Logo

यात्रा संस्मरण : जाँगरिलाहरुको देश र पसिनाको नदी

हाम्रो देशका मान्छेहरु के साँच्चै अल्छी, कामचोर र फटाहा नै हुन् त ! हाम्रो देशमा भएको मानिसहरु वीचको अकर्मण्यता के उनीहरुको दोष हो ! जब मैले बुझें कि त्यहाँ प्रत्येक कुरा एउटा प्राविधिक सिलसिलामा चलेको छ । व्यक्तिको मनोगत निर्णयबाट त्यहाँ केही हुन सक्दैन र सबै कुरा ‘सिस्टम’ भित्र छ अनि लाग्यो, विचरा हामीहरु ! यति धेरै शक्ति र सामर्थ्य हुँदा हुँदै पनि वेरोजगार, गरिब र चेतनशुन्य छौं । हामीलाई काम तिर आकर्षित गर्नै नसक्ने सरकार नै हाम्रो अतिरिक्त बोझ छ । सरकारले जनता पाल्नु पर्छ त्यहाँ । प्रत्येक व्यक्तिको जीवनको ग्यारेन्टी गर्नुपर्छ सरकारले त्यहाँ तर, यहाँ हामीले सरकारलाई पाल्नुपर्छ, सरकारका कर्मचारीहरुलाई पाल्नुपर्छ र यहाँका भ्रष्टाचारीहरुलाई जोगाउनु पर्छ । जब कुनै भ्रष्टाचारी जेलबाट सजाय काटेर निस्कन्छ त्यसलाई जेलको ढोकैमा पुगेर हामी फूलमाला पहिर्याउँछौं मानौँ कि उनले भर्खरै राष्टका निम्ति महान काम गरेर आएका हुन्, जब कि यही देश र जनताका लागि मरेका सहीदहरुको चिहानमा एक थुँगो फूल चढाउनु पनि हामीलाई मूर्खता जस्तो लाग्छ । उनीहरुले विकास गरेको ‘विकासको सिस्टम’ र हामीले विकास गरेको ‘मूर्खतापूर्ण संस्कार’ का बीच कस्तो तुलना गर्नु !

        –  कृष्ण धरावासी

हाम्रो विमानका चक्काहरुले भूमि स्पर्श गर्दा हामी अमेरिकाको फिलाडेल्फियाको विमानस्थलमा रहेछौं । त्यहींबाट अमेरिका प्रवेशको पूर्ण अनुमति प्राप्त गर्नु पर्दाेरहेछ । दुई घण्टाको ट्राञ्जिटमा प्रशासकीय प्रकृया पूरा गर्दा गर्दै समय सकिएछ । त्यहाँबाट बर्मिङघमको लागि उड्नु पर्ने हाम्रो विमानले हामीलाई त्यत्तिकै छोडिसकेछ । अमेरिकाको भूमि टेक्नासाथ हामीलाई विपत्तिले स्वागत गरेको थियो । आफ्नै कारणले विमान छुट भएमा अर्काे दिनसम्मको लागि आफ्नो व्यवस्था आफैं गर्नु पर्नेरहेछ ।

       हामी चार जना मध्ये सासु आमाले ह्वील चेयरको उपयोग गर्नु भएको हुनाले उहाँको लागि चाहिं अमेरिकी एयरले वासको व्यवस्था गर्ने भयो तर हामी तीन जना भने शरणार्थी हुने पर्यौं । सासू आमालाई एक्लै छोड्न नमिल्ने हुनाले उहाँको लागि व्यवस्था गरिएकै होटलमा हाम्रो लागि पनि कोठा मागियो तर होटल भरिएको थियो । सासू आमाको स्वास्थ्यलाई ढाल बनाएर केही बेर दलाल गरे पछि उहाँकै कोठामा हामीलाई पनि बास बस्ने अनुमती प्राप्त भयो । कोठा ठूलै र ठूला ठूलै दुईटा वेड थिए । हामी चार जनालाई ढलीमली नै भयो । भोलिपल्ट विहान ६ः३० को विमानबाट स्यार्लाेटतिर उडियो । स्यार्लाेटबाट फेरि अर्काे विमान मार्फत हामी हाम्रो अन्तिम गन्तव्यको हवाइमैदानमा उत्रने थियौं बर्मिङघममा ।
       विहान अमेरिकी आकाश छङ्ग उघ्रिएको थियो । धेरै टाडाटाडा सम्म पनि वादलका टुक्राहरु कतै देखिदैन थिए । मन अनौठो भएको थियो । विमानको सानो झ्यालबाट बाहिर चिहाएर हेरिरहें । आकाश नीलो थियो, हाम्रै काठमाडौं माथिको जस्तै । धेरै टाडा पुगेर त्यो आकाशले पृथ्वीसँग ओठ जोडेको देखिन्थ्यो । तल जमीनमा जंगलै जङ्गल थियो । काठमाडौंमा हुँदा टेलिभिजनमा देखिएको अमेरिका त्यहाँ थिएन । एकसय दश तलाका जुम्ल्याहा भवनहरुको गर्व गर्ने अमेरिकामा घण्टौं उड्दा पनि तल जमीनमा कतै शहर वा वस्ती देखिएन । आँखाले भ्याएसम्म जंगल, ताल, पोखरी, नदी मात्र थियो । बेलाबेला कतै कतै फुस्रा घरका छाना जस्ता देखिन्थे ।

    हाम्रो देशको आकाशबाट पनि तल हेर्दा पहाडहरु, नदीहरु, जंगलहरु, हिमालहरु र खुइलिएका डाँडाहरु देखिन्छन् । तर अमेरिकी आकाशबाट देखिने तलको दृश्य समतल भूमिमा फैलिएको जङ्गलको हरियो फैलावट थियो । जंगल देख्दा जति खुशी लागे पनि पहाड नदेख्दा भने कस्तो कस्तो सुन्दरतामा केही नपुगेको जस्तो लाग्यो । यस्तै लागेको थियो मलाई सन् २००९ मा बर्लिन पुगेका बेला । मैले मि. उल्फेलाई सोधेको थिएँ, ‘यहाँ पहाड हुँदैन ?’ म पहाडै पहाड भएको देशमा जन्मेकोले होला पहाड नभएको ठाउँ सुन्दर हुन्छ जस्तो लाग्दो रहेनछ । साँच्चै नै त्यो समथरमा केही अपुग लागिरहेको थियो ।
       विमानले अवतरणका लागि जब आफ्नो उचाइ घटाउदै गयो, विस्तारै देखिदै गए घरहरु, बाटोहरु, मैदानहरु, गाडीहरु । तैपनि घरहरु त्यस्ता ठूला थिएनन् । जङ्गलभित्र फाट्टफुट्ट फुस्रा छानाहरु देखिदै हराउँदै गर्थे । मनमा कौतुहलता छँदै थियो, कस्तो न होला अमेरिका भनेको त हाम्रै तिरका जस्ता साना साना घरहरु नै त रहेछ ? विमानबाट उत्रिदा भने जहिले पनि यति सफा, व्यवस्थित र सुन्दर ठाउँमा पाइला पर्थे कि आश्चर्य लाग्थ्यो । त्रिभूवन विमानस्थलबाट उड्दा लागेको थियो– ‘कत्रो छ है हाम्रो देशको विमानस्थल ?’ पाँच घण्टा पछि जब हामी कतार विमानस्थलमा थियौं, म त अघि नै अलल्लिए जस्तो भएको थिएँ । जिस्किदै भनें मञ्जुजीलाई – ‘मञ्जुजी ! हेर्नु त यहाँका मानिसले जमीन के सारो बिगारेछन् सिमन्टी दलेर !’ अनि हाँस्यौ मज्जाले ।
     अमेरिका उत्रेपछि दिनदिनै अलिअलि गर्दै त्यहाँका कुराहरु बुझ्दै गइयो । जति बुझ्दै गएँ त्यति नै बुझ्न छोडें । जुन कुरा हाम्रा लागि असंभव जस्तै हुन्छन् त्यहाँ ती कुरा अत्यन्त सामान्य थिए । त्यहाँको सबभन्दा गरीब मानिससँग पनि एउटा कार थियो जब यहाँको सब भन्दा धनी मानिससँग बल्ल बल्ल एउटा कार हुन सक्छ । तर त्यहाँ प्रत्येक मानिससँग कार हुनु सम्पन्नताको विषय होइन बरु आवाश्यकीय बाध्यता रहेछ ।

      सार्वजनिक सवारीका साधनका भरमा काममा जान आउन असजिलो हुनाले प्रत्येक व्यक्तिको लागि कार उसको खुट्टा हो, त्यो नभइ ऊ कहीं पुग्न सक्दैन । दुई डलरको तेल हालेर पनि ऊ कार हाँकिरहेको हुन्छ । कतिपय कार धनीहरु ग्यास स्टेशनमा तेल हाल्न आउने अर्काे कारलाई पर्खि बसेका हुन्छन् र आफ्नो विपन्नता देखाउँदै केही तेलको सहयोग मागिरहेका हुन्छन् ।
गति छाडा मान्छे जहीं पनि छुँदा रहेछन् । अमेरिकामा पनि अर्काको लुट्ने, माग्ने भेटिदा रहेछन् तर माग्नेहरु यहाँ हाम्रा तिरका जस्ता घिन लाग्दा र जवरजस्ती गर्ने भेटिएनन् । तै पनि कारमा चढेर आएर एक कुनामा कार थन्क्याई छेउमा एउटा हातमा प्लाष्टिकको ग्लास थापेर उभिइरहेको हुन्छ । कसै कसैले उसको ग्लासमा एकदुई पैसा खसाल्दै पनि हुन्छन् । तर धेरै जसोले यस्ता माग्नेहरुलाई पैसा दिदैनन् र पुलिसले भेट्यो भने त्यस्तालाई कारबाही गर्दछ ।
    कामगर्न नसक्ने वा बेरोजगारलाई सरकारले ‘फुड स्टाम्प’ दिएको हुन्छ तर त्यसलाई केही दिन मै फुर्मास गरिसकेर कतिपय त्यस्ताहरु माग्न निस्कन्छन् । नसालु पदार्थ सेवीहरु धेरै जसो यस्तो अवश्थामा पुगेका हुँदा रहेछन् । मानिसको बाँच्न पाउने अधिकारलाई सुरक्षित गरेको त्यस देशले एउटा पनि जनतालाई भोकै मर्न नदिदोरहेछ तै पनि त्यस्ता गतिछाडाहरु जानी जानी भोकभोकै हुने र घरविहिन बन्दा रहेछन् । अमेरिकी सौन्दर्यमा मानिसहरुको यो अवस्था जुनमा देखिने दाग जस्तो लाग्यो मलाई ।            

      मलाई लाग्यो अमेरिकाको विकास र सुन्दरता भनेको त्यहाँका नागरिकले गरेको मेहनत नै हो । प्रत्येक व्यक्ति सधै काममा छ र व्यस्त छ । हप्ताको दुई दिन छुट्टीमा समेत पनि अतिरिक्त काम गरिरहेका हुन्छन् त्यहाँ । घण्टे जागीरमा अल्झिएकाहरुलाई काम नगरी वितेको एकएक घण्टा आर्थिक नोक्सानीको बिम्ब बनेको अनुभूत हुन्छ । एकएक सेकेण्टसँग आर्थिक आकर्षण जोडिएको हुँदा मानिस स्वतस्फुर्त रुपमा काममा पुगिरहेको हुन्छ । देशको प्रत्येक व्यक्ति दिनको निम्नतम आठ घण्टा काम गर्दछ भने त्यो देशमा ‘पेण्डिङ्ग’ काम नै के हुँदो हो ? अनि सम्झें, हाम्रो देशमा हामी सरदर कति घण्टा काम गर्छाै । सरकारले तोकेको अनिवार्य आठ घण्टे जागीरमा समेत हामी हाजीर गरेर घुमेर, गफ गरेर, अर्काको कोठा कोठा चहारेर विताइरहेका हुन्छौं । खेती गर्ने किसानहरु वर्षमा दुई वाली फलाएर चित्त बुझाइरहेको हुन्छ, त्यसमा पनि आफ्नो परिवारलाई वर्षदिन खान पुग्ने अन्न फलाउन सक्यो भने ऊ सन्तुष्ट हुन्छ । उध्योग धन्दाहरु वर्षमा कति दिन चल्छन् ?
    अनि सोचें,हाम्रो देशका मान्छेहरु के साँच्चै अल्छी, कामचोर र फटाहा नै हुन् त ! हाम्रो देशमा भएको मानिसहरु वीचको अकर्मण्यता के उनीहरुको दोष हो ! जब मैले बुझें कि त्यहाँ प्रत्येक कुरा एउटा प्राविधिक सिलसिलामा चलेको छ । व्यक्तिको मनोगत निर्णयबाट त्यहाँ केही हुन सक्दैन र सबै कुरा ‘सिस्टम’ भित्र छ अनि लाग्यो, विचरा हामीहरु ! यति धेरै शक्ति र सामर्थ्य हुँदा हुँदै पनि वेरोजगार, गरिब र चेतनशुन्य छौं । हामीलाई कामतिर आकर्षित गर्नै नसक्ने सरकार नै हाम्रो अतिरिक्त बोझ छ । सरकारले जनता पाल्नुपर्छ त्यहाँ । प्रत्येक व्यक्तिको जीवनको ग्यारेन्टी गर्नुपर्छ सरकारले त्यहाँ तर, यहाँ हामीले सरकारलाई पाल्नुपर्छ, सरकारका कर्मचारीहरुलाई पाल्नुपर्छ र यहाँका भ्रष्टाचारीहरुलाई जोगाउनुपर्छ । जब कुनै भ्रष्टाचारी जेलबाट सजाय काटेर निस्कन्छ त्यसलाई जेलको ढोकैमा पुगेर हामी फूलमाला पहिर्याउँछौं मानौँ कि उनले भर्खरै राष्टका निम्ति महान काम गरेर आएका हुन्, जब कि यही देश र जनताका लागि मरेका सहीदहरुको चिहानमा एक थुँगो फूल चढाउनु पनि हामीलाई मूर्खता जस्तो लाग्छ । उनीहरुले विकास गरेको ‘विकासको सिस्टम’ र हामीले विकास गरेको ‘मूर्खतापूर्ण संस्कार’ का बीच कस्तो तुलना गर्नु ! 
     यदि नेपाली जनता अल्छे, कामचोर, र विवेकशुन्य थिए भने तिनीहरुले विदेशमा गएर अरुले भन्दा वढी र कडा परिश्रम कसरी गरिरहन सकेका छन् ? वैदेशिक रोजगारमा गएकाहरु सेनामा जागीर खान गएकाहरु वा विकसित मुलुकमा ‘वर्क परमिट’ पाई स्थायी बसोबास गर्न गएकाहरु त्यहाँ कसरी अरु देशकाहरुको भन्दा पनि कडा परिश्रम गरिरहन सकेका छन् ? आज विदेशमा गएर पनि नेपाली श्रमिकहरुले अरु देशका मानिसहरुको तुलनामा इमान्दार, मेहनती र आज्ञाकारीको रुपमा इज्जत कमाएका छन् ।
      मैले देखें, अमेरिकामा रहेका नेपालीहरु अत्यन्त मेहनती छन् । दिनको पन्ध्र सोह्र घण्टा सम्म पनि उभिएर काम गरिरहेका हुन्छन् । काम दिने संस्थामा सबै भन्दा बढी समय सम्म नेपालीहरु एकै ठाउँ टिकिरहेका हुन्छन् । नेपालमा हुँदा फिटिक्कै काम नगरी घुमेर खानेहरु त्यहाँ काम गर्न नपाएको दिन त्यसै खेर गएकोमा पीर मानिरहेका हुन्छन् । किन ? कसले यस्तो पार्यो ? सबैले काम गरिरहेका ठाउँमा आफू मात्र बेकार बस्न कसलाई मन लाग्छ ? अनि खै त हाम्रो देशमा सरकारले काम दिन सकेको ? खै यहाँको खेर गइरहेको प्राकृतिक स्रोत र साधनलाई वलवान पाखुरीहरु दिएको ?

      आज संसारभरी अन्न बाँड्ने अमेरिका, संसार भरीकैको भन्दा वढी काम गरिरहेको छ । सुतेको छैन, उभिएको छैन, ढल्केको छैन । रामदेवको जस्तो पलेंटी कसेर भुँडी हल्लाइरहेको छैन । न सप्ताह पुराण लगाएर बसेको छ न भजन कीर्तन र तेह्र दिने किरिया कर्ममा अलमलिएर सुस्ताएको छ । त्यसले कुनै पी.सी. सरकारको जादूको लठ्ठी हल्लाएर त्यसको शक्तिबाट अन्तरिक्ष यात्रा थालेको होइन, न अरुका कुरा काटेर, आलोचना गरेर, छिमेकीको घरको जाँतोमा चौथीको रात दिशा गरेर पिंधी दिएर नै विकास गरेको हो ।
     अमेरिकी साम्राज्यवाद, मूर्दावाद भनेर नारा लगाउने हामीहरुले, उसका भन्दा कडा परिश्रम गरेर, उनीहरुको चन्दा र अनुदान नलिएर आफ्नै श्रम र पसिनाबाट स्वाभिमानी तिघ्रा उभिन सके कति राम्रो हुन्थ्यो । कामले नै बन्दो रहेछ देश । श्रमले नै बन्दोरहेछ देश । मैले भन्दा धेरै पल्ट यस्तो देखेर फर्किएका नेताहरु र सरकार प्रमूखहरुले होइन, कहिल्यै आफ्नो घर आँगन नछोडेका र आफूलाई मात्र पुग्ने कमाइ गर्ने बानी परेका दाजुभाई दिदी बहिनीहरुले मात्र पढुन यो लेख भन्ने चाहन्छु  र यो पनि भन्न चाहन्छु कि हामीले आफूलाई मात्र पुग्ने गरि मेहनत गर्ने होइन रहेछ । आफूलाई मात्र पुग्न त कति नै चाहिन्छ र ? आफू वाहेक टोल छिमेक, गाउँ, जिल्ला, राष्ट्र र विदेश समेतलाई पुग्ने गरी गर्नु पर्ने रहेछ मेहनत । मेहनत गरेर मानिस सानो नहुने रहेछ, बरु केही नगरेर सानो हुने रहेछ, हेपिने रहेछ र अरुको दास बन्ने रहेछ ।
      हामी गरिव भएको अरु धनी भएर होइन रहेछ । हामी गरिब भएको अल्छी भएर, काम नगरेर, छिमेकीको रिस गरेर, अर्काको बालीमा बस्तु फुकाई दिएर, अर्काको खेतको पानी पैनीतिर झारिदिएर, रिस, आह्रिस र मूर्खताले गरिब भएका रहेछौं । त्यही दिमाग बोकेर संसदमा पुग्छौं, सरकारमा पुग्छौं, र त्यही चरित्रले सत्ता चलाउँछौं ।
    मलाई आज आफैसँग पनि लाज लागेको छ, कि मैले पच्चिस वर्ष बैंकमा काम गर्दा साँच्चैको काम चाहि कति वर्ष गरे होला ? एउटा शिक्षक वा प्राध्यापकले तीस पैतिस वर्ष स्कूल कलेज पढाउँदा साँच्चै चाहि कति वर्ष पढाउँछ होला ? हामी प्रत्येक रोजगार व्यक्तिले आफ्नो पेशामा रहेर साँच्चै काम कति गर्छाै ? कामै नगरी तलव भत्ता पाउनु पर्छ भनेर हडताल गर्ने हामीहरुले काम पाउँदा चाहिँ कति गर्छाै ? जब सम्म हामीमा यो ज्ञान हुँदैन कि काम नगरी त्यसको दाम लिनु हुँदैन, तब सम्म हामीले देश र देशप्रेमको गीत गाउनु, कविता लेख्नु वा नारा घन्काउनुको सायद अर्थ छैन । मैले पाँच महिना अमेरिकामा बसेर देखेको र बुझेको एउटा पक्ष हो यो ,प्रशंसा र आत्मालोचनाको पक्ष ,श्रमको मूल्य हुँदोरहेछ भन्ने पक्ष ।

नोट : बरिष्ठ साहित्यकार कृष्ण धरावासी मदन पुरस्कार लगायत थुप्रै नेपाली पुरस्कारबाट बिभुषित हुनुहुन्छ   ।

                    – सम्पादक 

           प्रकाशित मिती २०७४,जेष्ठ २९, सोमबार

प्रतिक्रिया दिनुहोस्