अन्तर्राष्ट्रिय कविता दिवस २०१८ विशेष – कविता ‘आस्था’
– डा. बच्चु कैलाश कैनी
मनमा कोरिएका
आस्थाका रंगहरु
स्वत: स्फूर्त रूपमा
एउटा आकृति बनेर
कहिले स्थायी रूपमा बस्छन्
मनलाई दरिलो पार्छन्
कहिले नडगमगाई
कहिले बिचलित नभई
आफ्नो आस्थालाई विश्वास गर्छन्
ढुङ्गालाई मूर्ती सम्झेर पूजा गर्छन्
अरूलाई आफ्नो सम्झेर माया गर्छन्
कुनै दुख नमानी अविरल यात्रा गर्छन्
आस्थाको दियो बालेर
दिनभरि भोकै बसेर बर माग्छन्
आफ्नो आस्थाको प्रतिमुर्तिलाई
सधैँ सधैँ आफ्नै ठान्छन्
र, पूजा गर्छन् ।
त्यही आस्थाहरू
तिम्रो, मेरो र हाम्रो मनमा
कहिले अस्थायी छाप छोडेर
मनलाई तहस नहस पार्दै
यता उता विचलित पार्छन्
कसैको लागि रुवाई बन्छन्
कसैको लागि दुख बन्छन्
पीडा र आँसुको डोब छोडेर
आस्थाका खम्बाहरू
कहिले बालुवाको बन्छन्
कहिले त्यही बालुवामा सिमेन्ट घोलेर
त्यसैमा ईट्टा वा ढुङ्गा थपेर
आफूलाई दह्रो खम्बाको रूपमा स्थायी बनाउँछन्
आस्थाका खम्बाहरू
कहिले ढल्छन्
कहिले उठ्छन्
कहिले बन्छन्
कहिले भत्कन्छन्
र विभिन्न रूपमा
कहिले यता कहिले उता ढल्कीन्छन्
कहिले परिवर्तनको सम्बाहक बन्छन्
कहिले अस्थिरताको श्रोत बन्छन्
कहिले मनमा दह्रो डेरा जमाउँछन्
कहिले मनलाई नै अस्थिर बनाउँछन्
यस्तै हो यहाँ
आस्थाका बिउहरू कहिले रोपिन्छन्
कहिले टुसा पलाउन नपाउँदै उखेलिन्छन्
कहिले त्यत्तिकै मर्छन्
कहिले हुर्कन्छन, बढ्छन् र फल दिन्छन्
हामीले जस्तो बिउ रोप्यो त्यस्तै फल दिन्छन्
हामीले जे सोच्यो त्यस्तै परिणाम दिन्छन्
आस्था मन हो
आस्था दृढ विश्वास हो
त्यसैले आस्था तपाईँ हाम्रो आफ्नै कुरा हो ।
आस्था तपस्या हो
आस्था विभाजन हो
आस्था पूजा हो
आस्था मन्दिर जाने आधार हो
आस्था मनको बिउ हो
आस्था जीवनको भरोसा हो
धर्म वा राजनीतिको नाउँमा
बिचार वा सोचको नाउँमा
तिमीलाई उता र मलाई यता पर्ने
मनको कित्ता काट्ने
आस्था विभाजनकारी पनि हो
तर अर्कोतर्फ
तिमीलाई र मलाई एकै ठाउँमा उभ्याउने
सबैको साझा फूलबारी बनाउने
मनलाई मनसँग जोड्ने
तिमीलाई र मलाई एकै बनाउने
आस्था मिलनको बिन्दु हो
आस्था एकिकरणको बिउ हो
आस्था जे मान्यो जस्तो सोच्यो
त्यस्तै हुने तिम्रो हाम्रो मनको कुरा हो ।
हाल ,डार्टफोर्ड, बेलायत
प्रकाशित मिति, २०७४ साल चैत्र ७ गते बुधबार