Logo

प्राकृतिक विपत्तिपछि मनोसामाजिक समस्या

“हातखुट्टा, जिउ काप्नु/कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, शरीरमा अत्याधिक थकान लाग्नु, श्वास फेर्न गाह्रो हुनु, छाती भारी हुनु, धेरै रिस उठनु, ध्यान केन्द्रित गर्न नसक्नु, चाडै बिर्सनु, मन दुःखी हुनु, सामान्य भन्दा बढी डर/चिन्ता/पिर पर्नु, छटपटि हुनु निर्णय लिन नसक्नु, डरलाग्दो सपना देख्नु, पटक पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, कसैले केही गर्छ कि भन्ने डर लाग्नु, आदि जस्ता लक्षणहरु बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिपछि मानिसहरूमा देखिने सामान्य र स्वभाविक लक्षणहरु हुन । “

            – गोपाल ढकाल, मनोविद

 बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिपछि यसबाट प्रभावित व्यक्तिहरूमा विभिन्न किसिमका मनोसामाजिक समस्या र यसका लक्षणहरु देखिन सक्छन् । जस्तै हातखुट्टा, जिउ काप्नु/कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, शरीरमा अत्याधिक थकान लाग्नु, श्वास फेर्न गाह्रो हुनु, छाती भारी हुनु, धेरै रिस उठनु, ध्यान केन्द्रित गर्न नसक्नु, चाडै बिर्सनु, मन दुःखी हुनु, सामान्य भन्दा बढी डर/चिन्ता/पिर पर्नु, छटपटि हुनु निर्णय लिन नसक्नु, डरलाग्दो सपना देख्नु, पटक पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, कसैले केही गर्छ कि भन्ने डर लाग्नु, आदि जस्ता लक्षणहरु बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिपछि मानिसहरूमा देखिने सामान्य र स्वभाविक लक्षणहरु हुन । यी लक्षणहरु घटनाको तुरुन्तै पछि देखिन्छन् भने कतिपयलाई केही दिन पछि मात्र देखिन सुरु हुन्छ । कोहीकोहीलाई भने केही महिना वा वर्षपछि अचानक लक्षणहरु देखा पर्न सक्छन् ।

 मनका वह पोख्न पाउँदा, घरपरिवार, साथीभाई वा समाजको साथ र सहयोग मिल्दा, परिवारसँग बस्दा, सहयोगको आदान प्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सूचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउँदा, मनोरञ्चन, खेलकुद, व्यायाम, ध्यान पुजापाठ जस्ता कुरामा मन लगाउदा, रिस र आक्रोश पोख्न पाउँदा मन खोली रुन पाउँदा, सकारात्मक सोच राख्दा आफ्नो ध्यानलाई रमाइलो कुरामा मोडदा, दैनिक जीवनमा फर्कने प्रयास र धैर्यताले यी लक्षणहरु समय बित्दै जाँदा हराउदै जान्छन् । माथिका लक्षणहरु कम नभएमा वा बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाइ भएमा, आफ्नो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसक्दा, अरूले नसुन्ने आवाज सुनेमा, अत्याधिक लागू पदार्थको सेवन गर्न थालेमा, मानसिक स्थिति र सन्तुलन गुमाएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, केटाकेटीको स्वभावमा परिवर्तन आएमा, विभत्स घटनाको यादले झस्काइरहेमा जस्ता अवस्थामा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्छ ।
परिवारका सदस्यहरू गुमाउनुपर्दा, आफूलाई नै बाढीपहिरोबाट चोटपटक लाग्दा, आफ्नो घर बगाउँदा, बारी खेत वालुवामा परिणत हुदाँ, मनमा दुःख, पिडा तथा भावनात्मक चोट पुग्छ नै साथै यसलाई सहन कतिपय अवस्थामा कठिन समेत हुनसक्छ ।

प्रत्येक व्यक्तिको मानसिक क्षमता फरक फरक हुने हुँदा यसले पार्ने असरपनि फरक फरक हुन्छ । साथै व्यक्तिपिच्छे कोही चाँडै सामान्य अवस्थामा फर्कन्छन् भने केहीलाई सामान्य अवस्थामा फर्कन समय लाग्नसक्छ । धेरै मानिसहरू ढिलो चाँडो सामान्य अवस्थामा फर्किन सक्ने भएतापनि केही प्रतिशत व्यक्तिहरूमा यी लक्षणहरु हराउदैनन् । यसबाट पीडित व्यक्तिलाई निम्न मानसिक स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन् ।

 – लगातार आत्तिने रोग

– दिक्दारिपन तथा आत्महत्याको सोचाई

– पिडादायिक घटनापछि उत्पन्न हुने एक विशेष मानसिक समस्या

– एक्कासि विनाकारण हुने अत्याधिक त्रास

– समायोजनको समस्या

– तत्कालै देखा पर्ने तनावजन्य समस्या

प्राकृतिक प्रकोपपछि पीडित वा प्रभावित व्यक्तिहरूको मनोबल धेरै कम भएको हुन्छ । त्यसैले औषधी उपचार, आधारभूत आवश्यकता परिपूर्तिका साथै प्राथमिक मनोवैज्ञानिक सहयोग एवं मनोसामाजिक सेवा पनि जरुरत पर्दछ । यसले छोटो समयमानै स्वस्थ भई आफ्नो काममा फर्कन मद्दत पुग्छ । प्रभावित मध्ये कसलाई मानसिक स्वास्थ्य समस्या देखा पर्छ वा कसलाई पर्दैन भनेर थाहा नहुने हुँदा मनोसामाजिक समस्या भएका सबैले मनोसामाजिक सेवा लिनु राम्रो हुन्छ । यसो गर्दा लक्षणहरु छिट्टै हराउने र मानसिक स्वास्थ्य समस्याको रुपलिन पाउँदैन । घाइते भएका, परिवारका सदस्य गुमाएका व्यक्तिहरू, बालबालिका, गर्भवती एवं सुत्केरी महिला, अपाङ्ग, बृद्धबृद्धा, रोगी र अशक्त आदिमा असर बढी पर्ने भएकोले उनीहरूलाई सामान्य जीवनमा फर्काउन मनोसामाजिक सेवा अरू सामान्य व्यक्तिको तुलनामा झनै बढी आवश्यक पर्छ ।

 लेखकः मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन् ।

Email: [email protected] 

प्रकाशित मिति,२०७४ साल भाद्र १९ गते सोमवार       

प्रतिक्रिया दिनुहोस्