Logo

एचआईभी संक्रमितको कथा : यात्रा अझै बाँकी छ – भाग २

  बिमलले एक हातले चुरोट तान्दै आफूलाई पकाएको खाना निकालेर सिल्भरको डेक्चीमा खन्याउँछ । फेरि चामल भिजाएर प्रेसर कुकरमा बसाल्छ । मसुरको दालमा पानी थप्छ । ४ वटा टमाटर ग्याँसको आगोमा पोलेर त्यसमा अलिकति हरियो धनिया,खुसार्नी,नुन मिलाएर ढुंगाको सिलौटोमा मजाले पिस्छ । अब बेलुकाको खाना तयार हुन्छ । अरुहरुले पानी सार्ने थाल कचौरा पखालेर सघाउँछन् । सबैले बाँडिचुँडी बिमलको कोठामा खाना खान्छन् । अनि चुरोट सल्काएर पालैपालो पिउँछन् । कोठा चुरोटको धुवाँले कुहिरीमण्डल बन्न पुग्छ । कोहि खोक्न थाल्दछन् । अनि रातको बत्ति निभाएर दुईवटा पलङमा ३,३ जना खप्टिएर सकिनसकी सुत्दछन् । बाँकी नअटाएका ब्यक्तिहरु भुँईमा प्लास्टिकको सुकुल ओछ्याएर पातलो तन्ना ओछ्याउँदै गुनगुन बात मार्दै सुत्दछन् । मच्छरले टोकेर सबैलाई हैरान पारेको छ । कोहि मच्छर धपाउन लाग्दछन् ।केहिबेरमा सन्नाटा छाउँछ ……….पुनः घ्यारsssss…….घ्यारssssssss…… घुरेको आवाज मात्र सुनिन्छ । ” 

             –  दीपशिखा शर्मा                             
                                     

                                 स्थान —सपनाको शहर मुम्बई भारत ।
संख्य चाहना, परिवारको सुनौलो भविष्य र सपनाहरुको परिपुर्तीका लागि रगत र पसिनाले पैसा साट्न परदेश हान्निएका युवकहरुको गन्तब्यस्थल । साथिहरुको लहैलहैमा बिदेशिएको मानबहादुर र अन्य ७ जना साथिहरु धेरै बर्ष अगाडि मुम्बईमा बस्दै आएको साथी बिमलको डेरा खोज्दैछन् । मुम्बई रेल स्टेशनबाट ओर्लेर करिवन १०० कि.मी. टाढा भाईन्दर भन्ने ठाँउ पुग्न अटोरिक्शा चढ्छन् । लामो यात्रा पश्चात् अटो ड्राईभरले भाईन्दर चोकमा लगेर सवारी रोक्छ । ड्राईभरलाई “गुरुजी लिजिए” भन्दै हातमा गोजिबाट केहि भा.रु.थम्याउँदै आ–आफ्नो झोला पोका पन्तरा बोकेर सबै मानबहादुरको पछि पछि लाग्छन् । बिमलको डेरा खोज्न भौंतारिएका युवाहरुको डफ्फा ईन्डियामा बसेका आफन्तहरुसँग फोन सम्पर्क गर्दै अगाडि बढ्दैछ । कठिन मेहनत पश्चात् एकजना आफन्तले बिमलको डेरा पत्ता लगाईदिन्छ । उनिहरु खुशि हुँदै त्यतै लाग्छन् । साँघुरो गल्ली हिंडिसकेपछि त्यसको भित्रपट्टिको एउटा ठूलो घरको छिंडिमा बिमलको कोठा हुन्छ । जहाँ बिमलले आफ्नो जीवनको १० बर्ष गुजारिसकेको हुन्छ । मानबहादुर लगायत उसका साथीहरु बिमललाई खोज्दै उक्त स्थान पुग्दछन् । ढोका ढक्ढक्याँउदै मानबहादुरले बिमललाई सम्बोधन गर्दै बोलाउँछ,

 स्थान— भाईन्दर ईण्डिया(गाँउले साथी /दाई बिमलको कोठा)

ढुँडी गन्हाएको कहिल्यै घाम नछिर्ने ओसिलो,चुरोटको गन्धले बान्ता आउलाजस्तो , निकै दिनदेखि सफासुग्घर नगरिएको, बिमलको कोठा । सामानको नाउँमा एउटा सानो टी.भी. अगल बगलमा दुईवटा खाटहरु राखिएको छ । जसमाथि मैलो तन्ना ओछ्याईएको छ । कपडाहरु राख्न सानो स्टिलको दराज,लुगा झुण्ड्याउने काठको हेङ्गर,ग्याँस चुल्हो,पकाउनको लागि प्रयोग गरिने सामान्य भाँडाकुडा,भित्तामा काठ ठोकेर बनाईएको दराजमा भरि रक्सिको बोतल,खाटमनि यत्रतत्र छरिएका रक्सिका बोतलहरु…….. र भान्सामा पकाउनका लागि प्रयोग गरिने नुन,बेसार,मसला,खुर्सानीको धुलो,दाल र आधा चामलको बोरा भुँईमा नै राखिएको छ । त्यो बाहेक उसको कोठामा हेर्न लायक कुनै चिज देखिन्नन् ।
     बिमल मोवाईलमा म्युजिक बजाउँदै ईयरफोन कानमा लगेर आफ्नै धुनमा कोठामा खानेकुरा बनाउदै हुन्छ । म्युजिकको चर्को आवाज र रक्सिले मातेकोले बिमलले बाहिरबाट ढोका ढक्ढक् गरेको आवाज राम्रोसँग सुन्न सक्दैन । अरु जोर जोरले ढोका पिटिसकेपछि बल्ल बिमलको कान खुल्छ ।
 मानबहादुर— “ए बिमल दाई ढोका खोल्नुस् न यार ! म मानबहादुर ”

 बिमल—“कौन है ? क्यों दरवाजा खटखटा रहें हैं ?”बोलाएको नसुनेझैं गर्दै मुम्बईया हिन्दी शैलीमा बिमलले हप्काउँदै ढोका खोल्दछ ।
(अन्दाजी ३५ बर्षको ,रातो बर्णको,दाह्री कपाल पालेको,खैरो पाईजामा लगाएको,माथि हाफ गन्जिमात्र लगाएको,खुट्टामा बाटा चप्पल लगाएको, एक हातमा चुरोट च्यापेको,कानमा ईयरफोन र पाईजामाको खल्तिमा सस्तो मोवाईल बोकेको दुब्लो पातलो अधबैंसे बेहोशी जस्तो युवक । जसको नाम बिमल हुन्छ । उसले धर्खराँउदै ढोका खोल्छ । ढोका अगाडि ७,८ जना गाउँलेहरुको डफ्फा देखेर शुरुमा त बिमल अकमकिन्छ । रक्सिले मातेकोले उसको दिमागले त शुरुमा केहि सोच्नै सक्दैन केहिबेर घोरिएपछि उसको नशा क्षणभरमै गायव हुन्छ । आफूले आफूलाई सम्हाल्दै अनुहारमा नक्कली हाँसो ल्याउँदै कुरा गर्दछ,)
बिमल— “ओहो ! के हो यस्तो ? आज त सबै पल्टनै उल्टेर आएछौ त ? यो मुम्बईले के साह्रो तान्यो हो हाम्रो दाजुभाईहरुलाई भित्रै आउन हो ” बिमलले सबैलाई भित्र बोलाउँछ । चप्पल खोल्दै सबैजना भित्र पस्छन् अनि दुईवटा पलङको लश्करै मिलेर बस्छन् ।
मानबहादुरसँगै आउने एउटा गाउँले युवक जीवनले बिमललाई हेर्दै जिस्क्याँउछ,
जीवन—“यार तिमी मात्रै आउने ,कमाउने अनि रमाउने भन्ने छ र मुम्बईमा ? हामी पनि तिमीलाई पछ्याउँदै आयौं त ……..”
अर्को एकजना साथी हरिले हो मा हो मिलाउदै भन्छ,
हरि — “हो नि बिमल ! हामी पनि आयौं धन कमाउन,के गर्नु यार ? गाउँमा बसेर केहि उपाय लागेन । कतिन्जेल साहुको मजदुरी गरेर बस्ने ?कतिन्जेल परिवारको आँखामा आँसु हेरेर बस्ने यार ? हामी मर्द भएको के काम लाग्यो र ?”
फेरि अर्को साथी दिलबहादरले थप्छ,
दिलबहादर—“हो नि यार जवानीमा नकमाएको धन र बैंसमा नगरेको मोजको बुढ्यौलीमा केहि अर्थ हुँदैन । जे कुराको पनि समय आउँछ । तसर्थ हामी समय अनुसार चल्न सिक्नुपर्छ साथिहरु हो नत्र भविष्यमा दुख पाईन्छ । ”
मानबहादरले थप्छ ,
मानबहादुर—“आफ्नो त बाबु दमको बिरामी छन् । आमा बाथ रोगले थलिएको पनि २ बर्ष भईसक्यो । औषधिमुलो गर्न नसकेर दुबै ओछ्यान परेका छन् । श्रीमती दोजियाकी (गर्भवती) छोडेर आएको छु , जेठो बाठो भनेकै मै हुँ । भाईबैनी को हालत पनि निकै नाजुक छ । स्कुल भर्ना गरेर पढाउन पनि सकिन । कतिन्जेल साहुको ज्याला निमेक गरेर जीवन धान्ने ?पछि आफ्नोपनि छोराछोरी जन्मेलान् पढाई लेखाई गर्नुपर्ला । त्यो बेला पुर्परोमा हात राखेर पछुताउनु भन्दा अहिले नै केहि न केहि त गर्नैपर्यो ”
सबैले हो मा हो मिलाउँछन् । साथीहरुको कुरालाई बिचमा काट्दै कुराकानीलाई छोट्याउँदै बिमलले मानबहादुरतिर हेरेर भन्छ ।
बिमल—“भाउज्यु र छोराछोरीलाई सञ्चै छ त माने ?भाउज्यु के भन्थि त ?गाउँतिर सबैलाई सञ्चै छ ?
मानबहादुर— सबै सञ्चै छन् दाई । (अनि झोलाभित्रबाट केहि कोसेली निकालेर बिमललाई दिन्छ) ल भाउज्युले पठाएको कोसेली । तपाईँको ठूलो छोरा ईन्द्रले हिजो साँझ मलाई पुर्याउन आएको……बुबालाई लगेर दिनुस् है काका भन्थ्यो । ” बिमलले आफ्नी श्रीमतीले पठाएको नासो मायाले सुम्सुम्याउँछ अनि दराज खोलेर राख्छ ।
बिमल—“रातको एघार बजिसकेछ यार अब खानपान तिर लागौं,दाईको कोठामा के खानु छ र ? दाल भात बाहेक केहि बनाएको छैन । तिमीहरुलाई खाना बसाल्छु । मसुरको दाल पकाईराखेको छ । गोलभेंडाको चट्नीसँग आज चलाउनु पर्लाजस्तो छ भाई हो ।”
मानबहादुर—“हुन्छ हुन्छ जे छ त्यहिमा निर्वाह गरौंला पिर नगर्नुस् दाई ! परदेशको ठाउँमा यस्तै हो । मानबहादुरले ढाढस दिँदै भन्छ ।”
         बिमलले एक हातले चुरोट तान्दै आफूलाई पकाएको खाना निकालेर सिल्भरको डेक्चीमा खन्याउँछ । फेरि चामल भिजाएर प्रेसर कुकरमा बसाल्छ । मसुरको दालमा पानी थप्छ । ४ वटा टमाटर ग्याँसको आगोमा पोलेर त्यसमा अलिकति हरियो धनिया,खुसार्नी,नुन मिलाएर ढुंगाको सिलौटोमा मजाले पिस्छ । अब बेलुकाको खाना तयार हुन्छ । अरुहरुले पानी सार्ने थाल कचौरा पखालेर सघाउँछन् । सबैले बाँडिचुँडी बिमलको कोठामा खाना खान्छन् । अनि चुरोट सल्काएर पालैपालो पिउँछन् । कोठा चुरोटको धुवाँले कुहिरीमण्डल बन्न पुग्छ । कोहि खोक्न थाल्दछन् । अनि रातको बत्ति निभाएर दुईवटा पलङमा ३,३ जना खप्टिएर सकिनसकी सुत्दछन् । बाँकी नअटाएका ब्यक्तिहरु भुँईमा प्लास्टिकको सुकुल ओछ्याएर पातलो तन्ना ओछ्याउँदै गुनगुन बात मार्दै सुत्दछन् । मच्छरले टोकेर सबैलाई हैरान पारेको छ । कोहि मच्छर धपाउन लाग्दछन् । केहि बेरमा सन्नाटा छाउँछ ……….पुनः घ्यारsssss…….घ्यारssssssss…… घुरेको आवाज मात्र सुनिन्छ ।

 [email protected]

प्रकाशित मिति ,२०७४ साल जेष्ठ २५ गते, बिहीबार काठमाण्डौं

     क्रमश:

प्रतिक्रिया दिनुहोस्