कविता : वर्षदिनको दशैं र दिवंगत खुशीहरु
– ©गणेश खड्का
मनले रहरभरी अँगालेका र सपनाभरी सँगालेका
खुशीका दस्ताबेजहरू च्यापेर
एक मुट्ठी ‘दसैँ’ सुख भोग्नका निम्ति
जीवनहरु एक साल मरिहत्ते गर्छन् ।
दशैं,वर्ष दिनपछि एकफेर छेउमै आउँछ
र भोका पेटहरुलाई हाउगुजी देखाएर भाग्छ
एक पसार ‘दशैं’ खुशी हाँस्नका खातिर
मनहरू एक बर्खा झरी रुझ्छन्
फेरी दशैं नाङ्गा आङहरुमा काउकुती लाउँदै
खितिती… खितिती … हाँस्छ र तर्किन्छ ।
दशैं घडीको सूई झैँ एक फन्को मारेर पुन: पदार्पण गर्छ
एक अन्जुली ‘दशैं’ रौस मान्नका लागि
ज्यानहरु एक हिउँद ठिही कटाउँछन्
दशैं खाली शिरहरुमा रिनको भारी बोकाएर
संस्कृतिको तमसुक गरिदिन्छ
र, सुईँकुच्चा ठोक्छ एक वर्षको बाटोमा ।
दशैंका पूर्वसन्ध्याहरु, कहिले भुईँचालोले खर्लप्पै खाइदिन्छ
फेरी कहिले बाढी/पहिरोले सर्लक्कै निलिदिन्छ
अनि धड्किन्छन् मुटुहरु अधिकतम् रेक्टरस्केलभन्दा बढी
घर लिपपोत गर्ने र बाटाघाटा सिंगार्ने उमङ्गहरु
दशैं आउनुपूर्व नै शोकाकुल बन्दछन्
लामाटारले आफ्नो पिठ्युँमा विमान जाक्दा
र सुनकोशीले गाम-बेंसीको छातीमा मनपरी खेल्दा
दुर्घटनामा दिवङ्गत आफन्त मनहरुको क्षतिमा ।
दशैंको छेकमा, निमुखा रहरहरु स्वर्गिय हुँदाछन् छरपस्ट
रेगिस्तान र मुग्लानमा दिवङ्गत खुशीहरु
मलाया र लाहुरमा पुगेर भक्कानिन्छन्
अभावको ढाड सेक्दै बाध्यताका खकन तोक्माहरु
धराने नुन/तेलसँगै अक्करको भिरमा ठोकिएर दुख्छन्
भोकमरी,अनिकाल र महङ्गीले आक्रान्त कहर दशैं
थुप्रै रुकुम-रोल्पाहरुमा क्वाँ … क्वाँ… डाको छोड्छ ।
यहाँनेर, संस्कृतिको शंखघोष उराल्दै दशैं भित्रिदै गर्दा
राष्ट्रिय पोशाकले सहादत प्राप्त गरेकोछ
दौरासुरुवालको बियोगमा बिधवा सारीचोलोको दशैं
फुङ्ग उडेकोछ उजाडिएको बस्तीजस्तो
नातिनीहरुले यसपालि मिनिस्कर्टमा ठाँटिएर
हजुरबासँग दशैंको टिका/जमरा थाप्लान्
नातीहरुले आशीर्वादमा धोती बेर्ने हुन् कि
टाईसुट भिर्ने हुन् ?
वर्षदिनको दशैंमा,
महिना नाघी डिले डेलिभरी भएर
बल्ल/बल्ल पैदा भएका जुम्ल्याहा
शान्ति र संविधान हुर्किने हुन् कि होइनन् भन्ने भय पाल्दै
आमाको छाती चरचरी दुखेको बेला
साम्प्रदायिकता र बिखण्डनकारी धुन्धकारीहरुले
सदभाव र भाईचाराको स्तम्भ भत्काउँदै गर्दा
उत्साह र उमङ्गका चङ्गाहरु उड्लान्-नउड्लान् ।
यद्धपी , संस्कृति फगत भतुवालाई बिगौती हुनुहुदैन
समानता र सकरात्मकताको आँगनमा
मालश्री र मङ्गल धुन गुन्जिनुपर्छ
टिका/जमरा मौलाएर परम्परा धान्नुपर्छ
दशैं खसीले होइन, खुसीले मान्नुपर्छ
आडम्बरमा होइन, ‘दशैं’ मनमा आउनुपर्छ ।
दशैंको मुखमा,
भवितव्यमा परेका समस्त ज्ञात/अज्ञात
स्वर्गिय रहरहरु र दिवङ्गत खुशीहरुले
चीर शान्ति प्राप्त गरून् परलोकमा
जीवित आत्मा,सपना र विपनाहरुले
दिगो शान्ति भोग्न पाऊन् इहलोकमा
र, सधैंसधैं मान्न पाऊन्,
संस्कृतिको अग्लो धरोहर सबैको साझा दशैं
इटहरी , सुनसरी
हाल, फ्रिगेट आइल्याण्ड, सेसेल्स
प्रकाशित मिति २०७४ साल भाद्र ३१ गते शनिवार
नोट: (बिगत लामो समयदेखि साहित्य साधना गरिरहनुभएका बरिष्ठ साहित्यकार गणेश खड्का अन्तर विध्यालय कविता प्रतियोगिता, २०४९ ( इन्सेक, भोजपुर – प्रथम ), द रेयुकाइ नेपाल धनकुटा शाखा र हुसाडेक धनकुटा द्दारा आयोजित कविता प्रतियोगिता २०५२, क्रमश: दोश्रो-प्रथम, नव कलाकार साँस्कृतिक समुदाय धनकुटाद्दारा आयोजित ” सिर्जनात्मक साहित्य लेखन प्रतियोगिता ” २०५२-२०५३ मा दोश्रो, श्रम साप्ताहिक उत्कृष्ठ वर्ष साहित्यकार २०६१, नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाद्दारा आयोजित तेश्रो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सव २०१२, प्रथम ( हेम-सरिता पाठक, भानुभक्त काव्य पुरस्कार ) जस्ता दर्जनौं पुरस्कारबाट बिभुषित हुनुहुन्छ । )
– सम्पादक