Logo

स्थानिय निर्वाचन : ७३% मत मत खसेको दावी

जेष्ठ १, २०७४- स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कम्तीमा ७३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश ३, ४ र ६ का ३४ जिल्लाका २८१ गाउँपालिका र नगरपालिकाको निर्वाचन केही स्थानमा छिटपुट घटनाबाहेक शान्तिपूर्वक भएको छ । बाँकी दुई स्थान मनाङको नारफु गाउँपालिका र डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाका सबै पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

                 प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदाताको व्यापक सहभागितामा उत्साहजनक ढंगले मतदान भएको बताउनुभएको छ । ‘मतदानमा युवापुस्तादेखि ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले उत्सुकतापूर्वक सहभागिता जनाएका छन्,’ उनले भने, ‘आजको सहभागिताले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका मतदातालाई पनि उत्साहित बनाएको हुनुपर्छ ।’ निर्वाचनका क्रममा दोलखाको मेलुङमा प्रहरीको गोलीबाट एक व्यक्तिको मृत्यु र केही घाइते भएकोमा प्रमुख आयुक्त उहाँले दु:ख ब्यक्त गर्नुभएको छ  । उहाँले स्थगन भएका स्थानमा पुन: मतदानको मिति तोकिने बताउनुभएको छ  । 

                 काभ्रे, रामेछाप, हुम्ला, सिन्धुपाल्चोक र कालिकोटका कतिपय मतदान केन्द्रमा पनि केहीबेर झडप र तनाव भएको थियो । ६,६४२ मतदान केन्द्रमध्ये ३ स्थानको मतदान स्थगन भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका ४ को केन्द्र र कालिकोट कालिका गाउँपालिकाको बालाचौर आधारभूत बिध्यालयस्थित केन्द्रको मतदान विवादमा परेको छ । दोलखाको मेलुङ गाउँपालिकास्थित सत्येश्वर माविको केन्द्रको मतदान पनि स्थगन भएको छ । 

               सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको भोटसिपास्थित चण्डेश्वरी माविस्थित मतदान केन्द्रमा बिहान ११ बजेको तनावपछि मतदान हुन सकेन । दिनभरको प्रयासपछि पनि राजनीतिक दलबीच सहमति जुट्न नसकेपछि मतदान अघि बढ्न सकेन । काभ्रेको नमोबुद्धमा मतदानको अघिल्लो राति गोली लागेर एकजनाको मृत्यु भएको घटनालाई लिएर वडा नं. ४ मा मतदान नै सुरु हुन सकेन । स्थानीयले सशस्त्र प्रहरीको गोलीबाट निर्दोषको हत्या भएको भन्दै दोषी पहिचान गरी कारबाही हुनुपर्ने माग राखेका छन् । पहिलो चरणमा ४ महानगर, १ उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिकामा निर्वाचन भएको छ । प्रदेश नम्बर १, २, ५ र ७ का बाँकी ४६१ गाउँपालिका र नगरपालिकाको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको छ । मतपत्र ठूलो हुनु र मतदाता शिक्षा पर्याप्त दिन नसकेको विषयमा आयोगले कमजोरी स्वीकार गरेको छ । ‘बेलैमा राजनीतिक सहमति कायम नहुँदा उत्पन्न अन्योल र छोटो समयमा गरिएको तयारीप्रति आयोग सन्तोष व्यक्त गर्दछ,’ यादवले भन्नुभयो , ‘व्यापक मात्रामा मतदाता शिक्षा प्रदान गर्न समय कम भएकै हो ।’ 

       पछिल्लो एक दशकमा भएका दुईवटा संविधानसभा निर्वाचनमा पनि करिब–करिब यही अनुपातमा मत खसेको देखिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा ६१.७० र २०७० सालको संविधानसभा निर्वाचनमा ७८.३४ प्रतिशत मत खसेको थियो । मतदाता नामावलीमा नाम रहेका ठूलो संख्याका मतदाता वैदेशिक रोजगारीमा भएको र गाउँमा नामावली रहेर बसोबास काठमाडौं वा अन्यत्र सहरमा रहेकाले पनि केही प्रतिशत मतदाताको सहभागिता कम हुने गर्छ । 

प्रतिक्रिया दिनुहोस्