Logo

स्मृतिपटल भित्रको त्यो संसार – मधुवन पौडेल

                                    – कथाकार 

लङ् आइलैण्ड अर्थात् लामो टापू ।

शान्त र जताततै हरीयो । सात समुद्रपारिबाट मध्यरातमा आइपुगेकोले हिजो  केही देखेको थिइन, त्यसैले छिटै कोठाबाट निस्किएर यताउती हेर्दै थिएँ म ।
बाहिर कपास उडाएजस्तै गरी फुस्फुस् हिउँ खसिरहेको थियो । झट्ट हेर्दा हावाले सुकेका पातहरू एक कुनाबाट अर्को कुनातिर अनि फेरि माझतिर थुपार्दै र छर्दै गरेको जस्तो लाग्थ्यो लुकामारी खेलेजस्तो ।

न्यूयोर्क राज्यभित्रै तर न्यूयोर्क शहरबाट करीब ३० माइल टाढा पर्ने लङ् आइल्याण्डको सुन्दर आवास क्षेत्रको ऐतिहासिक भवन ‘द म्यानर’को कफिशपभित्र थिएँ म । एकजना धनाढ्यले करिब ५५ एकड जमिनको माझमा यस शताब्दीको सुरुतिर निर्माण गरेको उक्त भवन कुनै समयमा सम्पूर्ण अमेरिकाकै १२ वटा सर्बश्रेष्ठ कण्ट्री हाउसहरूभित्र पर्थ्यो रे । तर १९६७ देखि त्यो भवन र आसपासको जमिनलाई ह्यारिसन कन्फरेन्स सेण्टरको रूपमा विकसित गरिएको रहेछ । झण्डै २०० कोठाहरू, कन्फरेन्स हल र स्तरीय होटलहरूमा हुने सबै सुविधा उपलब्ध थिए त्यहाँ । न्यूयोर्क महानगरीको कोलाहल, मान्छेहरूको घुइँचो, ट्राफिक जामलाई बिर्सेर केही दिन थकाइ मार्न सकिने भएकाले संयुक्त राष्ट्र सङ्घका आयोजक कर्मचारीले हाम्रो तालिम कार्यक्रमको निमित्त लङ् आइल्याण्डलाई छानेका होलान् ।

साँच्चि नै लङ् आइल्याण्ड न्यूयोर्क राज्यको भाग जस्तै लागेन मलाई, नेपालकै जस्तो डाँडाकाँडा तर हरिया, उत्तीसका घारीको ठाउँमा बयर र म्यापल्, अनि हाडेबयर र चिलाउनेका रूखको सट्टा विभित्र जातका हरिया काला सल्लाका रूखहरू ।

आफ्नो गाउँको भीरतिर पहिरोले गर्दा जानै डर लाग्थ्यो, तर यहाँको भीर सानै भए पनि त्यहाँ जाने सिँढी, छहारी अनि टल्किने ढुङ्गा छापिएको ! बीचमा केही समथल बनाएर चारवटा मेच टेबुल अनि टेलिस्कोप ! तल हेर्दा कहाली लाग्दाजस्तो भए पनि चारैतिर रेलिङ भएकोले सुरक्षित ! पर हेर्दा मेरो गाउँबाट देखिने डाँडाथोक र त्यसको माथि टक्रक्क देखिने फुल्चोकीको डाँडो जति उचाइ नभए पनि ढिकस्पाखो जस्तै उचाइमा हरिया र सुकेर राता पहेंला भएका रूखहरू अनि उडिरहेका चराचुरुङ्गीको झुण्ड स्पष्ट देखिन्थ्यो । बाहिरको तापक्रम ४ डिग्री जति थियो होला, त्यसैले म हिजो राती होटलभित्र पसेदेखि एकैछिन फोटो खिच्न मात्र बाहिर गएको थिएँ । तैपनि घरभित्रै बस्नु परेकोमा केही दिक्दारी थिएन । 

“अरू चिया थपूँ कि ?” एउटा मधुरो नारी कण्ठले मलाई झस्याङ्ग पारिदियो ।

म बसेको कोठाको लङ सबै हाम्रो सम्मेलनका आयोजकहरूको निमित्त बुक गरेकाले त्यहाँ अरूको भीड थिएन, अर्को छेउमा एकजना अफ्रिकी म जस्तै एक्लै बसिरहेका थिए ।

“यस प्लीज” भन्दै मैले उसको अनुहार हेरें । कालो कपाल,टलक्क टल्कने र बाक्लो पावरको चस्मा, रातो निकै रातो लिपिष्टिक र कानमा सेतो धातुका ठूला ठूला रिङहरूबीच गोलो सुन्दर अनुहार ! उसको गोरो अनुहारको देब्रेतिर गालालाई आधा कपालले ढाकेको थियो ।
मैले पुलुक्क उसको अनुहारमा हेर्नासाथ ऊ मुसुक्क हाँसी र भनी,
“ह्यारिसन् कन्फ्रेन्स सेन्टरमा तपाईंलाई स्वागत छ ।”
“धन्यवाद !” मेरो मुखबाट हठात् यतिमात्र निस्क्यो ।

शिष्टताको बानी नै नभएको अनकण्टार ठाउँको मान्छेलाई वास्तवमा यति भत्र सम्झनु पनि गार्है थियो । पहिलोपल्ट कसैले आफूसँग अनौपचारिक कुरा गरेकोले म कुरा लम्ब्याउने मूडमा थिएँ ।

“बाहिर जाडो छ हगि ?”
“आज त अलि कम छ ।”

चिया थपेर “एक्स्क्यूज् मी” भन्दै ऊ हिँडिसकेकी थिई । अर्को लङ्मा पनि एउटा ठूलो हुललाई हेरविचार गर्नु थियो उसले ।

झण्डै २० घण्टा हवाइजहाजभित्र र त्यसपछि बस्ने ठाउँ नभेटिएर अर्को ३/४ घण्टा मोटरभित्र सफर गर्दा म निकै थाकेको थिएँ । दुईदिन अघि सिम्सिमे पानी परेर अकस्मात् जाडो भएको काठमाण्डौंको आफ्नो घरबाट हिँडेपछि सम्भवतः म दुई घण्टामात्र सुतेको थिएँ । त्यसैले शरीरको सम्पूर्ण भागलाई लाठै लाठाले ठटाएजस्तो भइरहेको थियो । तर अर्को एक घण्टापछि नै सम्मेलनको औपचारिक सुरुवात हुने भएकोले कोठामा गएर पल्टने समय पनि थिएन ।

बाहिर हावाले सुकेका पात जति झारेर नाङ्गिएको रूखमा राताम्ये देखिएकोे बयरजस्तो लाग्ने राता फल र त्यसलाई खाने एक बथान भँगेराभन्दा ठूला, सारौंटे भन्दा केही साना देख्दै हृष्टपुष्ट चराहरू बसेर रूखै ढाकुँला झैं गरेर हारालुछ गर्दै थिए । तर सबैतिर बन्दाबन्दी भएकोले उनीहरूको चिर्बिर् आवाज भने सुनिन्थ्यो ।

“तपाईंको ग्रुप धमाधम पल्लो हलभित्र पस्दै हुनुहुन्छ । त्यही केटी मलाई त्यता जान सङ्केत गर्दै थिई, मैले ऊतिर फर्केर उसको अनुहार हेरें, देब्रेतिर छातीमा उसको नाम अङ्कित थियो,“ग्लोरिया म्यान्” ।

मैले एक टक लगाएर हेरिरहेको देखेर उसले असजिलो मानी । वास्तवमा त्यसरी हेर्नु उनीहरूको समाजमा “असभ्यता” मानिन्थ्यो । तैपनि शिष्टतावश मुसुक्क हाँस्दै खाली कप प्लेट लिएर बिलाई ऊ  फेरि त्यो ठूलो हलको कुनामा मलाई एक्लै छोडेर । अनि म पनि आफ्नो जमात आएको ठाउँतिरै लागें ।

केही समय चिनजानको औपचारिकतापछि जलपान, अनि भोजनको व्यवस्था यिथो । आयोजकहरू मध्येबाट प्रत्येक टेबुलमा दुईजनाको नाम थियो। हामी भने जता गएर पनि बस्न सक्थ्यौं । संयोगवश म एकातिर चिनियाँ सैनिक अधिकृत र अर्कोतिर फिनल्याण्डका कानूनविद्को माझमा परेछु । नेपालीलाई भेटेकोले चिनियाँ दङ्ग थिए । नेपालको राजनीति, भूटानी शरणार्थी समस्या, हिमाली चुचुराहरू र आसपासको क्षेत्रमा बढ्दो प्रदूषणदेखि लिएर कोदारीको बाटो, तिब्बत, मानसरोवर सबै विषयमा गफगाफ कुराकानी भए । संयुक्त राष्ट्र सङ्घमा कार्यरत अर्का वरिष्ठ अधिकारी पनि हाम्रो कुरा निकै चाख लिएर सुन्दै थिए । कोदारीको कुरामा म अलि लट्पटिएको के थिएँ, उनले पटापट थपिदिएपछि म छक्क परें । पछि थाहा भयो, ९/१० पटक नेपाल आइसकेका रहेछन् , अमेरिकी कूटनैतिक अधिकारी, पिसकोर भोलेण्टियर देखि लिएर पर्यटक, हिमाल आरोहण गर्ने दलको लियाजो अधिकृत र अन्तर्राष्ट्रिय कानूनविद् विभित्र रूपमा बहुआयामिक पृष्ठभूमि र अनुभव भएका ती अमेरिकी सज्जन अन्य भाषाका अतिरिक्त फाटफुट नेपाली शब्द पनि बोलिटोपल्थे ।

“लौ हेर्नुस्, नेपालकी ठकुरीकी छोरी जस्ती छैन ?” चिनीयाँलाई पानी थप्दै गरेकी ग्लोरियालाई सङ्केत गर्दै ती अमेरिकी भन्दैथिए । प्रायः प्रत्येक महिना एक न एक काममा न्यूयोर्कको कोलाहलबाट भाग्दै यहाँ आउने भएकाले ती अमेरिकीले त्यो होटल अर्थात् कन्फरेन्स केन्द्रका धेरैजसो स्टाफलाई चिन्ने रहेछन् । उनले ठट्टामा भनिदिए,
“ग्लोरिया ! उहाँ पनि हिजै गुयानाबाट आएको ।” उसको अनुहार एकपटक चम्केको थियो ।

उसले पत्याई कि पत्याइन भत्रे नसोच्दै मैले भनें, “हैन ब्यारे, म नेपाली ” । म वास्तवमा झस्किएको थिएँ , के आपत् आइलाग्यो भनेर ।

“किन आत्तिएको ? ग्लोरिया यहाँ पढ्न आएकी हो, यसको बाबु मकहाँ ड्राइभर छ । ऊ यहाँ हप्ताको दुई दिन काम गर्छे, अनि सोमबार फेरि न्यूयोर्क फर्कन्छे ।”

साठीको दशकमा गुयानाको आर्थिक स्थिति तहस नहस भएपछि त्यहाँबाट अमेरिका पस्ने हजारौं गुयानी परिवारमध्ये एउटा ग्लोरियाको परिवार पनि रहेछ । तर ऊ त न्यूयोर्कमै जन्मिएकी अमेरिकी नागरिक नै थिई,विभित्र देश, जातपात, रङ्ग र धर्मका मानिसहरू मिसिएको न्यूयोर्कको खिचडी समाजकी एउटी सदस्य ।

“कहिले फर्कने न्यूयोर्क ?”

“यो हप्ताको अन्तमा मात्र । यसपालि ओभरटाइम गरेकी छु ।” यति भनेर ऊ हिँडिसकेकी थिई । उभिएर गफ गर्ने फुर्सद थिएन ग्लोरियालाई ।

“के गरोस् बिचरी ? बाउ रक्स्याहा छ, फीस भर्ने बेला भयो होला । इञ्जिनियरिङ गर्दैछे । निकै चाख लागे जस्तो छ नि ? नेपाल लाने कि ?”

“कतिजनालाई लगूँ ? सबै राम्रा छन् । फेरि उताकालाई के गर्ने नि ?” म पनि ठट्टै गर्ने मूडमा थिएँ ।

“के रे ? बिहे भइसक्यो ?” म फुलेर दङ्ग परें । हिँड्ने एक दिन अगाडि श्रीमतीले कपालमा रङ लगाइदिएर कमाल गरिछन् । तर जे भए पनि मलाई ग्लोरियाको विषयमा जात्रे कौतूहल भने अवश्य थियो । बिहान नौ बजेदेखि बेलुकी नौ बजेसम्म व्यस्त रहनुपर्ने, अनि अन्तिम दिन १२ः३० मा सकिनासाथ एक बजे न्यूयोर्क हिँड्नुपर्ने भएकोले फुर्सदै कहाँ थियो र ? पहिलो दिन अझ केही फुर्सद मिलेकोले एकैछिन हलमा बस्न भ्याएको थिएँ ।

खाइसकेपछि सबैजना उठेर आ–आफ्नो कोठातिर लाग्यौं । आधा घण्टापछि बैठक हलमा पुग्नुपर्ने आतुरी थियो सबैलाई ।

म पनि जुरुक्क उठेर आफ्नो कोठातिर लागें । निकै लामो बाटो थियो, हलदेखि आफ्नो कोठासम्म । भित्र वातानुकूलित भए पनि बाहिर निकै जाडो थियो, तैपनि चुरोट पिउनेहरू बाहिर निस्केर कस मार्दै थिए । मेरो दिमागमा भने ग्लोरिया म्यानको अनुहार नै फन्फनी घुम्दै थियो । ग्लोरिया जस्तै संसारभरिबाट आएका अझ कति होलान् अमेरिकाभरि, निःस्वार्थ वा स्वार्थवश अमेरिकालाई स्वावलम्बी, परिश्रमी र जेहेन्दार व्यक्तिहरूको देश र समाज बनाउन प्रयत्नरत । उनीहरूलाई कसैको विषयमा कुरो काट्ने फुर्सद पनि थिएन, न त अर्काको निन्दो चर्चो गरेर हिँड्ने चाख नै थियो । 

एकोहोरो आफ्नो भविष्य बनाउने धुनमा लागेकाहरूको जमात थियो त्यो । निस्फिक्री थिए सबै नै, एउटा व्यस्त र आफ्नै खालको यान्त्रिक जीवन बाँचिरहेका अविरल गतिमा ।

मेरो कोठातिर जाँदा कन्फरेन्स् हलतिरबाटै जानुपर्थ्यो । त्यसैले लम्कँदै जाँदा पनि करिडरको दक्षिणपट्टि भित्तामा टाँगिएको नोटिस बोर्डमा आँखा पुगिहाल्थ्यो । त्यहाँ एउटा कार्ड र एक पाना कागज देख्नासाथ मेरो आँखा त्यतै पुग्यो ,अतिथि वक्ता आउन ढिलो हुने भएकोले त्यस दिनको कार्यक्रम स्थगित भएको रहेछ । अब हतार गर्नु पर्ने भएन, टेबुलमा कफी र अरू थुप्रै खाध्य सामग्री थिए— एक कप कफी लिएर बाहिर फुस्फुस् हिउँ परेको मनोरम दृश्य हेर्दै सोफामा बसें । कुनबेला कफीको कप रित्तिएछ पत्तै भएन । बाहिर झमक्क साँझ परिसकेको थियो । उठेर भोलिपल्टको व्यस्त कार्यक्रम सम्झँदै आफ्नो कोठातिर लागें । कार्यक्रम स्थगित हुनु मेरोलागि सोह्रमा तान्दा सत्रमा परेजस्तै भएको थियो, कमसेकम कोठामा पुगेर बेखबर हुँदै सुत्न त पाइने भयो भनेर ।

मेरो कोठा सामान्य होटेलहरूका कोठाभन्दा निकै ठूलो थियो, पूर्वपट्टि जङ्गल र त्यसपछि लङ् आईल्याण्डको प्रसिद्ध ‘गोल्ड कोष्ट’, दक्षिणतिर हरियो र सफा लन् , बीच बीचमा रङ्गीचङ्गी पात भएका मझौला कदका रूखहरू । प्रकृतिको सुन्दरतालाई कसरी राख्न सकेका यी अमेरिकीहरूले ! बित्थामा हामी उनीहरूलाई “यान्त्रिक समाजमा हुर्केका ‘जन्क् फूड’ खाएर बाँच्ने” आदि आदि कुरा झिकेर होच्याउने गर्छौं जस्तो लाग्यो मलाई !
म सुत्न सकिन, सपनाको संसारमा दिउँसै सपना देख्दै थिएँ म ।

प्रकाशित मिती २०७४ साल श्रावण १४ गते शनिबार  

२७६ भीमनिधि तिवारी मार्ग, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्