Logo

सभापति ज्यू लाई खुलापत्र

“नेपाली कांग्रेस सवल र सक्षम नभएसम्म सुदृढ देशको कल्पना गर्न सकिदैन, त्यसैले पहिला पार्टी संगठन मजवुत बनाउन जरुरी छ । गुट, उपगुटमा बिभाजित मनस्थितिलाई एउटा ढिक्का बनाउने प्रण गर्नुस् । के गिरिजा बाबुले नसकेको काम तपाईंले गर्न हुँदैन र ? चाकडी र चाप्लुसीको आधारमा होइन, क्षमतावान र इमान्दार साथीहरुलाई अबसर दिनुहोस् । नेता बन्न केन्द्र धाउने परिपाटिको अन्त गर्नुहोस् । कमसेकम यो गर्न सकियो भने हालसालैको स्थानिय चुनावमा भएका कमि/कमजोरी आगामी दिनमा दोहोरिने छैनन । पार्टीलाई बैचारिक रुपमा सवल र सक्षम बनाउनका लागि कार्यकर्ताहरुमा अध्ययन अनुसन्धान गर्ने बानीको बिकास र गम्भिर राष्ट्रिय सवालहरुमा सम्बन्धित बिषय विज्ञहरुको राय सल्लाह लिने परिपाटिको बिकास गर्नु उत्तिकै आवश्यकता छ ।”

   –  ई.राजेन्द्र पौडेल

आदरणिय सभापति ज्यू !

      जय नेपाल !
हुनत, तपाईंको र मेरो बासस्थान को दुरी धेरै टाढा छैन, मोटा मोटा २/३ कि .मि .पनि नहोला । मेरो मनमा गाँठो परेर रहेका र उकुस मुकुस भएका भावनालाई तपाईं समक्ष भेटेरै पनि राख्न सक्थे होला तर मलाई थाहा छ अहिले सम्म पनि निर्वाचन को परिणाम आउने क्रम बाँकी नै छ । भर्खरै मात्र प्रचन्डज्यूले राजिनामा दिईसक्नु भएको छ । नयाँ सरकार को गठन गर्नुछ । बजेट भाषण, संबिधान संशोधनदेखि  दोस्रो चरणको स्थानिय चुनाव जस्ता अनगिन्ती सवाल तपाईंको अगाडि तेर्सिएका छन । यस्ता अनेकौ कुराहरुको तारतम्य मिलाउदा मिलाउदै तपाईंलाई कहाँ फुर्सद होला र ? त्यसैले यो महत्वपूर्ण घडीमा तपाईंको समय बरबाद गर्नु भन्दा यो पत्र मार्फत नै आफ्ना भाबनाहरु अभिव्यक्त गर्ने निर्णय गरेको हूँ ।

 सभापति ज्यू !

         ५०सौं बर्षको राजनीतिक ईतिहास बोकेको तपाईंको बिगत सुन्दा मात्रै पनि अत्यन्तै कहालिलाग्दो छ । पञ्चायती शासकहरुको निर्मम र बर्बर शारिरिक एवं मानसिक यातनाका घटनाहरु सुन्दा अहिले पनि आङ्ग जिरिङ्ग भएर आँउछ । राणा शासनको “र” र पञ्चायतको “प” पनि अनुभुत नगरेकाहरुले आज तपाईंमाथि बर्षिएका सङ्गिन आरोपहरु सुन्दा आश्चर्य चकित छु । जति बेला म कलेज छिर्दै थिए, त्यति बेला तपाईं यो देशको गृहमन्त्री हुनुहुन्थ्यो । शायद ०४८/४९ सालको आसपासतिर हुनुपर्छ, पोखरा एअरपोर्टमा तपाईंलाई स्वागत गर्न जाँदा, पहिलो पल्ट नजिकबाट तपाईंलाई देख्ने मौका मिल्यो, जुनबेला देखिनै मेरो मस्तिष्कले तपाईंलाई यो देशको भावी प्रधानमन्त्री र सभापतिको रुपमा चित्रण गरिसकेको थियो । आज त्यो कल्पनाले मुर्तरुप धारण गरेको छ । गृहमन्त्री हुँदै, तिन/तिन पटक प्रधानमन्त्री र ७० बर्षे लामो ईतिहास बोकेको पार्टिको बागडोर तपाईं हाँक्दै हुनुहुन्छ । आज जसरी मानिसहरु गगन थापालाई आशा र भरोसा को रुपमा हेर्ने गर्छन् यो भन्दा बढी क्रेज त्यति बेला तपाईंमा थियो । उच्च मनोबल, दृढ संकल्प र साहसिक निर्णयकर्ता को पर्याबाची जस्तै लाग्ने तपाईंमा यो सबै सम्भावना त्यति बेला नै देखिन्थ्यो ।

      ७०/७०बर्षको लामो ईतिहास बोकेको नेपाली कांग्रेस , आजको अवस्थासम्म आईपुग्दा, धेरै आरोह अवरोह पार गरेको छ । हजुरबुवा देखि नाती र पनाती पुस्ता सम्मका कार्यकर्ताको विचार र भावनालाई समेट्दै २१औं शताब्दिले चाहेको बिकास र समृद्दिमा मुलुकलाई डोर्याउनु पक्कैपनि चुनौतिपूर्ण कार्य हो । जनता को ईच्छ्या र आंकाक्षाहरु कुनै पनि युरेपियन मुलुकका जनताको भन्दा कम छैन । ग्लोबलाइजेशन र आधुनिकिकरण ले समाजका आंकाक्षा र चाहनाहरु असिमित बन्दै गएका छन तर सो अनुसारको पुर्वाधारहरुको निर्माण र बिकास, हामीमा हुन सकेको छैन । दशकौंसम्म राजनीतिक स्थायित्वको लागि लड्दालड्दै धेरै समय बर्बाद भईसकेको छ । हामी संगैका कैयौ मुलुकहरुले बिकासको शिखर चुम्दै गर्दा हामी भने राजनीतिक हिसाब किताब कै गोलचक्करमा फँसिरहेका छौ ।
            अब पनि राजनीतिक जोड घटाऊ मा लागेर समय गुजार्दै जाने हो भने आर्थिक समृद्दिको सपना भाषण र कागजको खोस्टामा देखाएर मात्रै जनता ले हामीलाई कहिलेसम्म पत्याईरहलान ? राजनीतिक खिचातानीलाई किनारा लगाउदै आर्थिक समृद्दिको बाटो अगाडि बढ्दै गयौं भने यस्ता झिना मसिना कुरा आँफै हराउँदै जानेछन । देशका सारा संयन्त्र, आर्मी, पुलिस, कर्मचारी, निजी क्षेत्र सबैलाई बिकास निर्माण तर्फ मोटिभेसन गरेर अन्तरात्मादेखि लाग्ने हो भने रोजगारी देखिका सारा समस्या आँफै हल हुनेछन । बेरोजगार कारणले पनि धेरै समस्या निम्तिएका छन । अब पनि कांग्रेस यो दिशामा अगाडि बढेन भने, मिती सकिएको औषधी जस्तै रद्दी को टोकरीमा मिल्कन वाध्य हुनेछौं।
         जसरी एउटा आमालाई आफ्नो बच्चा असल होस्, सबैको प्रिय होस्, कसैको नराम्रो नगरोस्, कसैले औंला ठड्याउन नसकुन भन्ने सदिक्षा रहन्छ, त्यसरिनै एउटा पार्टिको कृयाशिल सदस्यको नाताले, पार्टिले सहि दिशामा देशलाई डोर्याएर हिडोस्, आम जनताको हित हुने कल्याणकारी नीति र योजना ल्याओस, नेतृत्वमा बस्नेहरु पार्टिको आदर्शबाट अभिप्रेरित होउन र कसैले पनि राष्ट्र, राष्ट्रियता का सवालमा पार्टिलाई औंला ठड्यायने बातावरण नबनाओस भन्ने चाहना आम कार्यकर्तामा हुनु स्वभाविकै हो ।                           

    कहिलेकाँही नेतृत्वले लिने अप्रिय र अपारदर्शी निर्णयले, पार्टिका इमान्दार कार्यकर्ताले भोग्नुपरेको हिनताबोध र उकुसमुकुसको अवस्था कयौं पटक महसुस गरिएको छ । हामीमा बिपक्षहरु असल नभएकै कारणले मात्र बैचारिक प्रतिबाद गर्न सहज भएको हो । यदि साच्चिकैै बिपक्षहरु इमान्दार र नैतिक धरातलमा उभिएका भए, कांग्रेसको हालत के हुन्थ्यो कल्पना गरौं ।
           पञ्चायती कालरात्रीको बेला एकल निर्णय वा सिमित नेताहरुको राय र सुझाब लिएर निर्णय गर्नुपर्ने अवस्था हुनु स्वभाबिक नै थियो । अहिले पनि त्यहि परम्परा अबलम्बन गरियो भने पार्टि कसरी जिवन्त रहन सक्छ ? बिरालो बाधेर श्राद्द गरे जस्तै गिरिजा बाबुको पालामा एकलौटी निर्णय गर्थे भन्दैमा अहिलेपनि त्यहि परम्परा बसाल्दै जाने हो भने पार्टिलाई कसरी लोकतन्त्रबादी को रुपमा चित्रण गर्न सकिएला ?
           गिरिजा बाबु छदै पनि जब उनले मिडिया वा आमसभामा बोल्न थाल्थे तब हामी जस्ता कार्यकर्ताहरु सतर्क हुनु पर्थ्यो कि बुढाले कति बेला के उटपट्याङ बोलिदिन्छन अनि बिपक्षको प्रतिबाद गर्नुपर्ने हो । आफ्नो नेताले बोल्दा शिर ठाडो पारेर सुन्न पाईयोस, कुनै नयाँ नौलो जानकारी होस, जोस जाँगर बढेर आओस , उर्जा प्राप्त होस् वास्तबमा त्यो तर्फ हाम्रा नेतामा कहिल्यै ध्यान गएन । जुन दिन बिपी जानु भयो, समाजवाद पनि सँगै लिएर जानुभयो । जुन दिन गणेशमान जानुभयो त्याग र समर्पण पनि सँगै लिएर जानुभयो र जुन दिन कृष्ण प्रसाद भट्टराई जानुभयो निस्ठा र मुल्य मान्यता पनि आफूसँगै लिएर जानुभयो ।

         वास्तवमा आज कांग्रेस मियो बिनाको दाई जस्तै अनियन्त्रित भिडको रुपमा परिणत हुने संघारमा पुगिसकेको छ । नत पार्टि कुनै सिद्दान्त,आदर्श र बिचार ले चलेको छ नत कुनै भिजन, मिसन र योजनासाथ अगाडि बढेको छ । समिती उपसमिती र बिभागहरु औपचारिकतामा सीमित छन । अध्ययन, अनुसन्धान गर्ने, योजना र रणनितीहरु बनाउने, बिज्ञहरु सग छलफल गर्ने, राष्ट्रिय/अन्तरराष्ट्रिय अनुभवहरु आदन/प्रदान गर्ने र अरु छिमेकीले गरेको प्रगतिबाट सिक्ने त परको कुरा , भएका बैठक र भेलामा पनि आफ्नै पार्टिभित्रका मान्छेको उछित्तो काढ्ने , साँझपर्न पाएको हुदैन भट्टी छिर्ने, ठूला ठूला गफले आकाशको तारा झार्ने तर माखो नमार्ने प्रवृति नेता एंब कार्यकर्ता मा हावी हुँदै गएको छ । बर्षौभरि सुतेर बस्ने, नेताको चाकडी गर्ने र जब चुनाव आयो, अनी गाँउ पस्ने गरेपछि कसरी संगठन राम्रो हुन्छ ?                    

       हिजोको कांग्रेस र आजको को कांग्रेसमा आकाश जमिन को फरक छ । हिजो मानिसहरु समाज र देशको लागि भनेर कांग्रेसमा लाग्थे तर आज अधिकांस मानिस हरु व्यक्तिगत स्वार्थ पुर्तिका लागि कांग्रेस बनिरहेका छन । पैसा र सत्तामुखी राजनीतिले पार्टीको सिद्दान्त , आदर्श र मुल्यमान्यता ओझेलमा पर्दै गएको छ । राजनीति धमिलिएको छ र यहि धमिलोमा अबसर खोज्नेहरुको सक्रियता बढ्दैछ र राजनीतिमा उनिहरुनै हावी हुँदैछन । आज राजनीतिलाई सम्मानित रुपमा हेरिदैन । राजनीतिमा लाग्नेहरुलाई घृणाको दृष्टिले हेरिन्छ किन ? के राजनीति भनेको सेवा हैन ?

             आदरणिय सभापति ज्यू ! हुनत नेपाली काङ्ग्रेस मात्र होइन सबै पार्टिको दुर्दशा आज उस्तै छ । अरुको हालत पनि उस्तै त छ नि भनेर चित्त बुझाउन कांग्रेसलाई मिल्दैन र सुहाउँदैन पनि । २००७ साल देखि संघर्ष गर्दै, राणा , पञ्चायत र राजा फाल्ने अभियानको नेतृत्व गर्दै अभिभावकत्व निर्बाह गरेको पार्टिले हिजोका इतिहासलाई आत्मसाथ गरेर अगाडि बढ्नु अत्यन्त जरुरी छ । अबको बाटो भनेको आर्थिक समृद्दि हो , यस्को नेतृत्वपनि कांग्रेस ले नै गर्नुपर्दछ । आज तपाईं पार्टि सभापति भएको नाताले मेरो बिनम्र निवेदन छ , कांग्रेसलाई हिजोको जस्तै जनताको पार्टि बनाउने कि नबनाउने ?

              तपाईंको नेतृत्वमा देश ले आर्थिक फड्को मार्ने कि नमार्ने ? आज सारा युवाहरु बिदेशिएका छन, तिनिहरुलाई देशमै बस्ने र मुलुकको लागि पसिना बगाउने बातावरण बनाउने कि नबनाउने ? अपार जलस्रोतको सदुपयोग, पर्यटन र कृषिको आधुनिकिकण गर्ने कि नगर्ने ? यो सबै हामीले गर्न सक्छौ । हामीमा हिम्मत, लगनशिलता र धैर्यता छ । प्राकृतिक स्रोत र जनशक्तिले हामी भरिपूर्ण छौ । सबै कुरा हुँदाहुँदै हामी किन पछाडि ? हामीमा के कमजोरी छ जस्को कारण पछाडि धकिलिदै छौ ? यि सबैको समाधान तपाईं भित्र अन्तर्निहित छ । तपाईं संग यो सबै गर्न सक्ने क्षमता छ , साहस छ र आम नेपाली जनताको तपाईंमाथि विश्वास र भरोसा पनि छ । तपाईं दृढसंकल्प लिएर अगाडि बढ्नुहोस् यो सबै हाम्रै पालामा सम्भब छ र हामीले नै यो मुलुकको मुहार फेर्न सक्छौ ।
        आदणिय सभापति ज्यू ! तपाईंबाट मैले केही आशा राखेको छु । तपाईं तिन/तिन पटक देशको प्रधान मन्त्री भईसक्नुभएको छ । देशको प्रमुख पार्टिको सभापति पनि तपाईं नै हुनुहुन्छ । अब तपाईंलाई कुनै पद, पैसा र प्रतिष्ठाको पछाडि दौडनु छैन । मेरो आग्रह र बिन्ती छ, अब तपाईले देश र समाजका लागि, आम पार्टिका इमान्दार कार्यकर्ता को मनोबल उच्च बनाउदै यो गौरबशाली पार्टिलाई जनताको मन मस्तिष्कमा सदैव रहिरहने बातावरण बनाउन अलिकती जोखिम उठाउनै पर्छ र त्याग गर्नै पर्दछ ।

       नेपाली कांग्रेस सवल र सक्षम नभएसम्म सुदृढ देशको कल्पना गर्न सकिदैन, त्यसैले पहिला पार्टी संगठन मजवुत बनाउन जरुरी छ । गुट, उपगुटमा बिभाजित मनस्थितिलाई एउटा ढिक्का बनाउने प्रण गर्नुस् । के गिरिजा बाबुले नसकेको काम तपाईंले गर्न हुँदैन र ? चाकडी र चाप्लुसीको आधारमा होइन, क्षमतावान र इमान्दार साथीहरुलाई अबसर दिनुहोस् । नेता बन्न केन्द्र धाउने परिपाटिको अन्त गर्नुहोस् । कमसेकम यो गर्न सकियो भने हालसालैको स्थानिय चुनावमा भएका कमि/कमजोरी आगामी दिनमा दोहोरिने छैनन । पार्टीलाई बैचारिक रुपमा सवल र सक्षम बनाउनका लागि कार्यकर्ताहरुमा अध्ययन अनुसन्धान गर्ने बानीको बिकास र गम्भिर राष्ट्रिय सवालहरुमा सम्बन्धित बिषय विज्ञहरुको राय सल्लाह लिने परिपाटिको बिकास गर्नु उत्तिकै आवश्यकता छ ।

        सामुहिक नेतृत्वमा जाने, प्रजातान्त्रिक बिधिको पूर्ण पालन गर्ने र उपयुक्त मान्छे लाई उपयुक्त जिम्मेवारी दिदै जाने हो भने अधिकांश समस्याको समाधान हुनेछ । निकट भविष्यमा गठन हुदै गरेको नयाँ सरकारमा सक्नुहुन्छ भने रामचन्द्र पौडेल लाई जिम्मेवारी दिएर उदार छाती देखाउनुहोस् जस्ले गर्दा एकातिर तपाईंमाथि थोपरिएका बिबिध आरोप बाट तपाईं चोखिनुहुनेछ भने अर्कोतर्फ तपाईंको राजनीतिक उचाइ ह्वात्तै उक्लने छ । यदि त्यो गर्न सक्नु भएन भने कम्तिमा पनि मन्त्री मण्डलमा यस्ता इमान्दार र सक्षम मान्छे लैजानुहोस ताकि नेपाली कांग्रेसको छविमा दाग नलागोस र देशको आर्थिक समृद्दिका लागि स्पष्ट भिजन दिन सकुन । पुराना र अनुभबिको नाममा भ्रष्ट र हिम्मत नभएका मानिस पठाउनु भयो भने त्यो पार्टी र देशकै लागि घातक सिद्द हुनेछ ।

        कृपया यो गुट र त्यो गुट्को नाममा अझै पनि बिभाजित गरेर मन्त्री मण्डलमा पठाउन थाल्नु भयो भने पार्टी बिभाजनको रेखा झनै गाढा बन्दै जानेछ र तपाईंलाई ईतिहासले कहिल्यै माफि दिनेछैन । ईतिहासमा बिपी को जस्तै नाम लेखाउने कि सिंहदरबार मा चौथो पटक प्रधानमन्त्री भएको फोटो मात्र झुण्डाउने तपाईंको रोजाई । मलाई विश्वास छ तपाईंले पहिलो बाटो रोज्नुहुनेछ ।
अन्तमा, सभापति ज्यू ले मेरो अन्तःस्करण भित्र उकुसमुकुस भएर पोखिएका भावनाहरुलाई आम कार्यकर्ताको प्रतिनिधी भावनाको रुपमा बुझेर गम्भिरताका साथ लिईदिनुहुनेछ भन्ने पुर्ण विश्वासका साथ यो कलम बन्द गर्दछु । जय नेपाल !

तपाईंको शुभेच्छुक
ई.राजेन्द्र पौडेल
बुढानिलकण्ठ –१२, काठमाण्डौ

प्रकाशित मिती जेष्ठ १३ गते

प्रतिक्रिया दिनुहोस्