एचआईभी संक्रमितको कथा : यात्रा अझै बाँकी छ
“मानबहादुरको मन केहि हलुँगो भयो ” पssssssरssssss….. सम्म बाबु,आमा,भाई बैनी र गाउँलेले उसलाई हेरिरहेका थिए । आँखाभरि आँसु पार्दै उ लमक लमक अगाडि बढिरहेको थियो । साथमा उ सहितको ७,८ जना साथिभाईको डफ्फा उसको श्रीमती र आफन्तहरु झोला बोकेर बस स्टेशन सम्म पुर्याउन आएका थिए । कच्ची बाटो भिर,पाखा,उकालो ओरालोको कठिन एवं लामो यात्रापछि बल्ल बस स्टेशन आईपुग्यो । मानबहादुरले टिकट काउन्टरबाट आफ्नो लागि एउटा टिकट लियो । साथी भाईले पनि पालैपालो टिकट काटे । केहि बेरपछि बसले बोर्डर वारी मुम्वईको यात्रा तय गर्यो। मानबहादुर लगायत उसका सबै साथीहरू बसमा चढिसकेका थिए । सबैले आफ्ना आफन्तसँग ढोगबेट गरि बिदा लिए । मायाँले पनि मानबहादुरलाई अन्तिम पटक दर्शन गरी । उसका आँखाबाट अविरल रुपमा अश्रुधारा बगिरहेका थिए । पछ्यौरीको फेरले आँसु पु्छ्दै बिदाई गर्न थाली । आफन्त सबैमा रुवाबासी छाउन थाल्यो । एकछिन वातावरण शोकाकुल बन्न पुग्यो । मानबहादुरका आँखापनि थामिएनन् अविरल भेलसरि बग्न थाले ।”
– दीपशिखा शर्मा
सुदुर पश्चिमको सेती अञ्चलस्थित अछाम जिल्ला,जसको क्षेत्रफल १६९२ बर्ग किलोमिटर छ । अछाम जिल्लाको दुर्गम गाउँ सिमान्तकृतहरुको बस्ति भएकोले धेरै समयदेखि यस बस्तिको नाम भुलवाडा रहन गएको छ । भुलवाडा बाट हिंडेर सदरमुकाम मंगलसेन पुग्न करिबन १ घण्टा जति लाग्दछ । जग्गा जमिन निकै थोरै ,त्यहिं माथी राम्रो उब्जनी नहुने जसबाट ५ महिनापनि घर धान्न मुश्किल हुने भएकोले प्रायजसोको दैनिकी ज्याला निमेकमै बित्ने गर्दछ । २५ बर्षे लक्का जवान जसको नाम मानबहादुर छ । पिठ्युँमाथि गह्रुङ्गो भारी बोकेर सदरमुकाम मंगलसेनतिर लम्किरहेको छ । सुटेड बुटेड साहु अघिअघि उ पछिपछि छ । चर्को घाममा छाता ओढेर रवाफी शैलिमा उसको मालिक फटाफट अगाडी बढिरहेछ उसैको सारमा सकिनसकी हिँड्नुपर्ने बाध्यता छ । गह्रुङ्गो भारीले शरिर कचक्कै किचिएको छ ,यत्रतत्र च्यातिएको सर्ट,मैलो हाफपेन्ट,फाटेको टोपी,पसिनाले निथ्रुक्क भिजेको शरिर, कलेंटी परेको ओंठ,फुटेर पटपटी चिरा परेका खुट्टा, देब्रे खुट्टाको चप्पल चुँडिएर नाईलनको डोरीले बाँधिएको,गरिबीले उपहास गरिरहेजस्तो, दयनिय अवस्था । करिब आधा घण्टाको ओरालै ओरालोको पैदल यात्रापछि अलि समथर ठाउँ आईपुग्छ । थकित र क्लान्त शरिर लिएर एकपटक साहुको मुखमा पुलुक्क हेर्दछ । साहुले कुनै प्रतिक्रिया दिँदैन ।
मानबहादुर –“साह्रै गाह्रो भयो हजुर एकछिन भारी बिसाउन पाए हुन्थ्यो कि ?”
साहुले खाउँला झैं गरि मानबहादुरलाई हेर्दछ र भन्छ,
साहु – “अहिल्यैदेखि थकाई लाग्यो भन्छस् भाते ……..अनि सदरमुकाम कहिले पुगेर भरे कतिबेला फर्कन्छस् त माने ? एकछिन पख् ….. नजिकै होटल छ त्यहाँ बसेर चिया पिउने अनि थकाई पनि मर्दछ”
मानबहादुर – “हस् हजुर”,मानबहादुरले सहमतिमा शिर हल्लाउँछ ।
निकै बेर हिँडिसकेपछि बिच बाटोमा एउटा चिया पसल आउँछ । खुईयssss…… सुस्केरा हाल्दै मानेले चिया पसल नजिकैको डिलमा भारी बिसाउँछ । जिउ तन्काउँछ,टोपीले पसिना पुच्छ,पसिना ओवाईसकेपछि सँगैको होटलमा पानी मागेर पिउँछ । केहिबेर दुबै शितलमा बसेर कुराकानी गर्दछन् । एकछिनपछि साहुले चिया अर्डर गर्दछ । चिया पसलेले नब्बे डिग्रीको कोणमा ढल्कँदै चिया लिएर आउँछ । पहिला साहुलाई चिया दिन्छ अनि नमस्कार गर्दछ । चियाको चुस्की लगाउँदै कर्कश स्वरमा साहु चिच्याउँछ,
साहु – “ए माने चिया खा !”
मानबहादुर – “हस् हजुर !”
उ शिर निहुर्याउँदै चियाको गिलास समात्न अगाडी बढ्दछ ।
होटलको साहुले एककप चिया मानबहादुरको अगाडि तेर्स्याउँछ । चिया सँगै साहुले सल्काएर दिएको चुरोटको ठूटो पिउँदै अनौठो तरिकाले मुखबाट धुवाँको मुस्लो निकाल्दै कल्पनामा हराउँछ …….काशः उसलाई पनि सफा लुगा लगाएर मिठो मसिनो खाने,रमाईलो गर्ने,परिवारको काखमा रमाउने ईच्छ्या भने नभएको होईन तर गरिबीको कारण उसले सजाएर राखेका असंख्य सपनाहरु पानिको फोका झैं फुट्दछन् । यस धर्तिमा आँखा देखेपछि उसको बाजे,बाबु सहितको पुस्ता ज्याला मजदुरीले नै गुजारा गरेको पाउँछ । बाबुको बिँडो थामेर आज उ पनि यहि काममा लागेको छ । ज्याला मजदुरीबाट परिवार पाल्नुपर्ने बाध्यता छ । काम नगरे मुखमा माड लाग्दैन । बाबु,आमा, भाई बैनी श्रीमती र उ सहित ६ जनाको परिवार, जेथा जमिन थोरै छ । बर्षभरि गधाझैं जोतिँदापनि ६ महिना मुश्किलले खान पुग्दछ । दुःख गरेर भित्र्याएको अन्नपात रित्तिन थालेपछि गाउँबाट साहुको भरिया बनेर सदरमुकाम ओर्ली पसिनाले पैसा साटेर बेलुकी दाल,चामल,किनेर साँझ घर उकालो लाग्नुपर्ने उसको नियमित दिनचर्या नै बनिसकेको छ । ज्याला मजदुरी को अतिरिक्त अरु बिकल्प छैन ।
ज्याला निमेकबाट मात्र चाडवाड को बेलामा मीठो मसिनो खान र परिवारको फरिया चोली फेरिदिन धौ धौ पर्दै जान थालेपछि गाउँका सबैजसो युवाहरु रोजगारको लागि बोर्डर पारिको शहर मुम्वई हान्निन बिवश हुन्छन् । पुस्तौं पुस्तादेखि गरिबीको चरम मारबाट गुज्रिरहेको उसको गाउँको रोजगारको एकमात्र केन्द्रबिन्दु बोर्डर पारिको शहर मुम्बई नै हो । आकर्षक गन्तब्यस्थल बनेको सपनाको शहर मुम्बईमा हजारौं नेपालीहरु आफ्नो परिवारको सुखद भविष्य बोेकेर परदेशिईरहेका हुन्छन् । यसबाट मानबहादुर पनि अछुतो रहन सकेन । सबैजना परदेश गएर पैसा कमाउँदै परिवारलाई पठाउँदै गर्न थालेपछि मानबहादुरको मनमा पनि बिदेश गएर धेरै धन कमाई परिवारको सपना पुरागर्ने ईच्छ्या जाग्न थाल्दछ । एकदिन खाईपिई सकेर साँझ खोपिमा (कोठा)उसले आफ्नी श्रीमतीसँग सल्लाह गर्न थाल्दछ ।
मानबहादुर – “मायाँ कति दिन साहुको भारी बोकेर गुजारा गर्ने ? म पनि साथिहरुसँगैं बिदेश जान्छु तिमी बाबु आमा सम्हालेर बस”
मानबहादुरको कुरा सुनेर मायाँ झस्की,उ लोग्नेको बिस्तरा मिलाउँदै थिई,सिरकमा खोल लगाउँदै मानबहादुरतिर फर्केर भन्न थाली,
मायाँ – “आज तपाँईलाई एक्कासी के भो हँ ?कसले बुद्धि भुटिदियो ?घरमा सधैं घोटिँदापनि एकछाक हातमुख जोर्न धौ धौ छ । परदेशमा गएर झन् के हालत होला ? जे जसो भएपनि यहाँ त म साथमा छु ,सकेको गरेको छु दुख सुख चलेको छ । परिवार सँगै बस्न पाईएको छ । देश छोडेर जाने कुरा नगर्नु होला है ?”
मानबहादुर– “त्यसो नभन मायाँ ! उमेर छँदा केहि गर्न सकिएन भने भविष्यमा दुख पाईन्छ । केहि त गर्नु नै प¥यो …..परिवार ठूलो छ पाखुरी बजारेर खान पुग्दैन । तिमी पनि त दोजियाकी छ्यौ दिनदिनै काम गर्न सक्दिनौ । हेरचाह गर्ने बेला आईसक्यो । भोली छोराछोरी होलान् ……उनिहरुको भविष्यको लागि पनि त हामिले केहि सोच्नु पर्दछ । हेर अब हामिले अब भोलिको लागि सोच्ने बेला आईसक्यो । कति दिन यसरी हात बाँधेर बस्ने ? बिदेशमा गएर कमाएर पठाउन सकेंभने अलिकति भएपनि राहत हुनेथियो कि ?”
मायाँ– “ जहाँ गएपनि त्यस्तै हो, “बर्मा गएपनि कर्मसँगै” भन्छन् ,तगदीरमा जे लेखेको छ त्यो मेटिंदैन,तसर्थ यहीँ बसेर बरु केहि गरौंला,आम्दानी बढाउन बाख्रा पाठा पालौंला,तरकारी खेती गरौंला,गाई भैंसी पालौंला,दुध बेचौंला, तरपनि बिदेश जाने कुरा नगर्नु है ?”
मानबहादुर –“सबै साथिभाई जान लागेका छन् म पनि उनिहरुसँगै जाने हो । नत्र यत्रो आहाल मैले कसरी धान्ने मायाँ तिमी हाँफै भन त ?….मेरा लुगाफाटा धोईदिनु पर्सिको साईत छ । मलाई खुशी मनले बिदाई गर प्यारी ! तिम्रो लोग्नेले पक्कैपनि बिदेश गएर केहि न केहि गर्ला ! दुःखका दिन बिस्तारै हट्दै जाला सास छउञ्जेल आश गर्नु भन्छन् हिम्मत हार्न हुन्न है ?
अभाव र गरिबी ले थकित र शिथिल मायाँ आश्चर्यचकित भावले एकोहोरो मानबहादुरलाई हेर्छे । मानबहादुरको भनाईले मायाँको आदर्शलाई क्षणभरमै परिवर्तित गरिदिन्छ । किनकी मानबहादुरले आजसम्म परदेश जाने जीकिर गरेको थिएन । येनकेन जीविका चल्दै आएको उसको परिवारमा एक्कासी मानबहादुरको मन परिवर्तन भएको देख्दा अबभने उसको घैंटामा घाम लागेजस्तो महशुस हुन्छ ।
मायाँ– “उसो त तपाँईले भनेको एक हदसम्म त ठिकै हो……….. म के भनु ? बाबु दमको रोगी छन् ,आमा बाथले थलिएकी छन् । उनिहरुको ईलाज गर्ने पैसा छैन नजानु कसरी भनु ? जानु पनि कसरी भनुँ ?”
मानबहादुर – “त्यही भएर त परदेश जान लागेको नि प्यारी ! दश नँग्री खियाउँदापनि पेटभर खान पुग्दैन,साहुको भारी बोक्नुपर्ने बाध्यता छ लाउँ लाउँ र खाउँ खाउँको उमेरमा परदेश जाने मेरो पनि रहर होईन बाध्यता हो एक पेट खान र एकहर लाउनको लागि कतिन्जेल स्वदेशमै तड्पेर बाँच्ने ? तिमी आँफै भन मायाँ ?चाडवाडमा सबैले मिठो मसिनो खाँदा राम्रो राम्रो लगाउँदा तिम्रो मन रुँदैन र ?
मायाँ –“त्यो त हो…….. यो जवानी…. यी रहर र चाहनाहरु माटोमा मिलाएर सँधै भाग्यलाई धिक्कार्दै खुनको आँसु बगाएर बाँच्न मलाईपनि कुनै रहर छैन । आज सन्तान छैन, एक जिउ पाल्दा त यो हाल छ भोलि सन्तान होला,लालन पालन गर्नुपर्ला,शिक्षादिक्षा दिनुपर्ला त्यो बेला अलिकति पनि सञ्चीत रकम हुन सकेन भने छोरा छोरीले दुख पाउँछन् । तसर्थ आफूले त दुख पाईयो पाईयो । हाम्रो कारण किन छोराछोरीलाई पनि दुख दिने ?केहि हुन्छ भने ठिकै छ नि त म घर सम्हालेर बस्छु तपाँई बिदेश जानुहोस् ……समय समयमा चिट्ठीपत्र पनि पठाउँदै गर्नुहोला । केहि महिनापछि सन्तान पनि जन्मदैछ । छ महिना लागिसक्यो । तपाईँले भनेको पनि ठिकै हो……उसको बारेमा पनि अब सोच्नुपर्छ हामिले”
मानबहादुर – “बाबु आमाको राम्रो सेवा गर्नु,हामी दुई बिचको मायाँको चिनोको को उचित रेखदेख गर्नु रुखो सुखो जे जस्तो भएतापनि पेटभर खानु मेरो चिन्ता नलिनु कमाएर पठाउँला समय मिलाएर बेला बेलामा घर आउँला ”
(आफ्नी श्रीमतीको यस्तो चित्तबुझ्दो करा सुनेर मानबहादुरलाई भित्रभित्रै निकै गर्व लागेर आँउछ । साथमा मायापनि लागेर आँउछ । उ मायाँको केशरासी सुम्सम्याउँदै रातको बत्तीको पहेँलो उज्यालोमा मायाँलाई अंकमाल गर्न पुग्छ साथै उसको ललाटमा चुम्वन गर्छ । मायाँ छ्या के सारो पात्तेको हो तपाईँ त ! भन्दै बत्ती निभाउन जान्छे । दुबै बिस्तारामा पल्टिछन् । बाहिर निष्पट्ट अन्धकार छ……..सन्नाटालाई चिर्दै पर…..एकहुल स्यालहरु हुँईया……हुँईया……. गर्दै जंगलतिर बढ्दछन् । स्यालको बथानलाई लखेट्न एकहुल भुस्याहा कुकुरहरु भुकेको आवाज टड्कारै सुनिन्छ । केहिछिनपछि पुनःसन्नाटा छाउँछ । मध्यरातमा किराहरुको किरकिर……किरकिर आवाज गुन्जिरहन्छ ……रातभर मायाँ र मानबहादुर एक आपसमा दुख सुखका बातमार्दै निदाउँछन् )
भोलिपल्ट उज्यालो हुनासाथ मायाँले आफ्नो लोग्नेको अर्धाना लुगाफाटा तातो पानिमा पकाएर साबुन लगाएर माडीमाडी धोईधाई गरिदिई । चर्को घाममा लगेर सुकाई । मायाँको मेहनतले लुगा निकै सफा देखिए । मानबहादुरले पल्लो घरको माईलो दाईलाई भनेर कति महिना अघिदेखि नकाटेको दाह्री कपाल काट्यो,गाउँबाट नेलकटर मागेर नङ काटेर सफा बनायो । नुहाई धुवाई गरिसकेपछि उसको शरिरमा अनौठो परिवर्तन देखियो । “कोरीबाटी गण्याई राम्री” भनेझैं अब उ एउटा लक्का जवानको रुपमा देखिएको थियो । ज्याला निमेक गरेर ल्याएको खाना पस्किएर मायाँले मानबहादुरको अगाडि राखिदिई । चुपचाप खाना खायो अनि मुम्बई जानको लागि २,४ पैसाको ब्यवस्था गर्न गाउँतिर लाग्यो । पिँढिमा बुढा भएका बाबु टुक्रक्क बसेर लगातार खोक्दै थिए । आमा लमतन्न परेर सुकुलमा पल्टिरहेकी थिईन् । भाई बैनी आ–आफ्नो काममा लागेका थिए । घरको जेठोबाठो भनेकै उ थियो । सबै ब्यवाहार उसको काँधमा थियो । आमा थला परेपछि सघाउन मानबहादुरले नजिकैको गाउँबाट मायाँसँग भागी बिवाह गरेको थियो । हर दिन हर रात उसलाई बाबु आमाको चिन्ता थियो । आर्थिक अभावको कारण राम्रो हस्पिटलमा लगेर उसले उनिहरुको सहि ईलाज गर्न सकेको थिएन । यी सबै समस्याहरुको एकमात्र समाधान मुम्बईको जागिर उसको आँखा वरिपरि आउन थाल्यो । अन्ततः मानबहादुरले मुम्बई जाने नै निधो गर्यो ।
भोलिपल्ट मायाँले पुजा थालिमा फुल र रातो अक्षता भिजाएर बुढा बाबु आमाको नजिक राखिदिई । जेठो बाठो छोरो परदेशिन लागेको देख्दा बुढा बाबु आमाका आँखा रसाए तैपनि मनलाई बाँध्दै छोरालाई साईतको टिका लगाईदिए ।
“धेरै धन कमाएर फर्केस् है बाबु ?”भनि आशिर्वाद दिए । मानबहादुरले बाबु आमाको खुट्टामा ढोग्यो ,आमाको हातमा म्वाँई खायो,अनि वाई वाईका हातहरु हल्लाउँदै घरबाट बिदा भयो ।
“छिट्टै घर फर्किनु है दाई ?” आँखाभरी आँसुपार्दै बहिनी भन्दै थिई………..
“नानी ! पिर नगरेस् म छिट्टै घर आउँछु…..यसपालिको तिहारमा तेरो हात रित्तो हुन दिने छैन राम्रोसँग घरको हेरचाह गर्नु”मानबहादुरले अर्थ्यायो ।
यति भन्दै के अगाडि बढेको थियो दगुर्दै भाई आएर गहभरी आँसु झार्दै अँगालो हाल्न थाल्यो,
“ दाई ! बेला बेलामा फोन गर्दै गर्नु घरको चिन्ता नलिनु म सम्हाल्छु ……..”
मान बहादुरको आँखाबाट एक्कासि अविरल रुपमा अश्रुधारा बग्न थाले, भाईको कपाल मुसार्दै केहिछिन छातिमा बेस्सरी टाँस्यो अनि सम्झायो,
“बाबु आमा र भाउजुको ख्याल गरेस् है कान्छा ?भाउजु दोजियाकि छ बिचार गरेस्”
भाईले ढाढस दिँदै भन्यो,
“हुन्छ दाई ! तपाईँले भाउजुको पिर नगर्नु ढुक्क भएर जानु”
मानबहादुरको मन केहि हलुँगो भयो ” पssssssरssssss….. सम्म बाबु,आमा,भाई बैनी र गाउँलेले उसलाई हेरिरहेका थिए । आँखाभरि आँसु पार्दै उ लमक लमक अगाडि बढिरहेको थियो । साथमा उ सहितको ७,८ जना साथिभाईको डफ्फा उसको श्रीमती र आफन्तहरु झोला बोकेर बस स्टेशन सम्म पुर्याउन आएका थिए । कच्ची बाटो भिर,पाखा,उकालो ओरालोको कठिन एवं लामो यात्रापछि बल्ल बस स्टेशन आईपुग्यो । मानबहादुरले टिकट काउन्टरबाट आफ्नो लागि एउटा टिकट लियो । साथी भाईले पनि पालैपालो टिकट काटे । केहि बेरपछि बसले बोर्डर वारी मुम्वईको यात्रा तय गर्यो । मानबहादुर लगायत उसका सबै साथीहरू बसमा चढिसकेका थिए । सबैले आफ्ना आफन्तसँग ढोगबेट गरि बिदा लिए । मायाँले पनि मानबहादुरलाई अन्तिम पटक दर्शन गरी । उसका आँखाबाट अविरल रुपमा अश्रुधारा बगिरहेका थिए । पछ्यौरीको फेरले आँसु पु्छ्दै बिदाई गर्न थाली । आफन्त सबैमा रुवाबासी छाउन थाल्यो । एकछिन वातावरण शोकाकुल बन्न पुग्यो । मानबहादुरका आँखापनि थामिएनन् अविरल भेलसरि बग्न थाले । उसले रुमालले आँसु पुछ्न थाल्यो । मायाँ आँसुपुछ्दै रुँदै भन्दै थिई ।
मायाँ—“मुम्वई पुग्नासाथ तुरुन्त फोन गर्नुहोस् है ?”
मानबहादुर — “हुन्छ……… घर राम्रोसँग सम्हालेस् है मायाँ ?”
मायाँ— घरको चिन्ता नगर्नुस् राम्रोसँग काम गर्नुस् म सम्हाल्छु …..मायाँ लोग्नेलाई ढाडस दिँदै थिई ।
अन्ततः बस अगाडि हुँईकिन थाल्यो । परसम्म………..बिदेशिएका युवकहरुले आफन्तलाई बाई……. बाईका हातहरु हल्लाईरहेका थिए । मानबहादुरले पनि मायाँलाई बाई बाई गर्दै ओझेल पर्दै गयो । मायाँले मन थाम्न सकिन उ लमतन्न परेर सडकमा रुन थाली । उ सँगै आएका गाउँलेले मायाँलाई सम्झाँउदै घरतिर लगे ।
हरेक दिन बस स्टेशनमा मुम्बई जाने असंख्य युवाहरुको ओईरो लाग्दछ । मुम्वई प्रस्थान गर्ने हजारौं युवाहरुलाई गाडी चढाउन परिवारजनको पनि बाक्लै उपस्थिती देखिन्छ । साथमा परिवारको भविष्य र सपना मनभरि सजाएर गाउँबाट सदरमुकाम मंगलसेन अनि कैलालीको अत्तरिया,धनगडी गौरीफन्टा हुँदै मुम्बई प्रस्थान गर्ने गर्दछन् भने अर्कोतर्फको बाटो महेन्द्रनगर बाट बनबासा वोर्डर हुँदै दिल्ली ….दिल्ली बाट मुम्बई जान २२ घण्टाको लामो रेलयात्रा पार गर्दै युवाहरु छिमेकी राष्ट्र भारततर्फ प्रस्थान गर्दछन् । देशमा अवसरको कमि,सम्भावनाहरु केहि नभएका कारण असंख्य नेपालीहरु परदेशमा गएर पाखुरी बजार्न विवश छन् । यसबारेमा राज्यले कुनै ठोस रणनीति अगाडि ल्याउन नसक्नु दुर्भाग्यको कुरा हो ।
प्रकाशित मिति ,२०७४ साल जेष्ठ २१ गते शनिबार काठमाण्डौं
क्रमश: