Logo

१४ नेपाली आरोहीहरुबाट सगरमाथाको सफल आरोहण

स्तावेज संवाददाता,जेष्ठ १, २०७४- सोमबार दिउँसो १४ जना नेपाली आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै त्यहाँ अन्य आरोहीलाई पुग्नका लागि बाटो निर्धारण गरेका छन्। पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार सोमबारको आरोहण नै यसपालिको वसन्त ऋतुमा सगरमाथामा नेपालपट्टिको दक्षिणी मोहडाबाट भएको पहिलो सफल आरोहण हो।उक्त आरोहण दलको नेतृत्व पेमा छिरिङले गरेको जनाईएको छ।नेपाल र चीनको सीमाक्षेत्रमा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाको नेपालतर्फबाट मात्रै आरोहण गर्नका लागि ७०० जनाभन्दा बढी आरोहीहरु तयारी अवस्थामा रहेको बताइएको छ ।

सयौं आरोहीहरु सगरमाथा चढ्ने प्रतिक्षामा 

पर्यटन मन्त्रालयका कर्मचारी ज्ञानेन्द्र श्रेष्ठले भने, ”सयौं आरोहीहरु अहिले तलका शिविरबाट माथि चढ्न अनुकूल मौसमको प्रतीक्षा गरिरहेका छन्।”गत शनिबार बिहान मात्रै तिब्बतपट्टिको मोहडाबाट आठौं पटक सगरमाथाको सफल आरोहण गरेर संखुवासभामा जन्मिएकी लाक्पा शेर्पाले सर्वोच्च शिखरमा धेरै पटक पुग्ने महिला आरोहीको आफ्नै विश्व कीर्तिमान तोडेकी थिइन्।करिब ३०० जना आरोहीहरु तिब्बतपट्टिको मोहडाबाट सगरमाथा आरोहण गर्ने क्रममा रहेको तिब्बतमा आरोहणको व्यवस्थापन गरिरहेका सेभेन समिट क्लबका मिङमा गेलु शेर्पाले बीबीसी नेपाली सेवालाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्