Logo

गुरुङ फिल्मका हिरो गाउँपालिका प्रमुख

पोखरा, जेष्ठ , ४ २०७४ – वेदबहादुर गुरुङ श्यामको परिचय आम पोखरेलीका लागि फिल्म कलाकार हो। गुरुङ भाषा संस्कृतिमा आधारित थुप्रै फिल्मका हिरो हुन् उनी। भर्खरै उनले अर्काे परिचय पाएका छन्। उनी बनेका छन् गाउँपालिका अध्यक्ष। स्थानीय तहको निर्वाचनमा उनले कास्कीको मादी गाउँपालिकामा विजय प्राप्त गरे।

            फिल्म क्षेत्रमा कमाएको ख्यातिलाई क्यास गरेर मात्रै उनी गाउँपालिकाको उम्मेदवार बनेका होइनन्। फिल्म दर्शकका लागि हिरो वेदबहादुर राजनीतिमा रुचि राख्नेहरुका माझ नेताकै रुपमा चिनिन्थे। नेकपा एमालेको प्रदेश ४ कमिटी सदस्य वेदले फिल्म क्षेत्रमा भन्दा पाइला टेकेको पनि राजनीतिमै हो। ४७ वर्षे यी अध्यक्ष आफ्नो गाउँ नामार्जुङ ताङतिङमा स्कुल पढ्दै राजनीतिमा संलग्न हुन थालेका थिए। ‘आठ कक्षा पढ्दा नै अखिलमा आवद्ध भएको थिएँ’, उनले आफ्नो इतिहासको पाना पल्टाए ।

         स्कुलबाट सुरु भएको उनको राजनीतिक यात्रा पृथ्वीनारायण क्याम्पस हुँदै झ्याङ्गिदै गएको हो। क्याम्पसै पढ्दै उनी अनेरास्ववियुको जिल्ला कमिटी सदस्य भएका थिए। यसबीचमा उनी सधैं पार्टीको कुनै न कुनै कमिटीको जिम्मेवारीमा रहे। पेसागत हिसाबको सक्रियता भने फिल्मतिर रह्यो। २०५२ सालमा उनले पहिलोपटक गुरुङ भाषाको फिल्म न्याम्सोन्योरी (कुहिरोभित्र) मा अभिनय गरेका थिए, त्यतिबेला उनले राजनीति प्रवेश गरेको ५ वर्ष भइसकेको थियो।

               फिल्ममा अभिनयबाट प्रवेश गरेका उनले पछिपछि लेखन र निर्देशन पनि गरे। शोषक सामन्तको विरोध गर्ने र सर्वहाराको हित गर्ने कम्युनिस्ट स्कुलिङका उनले फिल्ममा पनि निर्धा र सोझासादाको पक्ष लिएर सन्देश दिन्थे। स्थानीय तहको निर्वाचन घोषणा हुनुअघिसम्म पनि उनी फिल्ममै व्यस्त थिए। ठेलो फिल्म निर्देशनको तयारीमा जुट्दा जुट्दै उनी चुनावतिर होमिएका हुन्। अहिलेसम्म ८ फिल्म निर्देशन र लेखन गरिसकेका उनी गुरुङ फिल्म एसोसियसन (जिफान)का अध्यक्ष पनि हुन्। तर अहिले पनि उपाध्यक्षलाई कार्यवहाकको जिम्मेवारी दिइसके।

       गाउँ पालिकाको चुनावमा वेदबहादुरले ४ हजार ६ सय ३७ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवीजंग गुरुङले भने १ हजार मत कम ल्याए। फिल्म मार्फत भाषा संस्कृतिको सेवा गरेका वेदबहादुरले अब मादी गाउँपालिकाका बासिन्दाको सेवा गर्नुछ। भन्छन्, ‘गाउँमा पूर्वाधार विकास र संस्कृति संरक्षण सँगसँगै गर्ने लक्ष्य छ।’ गाउँपालिका अध्यक्ष भइसकेको हुँदा अबको ५ वर्ष उनको फिल्मी यात्रा स्थगित हुने भएको छ। ५ वर्षे कार्यकाल सफल बनाउनै उनी केन्द्रित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्