Logo

देउवा बने नेपालको ४० औं प्रधानमन्त्री

स्तावेज संवाददाता काठमाडौं,जेष्ठ २३, २०७४ – नेपाली  काँग्रेसका सभापति शेर बहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित भएका छन्  । माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगायत दलको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

            प्रधानमन्त्री पदका लागि देउवाको मात्रै उम्मेदवारी परेको थियो । संसदमा हाल कायम कुल सदस्य संख्या ५९३ मध्ये देउवाको पक्षमा ३८८ मत परेको थियो भने विपक्षमा १७० मत परेको थियो । बिपक्षीलाई पछाडि पार्दै भारी बहुमतले शेर बहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएका हुन् । एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, परिवार दल लगायतको विपक्षी गठबन्धन उम्मेदवारी विरुद्ध उभिएको थियो । नेपालको राजनैतिक ईतिहासमा शेर बहादुर देउवा प्रधानमन्त्री बनेको यो चौंथोपटक हो ।

            देउवाले समकालिन नेताहरुमा सबैभन्दा बढी  प्रधानमन्त्री बन्ने रेकर्ड समेत बनाएका छन् । देउवा पहिलोपटक ०५२ सालमा प्रधानमन्त्री बनेका थिए ।  ४९ वर्षमा नै प्रधानमन्त्री बन्ने सौभाग्य पाएका देउवा यतिबेला भने ७१ बर्ष पार गरिसकेका छन् । दोस्रोपटक उनी ०५८ साल साउन ११ र तेस्रोपटक ०६१ जेठ २१ मा प्रधानमन्त्री बनेका थिए । कांग्रेस र माओवादी केन्द्रबीच भएको भनिएको ‘भद्र सहमति’ अनुसार प्रचण्डले पदबाट राजीनामा दिएपछि देउवाका लागि सिंहदरबार यात्राको बाटो खुलेको थियो। देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए । 

       देउवाको कार्यकालमा दोस्रो चरणको स्थानीय चुनाव हुनेछ । संविधान संशोधन विना चुनावमा भाग नलिने सार्वजनिक अडान राखिरहेको राष्ट्रिय जनता पार्टी नेपाललाई मनाउने चुनौती देउवा सामू छ । कांग्रेस र माओवादी केन्द्रको गठवन्धन संविधान संशोधन र सबै तहको चुनाव गराउने प्रतिवद्धतासहित गत वर्ष सत्तामा आएको थियो। तर संविधान संशोधनको प्रयासमा यो गठवन्धन सफल हुन सकेको छैन।

         देउवाका पूर्ववर्ती प्रचण्डको सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लगिसकेको छ।अब देउवाले कसरी त्यसलाई पारित  गराउन भूमिका निर्वाह गर्न सक्छन् त्यो विषय विपक्षी एमालेलाई उनले कसरी मनाउँछन् भन्नेमा निर्भर गर्नेछ। त्यसका अतिरिक्त प्रादेशिक र केन्द्रीय चुनाव आगामी माघ ७ सम्म गराउनुपर्ने दायित्व देउवासामू छ। यदि त्यसमा उनी सफल भएनन् भने त्यसले देशमा संवैधानिक संकट निम्त्याउनेछ। विगतमा चुनाव गराउने जस्ता देशका कतिपय महत्वपूर्ण कार्यभारहरुमा विफलताको दाग लागेका देउवालाई अहिले आफू सामू रहेका दायित्वलाई सफल पारेर पुरानो आफ्नो छवि सुधार्ने मौका इतिहासले दिएको छ।

प्रतिक्रिया दिनुहोस्