Logo

अन्तर्राष्ट्रिय कलाकार मञ्चद्दारा सर्जक रामप्रसाद खनालको १० वटा टप गीतको भिडियो सार्वजनिक

 

स्तावेज संवाददाता भाद्र २४ गते शनिवार, २०७४ – गीत संगीतलाई अँगालेर जीवन यापन गर्ने कयौं सिर्जनाका प्रतिमुर्तिहरु छायाँमा परेका छन् अझै कयौँ त लापता नै छन् । परदेशी भूमिमा रहेर पनि माटोको नाम र शान फैलाउन अगाडी बढेका ब्यक्तीहरुपनि नभएका होईनन् तथापि यस्ता ब्यक्तिहरू औंलामा गनिन  लायक छन् । यिनै दुर्लभ ब्यक्तित्वहरुमध्ये हालतसँग पौंठेजोरी खेल्दै आफ्नै माटोको लागी मर्ने एवं माटोको सुगन्धमा रमाउने साथै गीत संगीतको माध्यमद्दारा आफ्नो मातृभूमिलाई चिनाउन अहोरात्र खटिने सर्जकहरूमध्ये स्वर्णिम अक्षरले लेखिन लायक नाम हो गायक रामप्रसाद खनाल । 

प्रवासमा रहेरपनि नेपाली कला,संस्कृति,साहित्य प्रतिको उत्थानको लागि लगातारको मेहनत र आत्मविश्वासको वावजुद एक कुशल गायकको छवि बनाउनुभएका बरिष्ठ सर्जक,पत्रकार,गायककार,संगीतकार तथा साहित्यकार रामप्रसाद खनालको जन्म गुल्मी धारापानी मैनडाँडामा भएको थियो । 

 हुने बिरुवाको चिल्लो पात भनेझैं उहाँ बालक अवस्थादेखी नै लोकगीत गाउनुहुन्थ्यो ,हुनपनि गाउँघरमा कतै मादल फुटुङटुङ गर्‍यो कि  उहाँ घरबाट लुकेर, भागेर, आमाका आँखा छलेर त्यहाँ पुगी हाल्नुहुन्थ्यो । मारुनी, लाखे, कालिका, झ्याउरे, रोधी, तीजका गीत, नाटक, कुनै कार्यक्रम छुट्दैनथे । आमा र  दाजुलाई सधैंको चिन्ता त्यो के भने बाउनको छोरो भएर नाचगान तिर लाग्यो भन्ने । त्यतिबेला कस्तो भ्रम थियो भने नाचगान तल्ला जातिले मात्रै गर्ने चिज हो । उहाँको आमा भन्नुहुन्थ्यो तैंले आमा बाउको इज्जत फाल्ने भईस् । तरपनि उहाँ गीत संगीतको क्षेत्रमा अनवरत रूपले लागिरहनुभयो ।

नाचगानमा लागेर साढे चार दशक पुरा गरेर पाँच दशकको छेउछाउ आईपुग्दासम्म उहाँले १२ सय गित लेखिसक्नुभएकोछ भने ४१ वटा एल्बम नै प्रकाशित भएर बजारमा आईसकेका छन् । लोकगीत,दोहोरी गीत,राष्ट्रिय र आधुनिक गीत समेत उहाँले लेख्नुभएको छ ,संगीतवद्ध गर्नुभएको छ,गाउनुभएको छ । उहाँ जन्मिएको गुल्मीको माटो लोकगीत,दोहोरी गीत,संस्कृतिको एक प्रखर खानी भएर होला उहाँलाई रेडियो नेपाल पुग्न,नेपाल टेलिभिजन पुग्न ४१ वटा एल्बम निकाल्दा,१२ सय गीत गाउँदा सम्मको अवस्थामा आउँदासम्म होस् वा लोकगीत,संगीत,कला संस्कृति र दोहोरी गीतका लागि नेपाल अधिराज्यभर अभियान छेड्ने क्रममा कुनै अप्ठ्यारा जटिल मोड आएनन् । तसर्थ गुल्मीको माटोले उहाँलाई मजबुत ढंगले स्थापित गराएको भान हुन्छ ।

उहाँले आफूलाई कहिल्यै कमजोर महशुस गर्नुभएन ।

प्रथम पटक रेडियो नेपालमा स्वर परीक्षा पासगर्दा र पहिलो पटक रेडियो नेपालबाट उहाँको गीत बज्दाको क्षण उहाँको लागी निकै अविस्मरणीय रहेको थियो त्यो दिन उहाँलाई संसारै जितेको जस्तो भएको थियो । तर संघर्ष गर्दागर्दा पछि उहाँलाई थाहा भयो जीवनमा अझै धेरै गर्न बाँकी छ । तथापि रेडियो नेपालबाट प्रारम्भिक श्रेणीमा स्वर परीक्षा पासगरी घ,ग,ख,क श्रेणी हुँदै “बिशिष्ट श्रेणी” मा आउने उहाँ लगायत नेपालका बहुत थोरै औंलामा गन्न सकिने गायक/ कलाकारहरुमा आफ्नो नामपनि दर्ज भएको देख्नपाउनु उहाँको लागी पक्कैपनि खुशीको कुरा थियो । 

नेपाल सरकारको तर्फबाट रेडियो नेपालले लिने स्वर परीक्षा स्तर निर्धारण नै आजसम्मपनि रहँदै आएको नेपाल सरकारको परीक्षा हो । यस बाहेक नेपाल टेलिभिजनबाट पनि भ्वाईस टेष्ट/स्क्रिन टेष्ट पास गरेर बिशिष्ट श्रेणीको गायक बन्नु/लोकदोहोरी क्षेत्रको अभियन्ता बन्नु उहाँजस्तो एक गुल्मेली गाउँले केटाको लागि चानचुने कुरा थिएन ।

कठिन संघर्ष गर्दै गएपछि सफलता  हात  पार्दै गयो । उहाँको  गीत  धेरै बर्षसम्म रेडियो नेपाल, बजाइयो, नेपाल टेलिभिजनमा प्रसारित गराइयो । पछि दुवै संस्थामा उहाँले महत्वपूर्ण जिम्मेवारी पनि वहन गर्नुभयो । केहि समय रेडियो नेपालमा कार्यक्रम निर्माता,निर्देशक एवं सञ्चालक भएर रहनुभयो भने नेपाल टेलिभिजनमा पनि टि.भी.को पर्दामा थकान नमानी प्रसारण गर्नेगरी उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो  ।

उहाँले नेपाल टेलिभिजनमा रहँदा बिभिन्न खाले कार्यक्रम सञ्चालन गर्ने,निर्माण निर्देशन गर्नेमात्र गर्नुभएन टेलिभिजनकै व्यवस्थापन हेर्ने सञ्चालकका रुपमा सरकारले दिएको जिम्मेवारीपनि कुशलतापर्वक वहन गर्नुभयो । उहाँकै कार्यकालमा नेपाल टेलिभिजनमा कैयौं सुधार कार्यहरु भए जसका कारण उहाँ नेपाल टेलिभिजन छाडेर बाहिर आएपछि पनि नेपाल टेलिभिजन परिवारले उहाँलाई सधैं सम्झिरहेको छ । 

बिशेष गरेर नेपालमा लोकगीत,दोहोरी गीत,संगीत,लोक संस्कृतिका लागि,रेडियो नेपाल र त्यहाँ कार्यरत हाम्रा अग्रजरुले महत्वपूर्ण भूमिका निर्वाह गरेपनि उहाँ नेपाल टेलिभिजन प्रवेश नगर्दासम्म नेपाल टेलिभिजनले लोकगीत,दोहोरी गीत,संगीत एवं सांस्कृतिक पक्षलाई त्यति चासोकोसाथ हेरेन,उहाँको नियुक्ती सँगै नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनिय सुधारहरू भए । उहाँको अथक प्रयासपछि नेपाली गीत संगीतले फड्को मार्यो । जसले गर्दा नेपाल टेलिभिजनमा समयको माग अनुसार गीतहरू बज्न थाले,तीजको बेला तीजको गीत प्रवेश गर्यो ,तिहारमा देउसी भैलोका गीतहरु प्रवेश गर्यो । नेपाल टेलिभिजनको व्यवस्थापनमा आफू जानुभन्दा अगाडि पूर्व व्यवस्थापक सँग एक प्रकारको विश्वास दिलाएर नेपाल टेलिभिजनलाई अगाडि बढाउन उहाँले कुनै कसर बाँकी राख्नुभएन ,सो बारेमा  नेपाल टेलिभिजनका दर्शकहरुले मुल्यांकन गर्नुभएकै छ होला । 

कयौं लोकगायक गायिकाहरु टेक अप नगर्दै क्र्यास भैरहेका उदाहरणहरु थुप्रै छन् तर उहाँको लोकसंगीतको उडान सकुशल उडिरहेको छ । लेख/बेसी, भञ्ज्याङ चौतारी, बनपाखाहरुमा गाइने सभ्य गीतलाई लोकगीत मान्ने उहाँ, लोक संस्कृति नेपालको पहिचान हो भन्न छुटाउनुहुन्न । नेपाली लोकगीतमा केहि हदसम्म बिकृती आएको र यस्लाई सुधार्न निश्चित मापदण्डको आवश्यक रहेको ठान्ने श्री खनाल आफ्नो छवि धमिलो नहोस् भन्ने सवालमा निकै सजग हुनुहुन्छ । 

शालिनता , कोमलता र मृदुभाषी  स्वभाव उहाँको पहिचान हो भन्दा पंतिकार झुट बोलेको ठहरिने छैन । लामो समयको अमेरिका बसाईपछि उहाँले  गाउनुभएको १० वटा गीतहरू अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले  हालसालै सार्वजनिक गरेको छ । जसमध्ये पन्चैबाजाको लोकगीत, आमा र सासु अनि सबैको परिवेशलाई केन्द्रबिन्दुमा राखेर लेखिएको लोक आधुनिक गीत सय काटेकी हजुरआमा, शिव भजन ॐ जय जगदीश हरे ,गणेश आरती/ भजन,रेल पुग्यो बम्बै,मार्नुसम्म मारी गयौ अर्कैसँग ,शिव आरती/शिव भजन ,आमा आमा भनी मैले बोलाउनै पाइन,सदाबहार भजन,तीज लोक दोहरी गीत आदी प्रसिद्द रहेका छन् । रुमानी भाव समेटिएका सबैजसो गीतहरूमा गायक रामप्रसाद खनालको सुमधुर आवाजले प्रेमिल मनहरूलाई नस्टाल्जिक बनाउने छ । 

रामप्रसाद खनालको शब्द संयोजन ,लय थानेश्वर गौतम, दुवैको संयुक्त भाकामा गाईएको यस मार्मिक गीतले पन्चै बाजामा नेपाली लोक भाकाको ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ । निर्देशन बुद्दिराज खड्का,छायांकन बिरेन्द्र राज क्षितिज,अरुण न्यौपाने, रहेको नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न गाईएको अहिलेसम्मकै मनछुने पञ्चेबाजाको गीत ! दर्शक र श्रोताले दोहोर्याइ तेहर्याई हेरिरहेको गीत !   के तपाईंले हेर्नुभयो ?  नहेरेको भए हेरिहाल्नुस् । 

दसैँ तिहार र चाडवाडका मुखमा विदेशमा बस्ने नेपालीहरू आफन्तजनहरु कसरी मिस गर्दै रुन्छन्,कसरी भक्कानिन्छन् ? यो लोक आधुनिक गीतले त्यही कुरालाई जीवन्त देखाएको छ । यो गीत श्री खनालले उहाँको हजुर आमा, आमा र सासु अनि सबैको परिवेशलाई केन्द्रबिन्दुमा राखेर लेख्नुभएको थियो ।  तर दु:खद संयोग गीत रिलिज हुँदा उहाँले  हजुरआमा र सासुलाई गुमाइसक्नुभएको छ तथापि उहाँको आमा जीवित हुनुहुन्छ तसर्थ आमालाई समर्पित गरेर उहाँले यो गीत रुँदै गाउनुभएको छ । लामो समयदेखी सबैले प्रतीक्षा गरेको  नयाँ लोक आधुनिक गीत हालसालै रिलिज भयो । यो गीत उहाँको  आफ्नै कहानी पनि हो र सँगसँगै विदेशमा बस्ने करिब एक करोड नेपाली र देश भित्रैपनि आफन्तजन सँगसँगै बस्न नपाएका लाखौँ लाख नेपालीको पीडा र आँसुको गीत हो यो ।

शिव भजन जुन अत्यधिक सुमधुर स्वरमा उहाँले गाउनुभएको छ । भजन सुन्नसाथ भगवानप्रती आस्था एवं भक्तिभाव पैदा हुन्छ मनमा एक किसिमको भावनात्मक तरंग पैदा हुन्छ ,शान्ति र सुख मिल्दछ ।

गणेश आरती भजन जुन भगवानप्रती आस्था राख्ने संसारभर छरिएर रहेका समस्त हिन्दूहरुप्रती लक्षित गरेर गाउनुभएको छ । गणेशको भक्तहरुप्रती यसले थप उत्साह र सकारात्मक ऊर्जाको प्रवाह गर्दछ ।

रेल पुग्यो बम्बैमा शिर्षकको यो गीत नेपाली मौलिक झ्याउरे लोक भाकाको प्रयोग गरी गाउनुभएको छ । जसमा नेपाली कला संस्कृति एवं नृत्यको  जोडदार प्रस्तुती प्रयोग गरिएको छ ।

एक प्रेमीलाई प्रेमिकाले धोका दिएर अर्कैसँग हिंड्दाको पीडा र दर्दलाई यो गजलले भरपुर न्याय गरेको छ । आफ्नो सम्पूर्ण जीवन प्रेमिकाप्रति न्यौछावर गरेको प्रेमीलाई छल,कपट,धोका,घात प्रतिघातले छिया छिया परेको मुटु र मर्नु न बाँच्नुको दोसाँधमा रुमल्लिइरहेको जीवनलाई गजलको माध्यमद्दारा कुशल रूपले प्रस्तुत गर्नु उहाँको विशेषता रहेको छ ।

भगवान शिव र पशपुतिनाथ हाम्रो आस्थाको धरोहर हुन् । सर्जकले यस भजनद्दारा समस्त नेपालीहरूमा भगवान शिवको महिमा झल्काउनुभएको छ । स्वर शब्द रामप्रसाद खनाल,शिवहरी पौडेलको निर्देशन,कोरियोग्राफर निरज नेपाल,छायांकन/सम्पादन दिलिप बिष्ट,रहेका छन् भने कलाकारहरुमा रामप्रसाद खनाल,शिवहरी पौड्याल, परशुराम अर्याल,पुरुषोत्तम अर्याल,रक्षा गुरागाँई,कमला रेग्मी,मुकुन्द आचार्य,ऋृतु भन्डारी, शिवहरी आचार्य,कन्चन सापकोटा रहेका छन्  । 

“आमा आमा भनी मैले बोलाउनै पाईन” बोलको गीतमा आमा प्रतिको अगाध मायाँ र सद्भावको मार्मिक प्रस्तुती प्रस्तुत गरिएको छ । आफ्नो घर परिवारबाट अलग भएर रहेका प्रवासी मनहरुमा आफ्नो गाउँ टोल,साथीभाई,छर छिमेक,जन्म दिने आमा र माटोको याद हमेशा आईरहने आफ्नो गीत मार्फत उहाँले बताउनुभएको छ । जीवनपर्यन्त जन्म दिने आमाको काखमा लुटुपुटी गर्दै रमाउने चाहना भएरपनि बाध्यताले परदेशिनु परेको पीडा यो गीतमा पोखिएको छ । 

   Deepshikha Sharma

[email protected]

प्रतिक्रिया दिनुहोस्