Logo

मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न प्रदान

जेष्ठ १२, २०७४,काठमाण्डौं – बर्तमान सरकारले एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न प्रदान गरेको छ । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति बिध्यादेवी भण्डारीले पदक वितरण गरेकी हुन् । भण्डारीकी छोरी उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीले पिताको ‘नेपाल रत्न’ ग्रहण गरेका थिए ।

        यसका साथै पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त राष्ट्र गौरव पदक प्रदान गरियो । कोइरालाकी बुहारी किरण कोइरालाले यो पदक राष्ट्रपतिबाट ग्रहण गरेकी थिइन् । संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा (मरणोपरान्त), माओवादी नेता पोष्टबहादुर बोगटी (मरणोपरान्त), ऊर्जामन्त्री जनार्दन शर्मा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश बैध्यनाथ उपाध्याय, प्रधानसेनापति रवीन्द्र क्षत्री, मुख्य सचिव सोमलाल सुवेदीले पनि विभूषण पाए ।  

       सरकारी पदक पाउनेमा गृहसचिव लोकदर्शन रेग्मी, पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र अच्युत विष्ट पनि छन् । समारोहमा नेपाल प्रहरीका एसएसपी सर्वेन्द्र खनाल, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, पत्रकार दीपेन्द्र वान्तवा लगायत २ सय ५८ जनाले राष्ट्रपतिबाट पदक प्राप्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्