Logo

नेम्पा अवार्ड मनोनयन सार्वजनिक

स्तावेज संवाददाता, भाद्र  १० गते शनिबार,२०७४ – नेपाल चलचित्र संघले आयोजना गर्न लागेको ‘नेम्पा फिल्म अवार्ड’को शुक्रबार विधागत उत्कृष्ट तीनको मनोनयन सूची सार्वजनिक गरेको छ । १८ विधामा सार्वजनिक गरिएको उक्त मनोनयनमा अभिनेतातर्फ सौगात मल्ल, दयाहाङ राई र विपिन कार्कीबीच प्रतिस्पर्धा हुने देखिएको छ । सौगात ‘लुकामारी’, दयाहाङ ‘वीरविक्रम’ र विपिन ‘जात्रा’ बाट मनोनयनमा परेका हुन् । त्यसो त सौगात अभिनेतासँगै सहअभिनेताका लागि ‘डाइङ क्यान्डल’ र खलपात्रका लागि ‘लुट- २’ बाट पनि उत्कृष्ट तीनको मनोनयनमा परेका छन् । अभिनेत्रीतर्फ भने प्रियंका कार्की (छक्का पञ्जा), केकी अधिकारी (लभ सासा) र सृजना सुब्बा (डाइङ क्यान्डल) बीच एकले अवार्ड हात पार्ने भएका छन् ।

अमेरिकाको टेक्सास राज्यस्थित  डालसमा असोज १ मा आयोजना हुन लागेको नेम्पा अवार्डलाई संघले स्थानीय डीएबीएस इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्न लागेको हो । नेपाली फिल्मको विकास, विस्तार र प्रवर्द्दन एवं सम्वर्द्दनका लागि अवार्ड आयोजना गर्न लागिएको बताउँदै चलचित्र संघले पनि विदेशी भूमिमा स्वदेशी अवार्ड गर्न लागेको हो । गतवर्ष प्रदर्शनमा आएका मध्येबाट प्रतिस्पर्धामा आएका ४५ फिल्मको मूल्यांकनबाट उक्त मनोनयन सार्वजनिक गरिएको संघ अध्यक्ष प्रदीपकुमार उदयले विज्ञप्ति जारी गर्दै जनाएका छन् । अवार्डको उत्कृष्ट तीन फिल्ममा ‘जात्रा’, ‘छक्का पञ्जा’ र ‘पुरानो डुंगा’ पर्दा निर्देशनमा पनि यिनै फिल्मका निर्देशकहरू क्रमश: प्रदीप भट्टराई, दीपाश्री निरौला र रामबाबु गुरुङ परेका छन् ।

‘जात्रा’ बाटै सहअभिनेतामा रवीन्द्र झा, लेखकमा प्रदीप भट्टराई पनि मनोनयनमा परेका छन् भने ‘छक्का पञ्जा’ बाट सहअभिनेत्रीमा वर्षा राउत, हास्यकलाकारमा बुद्धि तामाङ र केदार घिमिरे, लेखनमा दीपकराज गिरी, सम्पादनमा विपिन मल्ल, छायांकार पुरुषोत्तम प्रधान, संगीतकार राजनराज शिवाकोटी मनोनयनमा अटाएका छन् । मनोनयनमा पर्नेलाई संघले भदौ १९ मा काठमाडौंमा एक कार्यक्रम गरी प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्