुन्छ भने संविधान संशोधन किन हुँदैन ? : डा. बाबुराम भट्टराई

जेष्ठ २९, २०७४ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले दलहरु जिम्मेवार बने अझै पनि संविधान संशोधन गरेरर असार १४ मै निर्वाचन हुनसक्ने बताएका छन्। विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले दलहरुले चाहे १ दिनमै संविधान संशोधन गर्न सकिने दावी गरे। ‘हिजै मात्रै संसदबाट ऐन संशोधन भयो, जबकि प्रक्रियामा लगेको भए १० दिन लाग्थ्यो,’ भट्टराईले भने, ‘समस्या समाधानमा जिम्मेवारीपूर्वक अघि बढ्ने हो भने संविधान संशोधनका लागि पनि समय पुग्दो छ।’

     आइतबार संसदले फास्ट ट्र्याकबाट राजनीतिक दल सम्बन्धी ऐनको विधेयक पारित गरेको थियो। राष्ट्रिय जनता पार्टी पनि निर्वाचनलाई असहयोग हुने गरी आन्दोलनका कार्यक्रम नल्याउन सुझाव दिँदै भट्टराईले सरकार र दलहरुपनि जिम्मेवार हुनुपर्नेमा जोड दिए। ‘आम हड्ताल घोषणाले अनिश्चय र द्दवन्द सिर्जना हुने देखिएको छ,’ भट्टराईले भने, ‘सरकारले द्दवन्द निम्त्याउने र राजपाले चुनाव विथोल्ने गर्नु हुँदैन।’ 

    आइतबार ल्याइएको ऐन संशोधनले पनि समस्या समाधान नगर्ने भन्दै भट्टराईले सत्तारुढ दलहरुले अंश अंशमा समस्या समाधान गर्न खोज्दा अरु समस्या थपिएको बताए। ‘क्यान्सरको उपचार मल्हम लगाएर हुँदैन,’ भट्टराईले भने, ‘समग्रतामा समस्या समाधानको उपाय खोज्नु आवश्यक छ।’ निर्वाचनको मिति सार्ने कुरासँग सहमति हुन नसक्ने भन्दै भट्टराईले समस्या २ नम्बर प्रदेशको मात्रै नभई ५ र ७ नम्बर प्रदेशमा पनि समस्या रहेको बताए। दुई नम्बर प्रदेशमा तेस्रो चरणको चुनाव गर्ने कुराप्रति आफ्नो सहमति नरहेको भट्टराईले बताए।  

प्रतिक्रिया दिनुहोस्