Logo

आव्हाहान

 – एभरेष्ट सूर्य बोहरा

पारीको  हिमालमाथि मालचरी उड्ने

तल बेंसीमा धान लहलह  भएको ताका

त्यो साल ,

एक पटक तिमीले मलाई सोधेकी थियौ

“राजा कुन फूल बनेर फुलुँ म ?”

मलाई राम्रो याद छैन,

मैले के भनें !

” सुनगाभा बने हुन्छ  नि  !”

मैले भनें क्यारे शायद ,अन्जानमै

हुन पनि हो,

सुनेको थिएँ त्यतिबेला,

सुनगाभाहरु महंगा हुन्छन भन्ने

सुनगाभाले जति मायाँ अरु कसैले पाउन्न रे  !

अति सुखी हुन्छन सुनगाभाहरु,

खै के के …

म त सिर्फ तिमी खुशी  र सुखी भएको देख्न चाहन्थे  …

पछि त ,

तिमी साँच्चै नै सुनगाभा भएर

खोला छेउको उत्तिस को हाँगाभरि फुलेको सुने ।

‘उत्तिस रुख ‘ कम्जोर हुन्छ

कत्ति भरोसा हुन्न आँधीबेहरीमा

गएर भनुँकि जस्तो लागेको पनि थियो ..

तर भनिन, पराधीन भएर  रहने

त्यो नै तिम्रो निर्णय थियो क्यारे !!

तिमीलाई दुखाउन  पनि चाहिन

पछि धेरैपछि ,

डुल्दै घुम्दै कसैको घरमा पुगेँ ..

तिमिलाई फेरी गमलामा देखेर

आश्चर्य चकित भएँ !

तिमी रंगीचंगी थरिथरिका फूलहरुसंगै

शोकेसमा सजिएर मुस्कुराउँदै बसेकी थियौ l

पोखिएको थियो तिम्रो सौन्दर्य

आलिशान बंगलाको ‘लिविंग रूम’ भरी ।

‘ लिली ‘ हो की ‘रोजमेरी ‘ के हुँ भन्यौ त्यतिखेर

त्यति बेला पनि म केहि बोलिन ।

त्यो नै तिम्रो रहर थियो क्यारे !!

ओहो कस्तो दुखेको त्यतिबेला  …..!

सत्य हो,

त्यति खेर थाहा छैन के के भयो

मेरो मन दुखेर आयो ।

तिमी बेहिचक फुलेको देखेर

छाती ढक्क फुलेर आयो मेरो

आँखा रसाए आफैं

बाध्यता,रहर या के ले हो?

तिमि नै जान

बहुरुपी फुल  भईछेउ  ,अफसोच  !

तिमि त हरेक पटक परजीबी पो रहिछेउ  … !!

भन्छन नि पृथ्बी गोलो छ रे  ..

अचम्म  !

नसोचेकै कुरा भयो  फेरी ..

हो , फेरी फेरी भेट भयो हाम्रो ।

‘मनी प्लान्ट ‘भएर दंग देखें यसपाली चाहिं ।

तिम्रो उही चिर परिचित मधुर मुस्कान

तिमीभरि थियो , मुस्कुराएछु ।

समिप गएर पो देंखे,

तिमि त ‘जाली’ भित्र  रहिछेउ , बिडम्बना

अचम्म ! तिमी यहाँपनि  ‘ परआश्रित’ नै रहिछेउ !!

भैगो ! छोड अतित …

तिम्रो भाग्यको लेखा जोखा गर्न चाहन्न म अब …

मेरो नियतीको हिसाब किताब पनि गर्न चाहन्न  ।

फर्कौं  , त्यहि  हिमाल पारिको शैलुंगेमा

जहाँ शुरु भएको थियो यात्रा हाम्रो …।

तर ,सुनगाभा नहुनु कम्जोर उत्तिसको काखमा फुल्ने

लिली र रोजमेरी पनि  नहोउ कसैको रहर पुर्याउने

मनीप्लान्ट नहोउ बिन्ती कसैको  सपना सजाउने     !

अब ! हिम्मत गर ! 

तिमी ‘ गुराँस ‘ भएर फुल्नुपर्छ अब पाखाभरी

यसपाली  तिमी छाउनुपर्छ हिमालको  आँखाभरी  !

म संगै सल्लो भएर सुसाउछु यसपटक फेरी !!

आऊ , प्रतिज्ञा गरौं  !

संगै उभिएर  एउटा नौलो जिन्दगी शुरुगर्ने

संगै  संगै जोडिएर जुनीजुनी बाँच्ने ….  !!

हिंड , फर्कौ त्यहि  हिमाल पारिको शैलुंगेमा  …

 हाल,अमेरिका

12 April/ 17

प्रतिक्रिया दिनुहोस्