Logo

फोर्ब्सले सार्वजनिक गर्यो अर्बपतिको सूची

३० वर्षमुनिका अर्बपति एकैठाउँमा

न्यू जर्सी अमेरिका- फोर्ब्सले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वका सबैभन्दा धनीहरूको औसत आयु ६५ वर्ष छ, जसमा सबैभन्दा धेरै उमेरका धनी व्यक्ति हुन् जर्ज जोसेफ । उनको उमेर १०१ वर्ष छ । यद्यपि उमेर धेरै हुनुलाई धनी हुनका लागि चाहिने मापदण्ड मान्नचाहिँ मिल्दैन । विश्वभर यस्ता १५ जना छन्, जसको उमेर ३० वर्षभन्दा कम छ र विश्वको अर्बपतिको सूचीमा पर्न सफल भएका छन् ।

यिनमा पनि सबैभन्दा कम उमेरका अर्बपति हुन् इटालीका क्लेमेन्ते डेल वेचियो र दक्षिण कोरियाका किम जंग युन । उनीहरूको उमेर २० वर्षको हाराहारीमा छ । फोर्ब्सले हालै विश्वका सबैभन्दा धनी व्यक्तिहरूको सूची प्रकाशित गरेको हो, जसमा यी १५ कान्छा अर्बपति समेटिएका छन् । उनीहरूमध्ये ११ जनाले पारिवारिक विरासतका रूपमा सम्पत्ति प्राप्त गरेका हुन् भने ४ जनाले आफ्नै बलबुतामा कमाएको फोर्ब्सले जनाएको छ ।

बेलायतका ३० वर्षीय बेन फ्रान्सिस कान्छा अर्बपतिमध्ये एक हुन् । उनले १९ वर्षको उमेरमा नै खेलकुद, व्यायाममा प्रयोग हुने लुगा बनाउने कम्पनी जिमसार्क स्थापना गरेका थिए । त्यतिबेला उनी कलेजमा पढ्दै पनि थिए । साथै, डेलिभरी ब्वाईका रूपमा आफ्नो खर्च जोहो गर्थे । जिमसार्कले सन् २०२१ मा बिक्रीबाट ५ सय मिलियन डलरभन्दा बढीको कारोबार गरेको थियो । उनको सम्पत्ति १.२ बिलियन डलर छ ।

३० वर्षीय पाल्मर लक्की अर्का कान्छा अर्बपति हुन् । अमेरिकी नागरिक पाल्मरको सम्पत्ति १.७ बिलियन डलर छ । उनले भीआर हेडसेट बनाउने कम्पनी ओकुलस स्थापना गरेका थिए, जसलाई उनले सन् २०१४ मा २ बिलियन डलरमा फेसबुकलाई बिक्री गरे । त्यसपछि उनले हतियार बनाउने कम्पनी एन्ड्युरिल स्थापना गरेका छन्, जसको उद्देश्य अमेरिकी रक्षा विभाग डीओडीका लागि ड्रोन निर्माण गर्नु हो ।

अस्ट्रियाका ३० वर्षीय मार्क मात्सिट्जको सम्पत्ति ३४.७ बिलियन डलर छ । गत अक्टोबरमा उनका पिता तथा रेडबुलका सहसंस्थापक डायट्रिचको मृत्युपछि उनले रेडबुलको ४९ प्रतिशत सेयर पाएका थिए । लगत्तै सेयर होल्डरका रूपमा आफ्नो ध्यान केन्द्रित गर्न उनले कम्पनीको अर्गानिक्स प्रमुखको पदबाट राजीनामा दिएका थिए ।

चेक गणराज्यका माइकल स्ट्रनाडको उमेर ३० वर्ष मात्र छ, उनको सम्पत्ति २ बिलियन डलर पुगेको छ । उनको चेकोस्लोभाक ग्रुप युक्रेनी सेनालाई गोलीबारुद, उपकरण र तोपको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । उनले यो व्यवसाय विरासतमा पाएका हुन् ।

नर्वेका २९ वर्षीय गुस्ताभ म्याग्नर विट्जोको सम्पत्ति २.७ बिलियन डलर छ । उनलाई यो सम्पत्ति आफ्नो पिता गुस्ताभ विट्जोबाट प्राप्त भएको हो । उनी आफ्नो पिताको कम्पनी साल्मार एएसएका आधा सम्पत्तिको मालिक हुन् । तर त्यस कम्पनीमा उनको कार्यकारी भूमिका छैन । उनले रियलइस्टेट र टेक स्टार्टअपमा पनि लगानी गर्दै आएका छन् ।

रायन ब्रेस्लो भर्खर २८ वर्षका भए, उनी १.१ बिलियन डलरका मालिक हुन् । उनको कमाइको मुख्य स्रोत हो, इ–कमर्स । अमेरिकी नागरिक ब्रेस्लो क्यालिफोर्नियास्थित स्ट्यान्डफोर्ड विश्वविद्यालयका ‘ड्रपआउट’ हुन् । उनले चार वर्षको अन्तरालमा तीनवटा स्टार्टअप सुरुवात गरेका छन् । जसमध्ये बोल्टबाट उनले प्रसिद्धीका साथै कमाइ पनि गरे । बोल्ट अनलाइन चेकआउट प्लेटफर्म हो, जसले उपभोक्तालाई ब्रान्डमा ध्यान केन्द्रित गर्न सघाउँछ । उनका अन्य कम्पनी इको र लभ हुन्, जुन २०२२ सुरु भएका थिए ।

इटालीका २७ वर्षीय लियोनार्दो मारिया डेल वेचियोको सम्पत्ति ३.५ बिलियन डलर छ । उनले यो सम्पत्ति आफ्नो पिताबाट पाएका हुन् । उनी सनग्लासेससम्बन्धी कम्पनीका प्रमुख लियोनार्डो डेल वेचियोका सन्तान एक हुन् । जुन २०२२ मा मृत्यु हुनुअघि लियोनार्दो इटालीका दोस्रो धनी व्यक्ति थिए । मृत्युपछि उनको कम्पनीको १२.५ प्रतिशत हिस्सा उनको श्रीमती र सन्तानलाई बाँडिएको थियो ।

कान्छा अर्बपतिको सूचीमा परेकी २७ वर्षीया क्याथरिना एन्डरसन नर्वेकी बासिन्दा हुन् । उनको १.५ बिलियन डलरको सम्पत्तिको स्रोत विरासत नै हो । क्याथरिना र उनी बहिनी अलेक्जेन्ड्रा नर्वेको प्रसिद्ध होल्डिङ कम्पनी फर्डको छैटौं पुस्ता हुन् । उनका पिता जोहानको उक्त कम्पनीमा ४ बिलियन डलर लगानी छ । क्याथरिना भने ओस्लोस्थित निर्माण कम्पनीको कर्मचारी हुन् ।

चीनका २६ वर्षीय वाङ चेलोङ अर्का कान्छा अर्बपति हुन् । उनको सम्पत्ति १.४ बिलियन डलर छ । उनको सम्पत्तिको स्रोत सेयर हो । चिनियाँ सेयर बजार सेन्जेनमा सूचीकृत कम्पनी सीएनएनसी हुवा युआन टाइटेनियम डाइअक्साइडमा उनको लगानी छ । यो कम्पनीले रङ र कागजमा सेतो देखिन आवश्यक पर्ने पदार्थको उत्पादन गर्छ ।

नर्वेकी २६ वर्षीया अलेक्जेन्ड्रा एन्डरसन अर्की अर्बपति क्याथरिनाकी बहिनी हुन् । नर्वेको होल्डिङ कम्पनी फर्डमा अलेक्जेन्ड्रा र क्याथरिनाको ४२–४२ प्रतिशत लगानी छ । अलेक्जेन्ड्राको सम्पत्ति १.५ बिलियन डलर छ । उनी जुनियर नर्वेजिएन ड्रेसेज राइडिङ (घोडचडी) प्रतियोगिताकी तीन पटक विजेता पनि हुन् । उनी घोडाको प्रजनन र प्रशिक्षण केन्द्र पनि सञ्चालन गर्छिन् ।

इटालीका लुका डेल वेचियो मात्र २१ वर्षका छन्, उनको सम्पत्ति ३.५ बिलियन डलर छ । उनी इटालीका दोस्रो धनी लियोनार्दो डेल वेचियोको सन्तान हुन् । उनले आफ्नो पिताबाट सम्पत्ति प्राप्त गरेका हुन् ।

दक्षिण कोरियाका किम जङ मिन २१ वर्षका भए । उनको सम्पत्ति १.७ बिलियन डलर छ । पिताको अनलाइन गेमिङ नेक्सोनको कमाइ उनले विरासतमा प्राप्त गरेका हुन् । फेब्रुअरी २०२२ मा उनको पिता किम जंग जुको मृत्युपछि मिन र उनको बहिनी किम जङ युनलाई परिवारको सम्पत्तिको एक तिहाइ हिस्सा प्राप्त भएको थियो ।

जर्मनीका २० वर्षीय केभिन डेविड लेहम्यानको सम्पत्ति २.३ बिलियन डलर छ । उनले १४ वर्षको उमेरमा नै आफ्नो पिताको औषधि व्यवसायको ५० प्रतिशत प्राप्त गरेका थिए ।

यद्यपि, १४ बिलियन डलरको उक्त कम्पनीमा लेहम्यान र उनका पिता सक्रिय छैनन् । दक्षिण कोरियाकी १९ वर्षीय किम जङ युनले पनि आफ्नो पिताको विरासतमा सम्पत्ति पाएकी हुन् । उनको सम्पत्ति १.७ बिलियन छ । पिता किम जङ जुको मृत्युपछि उनले यो सम्पत्ति पाएकी हुन् ।इटालीका १८ वर्षीय क्लेमेन्ते डेल वेचियोको सम्पत्ति ३.५ बिलियन डलर छ । उनका पिता लियोनार्दो डेल वेचियोको निधनपछि उनले विरासतमा सम्पत्ति पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्