नेपालको राजनीति र महाभारत
“महाभारतको एक महत्वपुर्ण पक्ष सानो समुह पाण्डवहरु जसका नेतृत्वकर्ता युधिष्ठिरको जुवाको लतले पाण्डवहरुलाई विभिन्न अप्ठयाराहरुमा मात्रै पारेनन् अन्ततः महाभारत हुनलाई नै एउटा पक्ष बने जसरी कि अहिलेको नेपालको राजनीतिमा सक्रिय सत्तामा रहेका केहि व्यक्तिका अल्पज्ञान र अदुरदर्शिताका कारण सम्पूर्ण समुहले विभिन्न अप्ठयारा स्थितिहरू झेल्नुपरेको यथार्थ कसैसंग लुकेको छैन । यसमा एउटा ज्यादै महत्वपूर्ण पक्ष नारिलाई बस्तुको रुपमा गरिएको ब्यबहार पनि कतै न कतै महाभारत हुनुमा सहयोगी बनेको स्पष्ट देखिन्छ । नेपालको नेताहरुले जारि गरेको संबिधानमा नेपाली महिलालको गिज्याएको आत्मसम्मान लाई द्रौपदीको चिरहरणसंग दाज्न सकिन्छ । “
– वीणा झा,समाजशास्त्री
हामी बहुसंख्यकले कुनै न कुनै माध्यमले महाभारतको कथा पढेका, सुनेका वा देखेका छौ। महाभारत वास्तवमा एक राजनीतिक दस्तावेज पनि हो, एक सुझ-बुझ पूर्ण राजनीतिको पूर्ण नैतिक शिक्षा को दस्तावेज । यसो विचार गर्दा महाभारतको कथा र अहिलेको नेपालको राजनीति उस्तै उस्तै रहेको भान हुन्छ । यसमा कौरव र पाण्डव पक्ष को को हुन् त्यो आ-आफ्नो बुझाईमा भर पर्ने कुरा हो । महाभारतको शुरुवातलाई धृतराष्ट्रको अन्धपुत्र मोह जसले अप्रत्यक्ष रुपले दुर्योधनलाई दम्भी, घमण्डी र आफ्नो जितको लागि जस्तो सुकै अनैतिकता सम्म उत्रन सक्ने चरित्र निर्माण गर्न मदत गरेको हुन्छ भने यो मात्रै महाभारत हुनुको एकमात्रै कारणको रुपमा लिन सकिन्न । यसमा भीष्मको अन्धो प्रतिज्ञा जसले गर्दा युद्ध रोक्न नसक्ने बाध्यता अनि धर्मराजको रुपमा सम्मानित युधिष्ठीरको जुवाको लत पनि उतिकै जिम्मेवार देखिन्छ त्यसका साथै सबभन्दा महत्वपुर्ण पाण्डवहरुको अस्तित्व, सम्मान र न्याय राज्यपक्षले दिन नसक्दा महाभारत हुन पुगेको भनिन्छ र अन्तमा न्यायको जित भएपनि असंख्य मानब जीवनको क्षती भएको इतिहास छ ।
अहिलेको नेपालको राजनीतिक अवस्थाको बिश्लेषण गर्दा त्यस्तै देखिन्छ । कतै अस्तित्वको लडाईमा राज्यद्दारा गरिएको विभेदका शिकार भएका असन्तुष्ट समुह छन् भने कतै अवसर र साधन श्रोत माथिको पहुचमा बर्षौदेखिको निरंकुशताको निरन्तरताको लागि सामुहिक अभिव्यक्ति झल्किन्छ । महाभारतमा जसरी धृतराष्ट्रले कहिले पनि आफुलाई घटित अवस्थाको जिम्मेबारी लिएनन र युधको बस्तुस्थिति बुझ्न संजय को सहारा लिए त्यस्तै अहिले सिमित मुट्ठीमा रहेका राज्यशक्तिका हर्ताकर्ताहरुले अहिलेको बिध्यमान द्दन्दलाई बुझ्नु र समाधान गर्नु को साटो आरोप प्रत्यारोपमा ब्यस्त हुनुका साथै बस्तु स्थिति बुझ्नपनि आफु अग्रसर नभई आफ्ना वरिपरीकाहरु माथि निर्भर रहेका देखिन्छन्। अनि अहिलेको समयमा रहेका नैतिकता बिहिन संजयहरू आफ्नै अनुकुलता अनुसार ब्याख्या र विश्लेषण गर्दै राज्य र जनता बीचको सम्बन्ध धुमिल्याउन प्रयासरत भेटिन्छन् । समाजको चाहना बुझ्न नचाहेको देखिन्छ ।आफ्नो आँखा चिम्लेर वरिपरी भैरहेको अवस्थाबाट अनभिज्ञता जनाउने प्रयास अदुरदर्शिताको उत्कृष्ट नमुनाको रुपमा देखिन्छ ।
नेपालको हरेक ऐतिहासिक परिबर्तनलाई नियाल्ने हो भने सबैमा सफलताको श्रेय आम जनतालाई जान्छ चाहे त्यो २००७ को प्रजातन्त्र स्थापनाको कुरा होस् वा २०४७ को लोकतन्त्र स्थापनाको लागी गरिएको आन्दोलन । ती सबै सफल आन्दोलनहरुको पछाडी एउतै गुढ़ रहस्य थियो सत्तासिनले देखेका सपनामा आम जनतालाई समावेस गर्न नसक्नु । अर्थात् जब राज्यले देखेको सपनासंग आम जनता आफूलाई जोड्न सकेको हुँदैन भने त्यहाँ अबिश्वासरुपी ठुलो दुरी बढ्दै जान्छ जसले पक्कै पनि राम्रो परिणाम ल्याउदैन । आखिर किन यस्तो हुन्छ त ? राज्यले देखेको बिकाशको सपना आम नेपालीको सपना किन बन्न सक्दैन त ? जब राज्यले कोरेको बिकासका खाकाहरुमा आम नेपालीको भोक, रोग,सुरक्षा र आत्मसम्मान अटाईदैन भने त्यसले राज्यलाई जनतासंग जोडदैन बरु टाढा बनाउछ एक अर्का संग, अनि परिणाम सामाजिक द्दन्दको पुनराबृति ।
चाहे धृतराष्ट्र जस्तो पुत्रमोहको रुपमा रहेको आफ्नो वरिपरीका, जातीय मूल वा पुर्ख्यौली सम्बन्ध मोहले आम जनतालाई फरक रुपले हेर्ने दृष्टिकोणको निर्माण गरिएको होस् वा सुक्ष्म अध्ययनको अभावमा, भीष्मले गरेझै गरिएको अन्धो प्रतिज्ञा दुवै राष्ट्रका लागी अहित हुने कार्य नै गर्दछ । जसरी महाभारतमा प्रष्ट रुपमा देखिने युद्धरत दुई पक्षमात्र रहेपनि परोक्ष रुपमा विभिन्न पात्रहरु कर्ण, द्रोणाचार्य, सकुनी, कृष्ण सबैले आ- आफ्नै किसिमले सक्रिय भूमिका खेलेका छन त्यस्तै नेपालको राजनीतिमा पनि प्रत्यक्ष राज्य संचालनमा सहभागी नहुने पक्षहरु पनि सक्रिय भइ आम नागरिकको दुख र पिडासंग आफूलाई जोड्दै पक्ष वा विपक्ष को रुप मा भूमिका निभाउने अवसर पाएका देखिन्छन् ।
महाभारतको एक महत्वपुर्ण पक्ष सानो समुह पाण्डवहरु जसका नेतृत्वकर्ता युधिष्ठिरको जुवाको लतले पाण्डवहरुलाई विभिन्न अप्ठयाराहरुमा मात्रै पारेनन् अन्ततः महाभारत हुनलाई नै एउटा पक्ष बने जसरी कि अहिलेको नेपालको राजनीतिमा सक्रिय सत्तामा रहेका केहि व्यक्तिका अल्पज्ञान र अदुरदर्शिताका कारण सम्पूर्ण समुहले विभिन्न अप्ठयारा स्थितिहरू झेल्नुपरेको यथार्थ कसैसंग लुकेको छैन । यसमा एउटा ज्यादै महत्वपूर्ण पक्ष नारिलाई बस्तुको रुपमा गरिएको ब्यबहार पनि कतै न कतै महाभारत हुनुमा सहयोगी बनेको स्पष्ट देखिन्छ । नेपालको नेताहरुले जारि गरेको संबिधानमा नेपाली महिलालको गिज्याएको आत्मसम्मान लाई द्रौपदीको चिरहरणसंग दाज्न सकिन्छ ।
एकलव्यलाई आफ्नो शक्ति वाण प्रयोग गर्नबाट बन्चित गराउन गुरु द्रोणाचार्यले गुरुदक्षिना को रुपमा बुढी औला मागी शिक्षा र गुरु-चेला परम्परा बिच कालो धब्बा लगाए झैँ नेपालको शिक्षा प्रणाली जसले अहिलेका नेपालका युवाहरुलाई दिएको ज्ञानमा आफ्नै देशको इतिहास जान्ने अवसरबाट नियतबस बन्चित गरेर खुलेर बाण चलाउन नसकेका बिर योद्दासरी बनाईदिएका छन् । नेपालका युवा जो इतिहास देखि वर्तमानसम्म देशलाई बिभिन्न संकटबाट बचाउन र देशको अस्तित्व जोगाउन कहिले लाहुरेको रुपमा निर्यात गरिए त कहिले मजदुर को रुपमा बिदेशिन बाध्य भए ताकी देश जोगाउन सकियोस ।
देश बचाउनलाई नेपाली युवाले जे जति गरेपनि राजनीतिक संरचनाले उनीहरुको उर्जा नीति निर्माण तहमा प्रत्यक्ष सहभागिताको मार्फत देश निर्माणमा लगाउने नीति निर्माण बन्न सकेन तर पनि महाभारतमा कृष्णको भूमिका न्यायको पक्षधरको रुपमा रहे झैं नेपाली युवा अगाडी देखा पर्ने बेला भैसकेको छ जसले सबैको साझा अस्तित्व, सम्मान र सामाजिक न्याय सहित को पहिचान दिई बिगतमा गरिएका अन्यायहरु सुधार्ने बाचा सहित युगौं देखि पछाडी पारिएका आदिबासी, जनजाती, महिला, मधेशी सबैलाई समेटी समृद्ध नेपाल बनाउन अगाडी बढ्न सकोस् र व्यक्तिगत स्वार्थबस बनाइएका अवसर तथा श्रोत साधनहरु माथिको पहुँचको लागि निर्मित परम्परागत संग्रचना भत्काई सबैको लागि सहज संरचनाको निर्माण कार्यमा जुट्न सकोस र महाभारत जस्तो मानब जीवनको क्षति न हुदै न्याय सम्पादन हुने बाताबरणको सिर्जना गर्न सकियोस् ।
प्रकाशित मिती २०७४ साल श्रावण १० गते सोमबार
हाल, काठमाण्डौं