Logo

बजारबाट कहाँ हरायो पैसा ?

काठमाण्डौ – नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार वित्तीय प्रणालीमा ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । चैत २० गते सोमबार बैंक, वित्तीय संस्थाहरूसँग कुल ५४ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत २१ गते मंगलबार बढेर ५४ खर्ब ३० अर्ब रुपैयाँ पुगेको हो । यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ४७ खर्ब ८४ अर्बबाट बढेर ४७ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरूको निक्षेप पनि ६ खर्ब ४० अर्बबाट बढेर ६ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै, चालु आर्थिक बर्षको पछिल्लो माघ महिना सम्मको तंथ्याक हेर्ने हो भने  नेपाली बैंकिङ्ग प्रणालीमा २५३ अर्ब ९७ करोडले निक्षेप थपिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । अघिल्लो वर्षको माघ महिनासम्म निक्षेप १६७ अर्ब ३४ करोडले निक्षेप थपिएको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ माघमसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.५ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पछिल्लो सात महिनामा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भएको देख्न सकिन्छ । नेपाली बैंकिङ्ग प्रणालीको सुधारोन्मुख अवस्था हेर्दा वित्तीय संस्थाहरूमा निक्षेप वृद्धिसँगै तरलताको अवस्था पनि सुधारोन्मुख देखिएपछि साढे २ खर्ब रुपैयाँ थप ऋण प्रवाह गर्नसक्ने क्षमता पुगेको छ ।

तर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यम/व्यवसाय गर्न खोज्नेले बैंकबाट रित्तो हात फर्किनुपर्ने अवस्था अझै पनि छ । बैंकसँग लगानीयोग्य पैसा देखिँदा पनि ऋणको ब्याजदर चर्को छ ।

अर्थतन्त्रका लागी विप्रेषण प्रवाह बढ्नु र अर्कोतर्फ बैंकमा निक्षेप बढ्नु राम्रो पक्ष हो ।  योसँगै बैंक तथा वित्तीय संस्थाहरूको काम वित्तीय मध्यस्थता गर्ने हो । बचतकर्ताबाट बचत संकलन गरी लगानीकर्ता तथा ऋणीहरूलाई कर्जा प्रवाह गर्ने हो । यसरी प्रवाह गरिने कर्जाले ऋणीहरूले आफूसँग बचत नभए पनि उपभोग खर्च तथा व्यावसायिक कार्यका लागि लगानी गर्न सक्छन् । उद्योग व्यवसाय गर्न आफ्नै बचतले मात्र पुग्दैन, बैंक कर्जाको खाँचो पर्छ । बैंकले दिने ऋणकै आधारमा अर्थव्यवस्था चलायमान हुन्छ र आर्थिक कारोबार बढ्छ । बैंकबाट कर्जा लिएर शुरू भएका उद्यम–धन्दाले उत्पादन बढाउने, कामको अवसर सिर्जना गर्ने र कर तिरेर सरकारको ढुकुटी बलियो बनाउन सहयोग पुग्दछ ।

अर्थतन्त्र नै जटिलतातिर गइरहेको, आयस्रोत नभएको, मुल्यवृद्धि बढ्नुले पनि बजारमा पैसा नभएको अर्थविद्ध् गोविन्द नेपालले बताएका छन् । ‘राज्यले पुँजीगत खर्च गर्न सकेको छैन् विकास योजना खर्च कम हुन्छ । र यस्तो हुँदा पैसा प्रवाहमा कमि आउँछ र देशमा रोजगारी छैन, अचाक्ली मूल्यवृद्धि छ । यस्ता कारणले बजरमा पैसा छैन् । जनतासँग पैसा छैन् ’ उनले भने । राज्यका सबै पक्ष इमान्दार भएर पारदर्शी ढंगले समाधान खोज्नुपर्ने अर्थविद्ध नेपालको तर्क छ ।

 

तरलता अभाव नभएपनि बैंकहरुले कर्जा दिन नसकेको नेपाली अर्थतन्त्रको प्रवृत्ति नियालिरहेका बैंकर मनोज ज्ञावालीले बताएका छन् । ‘समग्रतामा हेर्ने हो भने बैंकहरुले कर्जा दिन सकिरहेको अवस्था छैन् । तर तरलता अभाव पनि छैन् । बैंकहरुले निक्षेपकर्ताको कुनै पनि निक्षेप पाउने समय भयोे र भुत्तानी लिन्छु भन्दा पाउने अवस्था छ । करेन्ट अकाउन्टमा कलमा सेभिङ्गमा भएको पैसा म चेकबाट ट्रान्सफर गर्छु भन्दा आज बैंकहरुले दिन सक्ने अवस्था छ । बैंकहरुले सीआरआर कायम गरिराखेकै छन’ उनले भने ।

बैंकर्स संघका उपाध्यक्ष समेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन उनी भन्छन, ‘यसबाट बाह्य क्षेत्रमा वेलाबखत दबाब सिर्जना हुने गरेको छ । बैंकिङ्ग क्षेत्रबाट उपल्ब्ध साधनलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाह हुने वातावरण सिर्जना गर्न सरकारबाट प्रभावकारी ढंगले पहल भएको देखिदैन ।’ ‘यो सँगै बजारमा पैसाको कम प्रवाह हुँदा अर्थतन्त्रमा शिथिलता आएको छ । पुँजी निर्माण भएको छैन । सार्वजनिक सेवा विस्तार हुन सकेको छैन । उत्पादन तथा उपभोग बढेको छैन । यसले बजारमा पैसा अभाव भएको हो । लगानी गरेको ठाउँबाट फैसा फिर्ता आएको छैन ।’ सन्तोषले बताए ।

पछिल्लो समय कर्मचारीहरूको जताततै भुक्तानी रोकिएको छ । व्यापारीहरूको उधारो बढेको छ । बैंक र वित्तीय संस्थाहरूमा खराब कर्जा र ऋणीको संख्या दुवै बढिरहेको छ । ब्यापारीहरुले पाउनुपर्ने भुक्तानी समयमा प्राप्त गर्न सकिरहेका छैनन । उच्च मूल्यवृद्धिका कारण उपभोक्ताको क्रयशक्तिमा पनि ह्रास आएको छ । बजारमा पैसा नभएपछि वस्तु तथा सेवाको उपभोगमा पनि कमी आएको छ । पहिला सस्तोमा कर्जा प्रवाह हुँदा धेरैले सेयर, घरजग्गामा लगानी गरे ।

त्यसबाट प्रतिफल पाएपछि खर्च गर्ने क्षमता बढ्दा उपभोगमा वृद्धि भयो । त्यसले आयात वृद्धि भयो । आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा ह्रास आयो । तर अहिले कर्जा प्रवाह नहुँदा घरजग्गा बिक्री रोकिएको छ, सेयर बजार पनि खस्किएको छ । बैंक, लघुवित्त, सहकारीबाट लिएको कर्जा घरजग्गा, सेयरमा फसेको छ । आम्दानी कम भएपछि उपभोग घटेको छ । उपभोगमा कमी आएपछि उत्पादन घटेको छ । व्यापारीले बजारबाट पैसा उठाउन नसकेपछि बैंकको ऋण, व्याज र किस्ता तिर्न सकेका छैनन् । यसरी अर्थतन्त्र प्रभावित भएको छ ।

सेयर बजारमा कारोबार कम हुँदा पैसा हरायो  

गत आर्थिक बर्षको माघ मसान्तमा २८ सय १.६ रहेको नेप्से सूचकाङ्क चालु आर्थिक बर्षको माघ मसान्तमा २१ सय २१.९ कायम भएको छ ।

चालु आर्थिक बर्षको माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.३०६१ अर्ब ९६ करोड कायम भएको छ । गत आर्थिक बर्षको माघ मसान्तमा बजार पुँजीकरण रु.३ हजार ९सय ५९ अर्ब ६५ करोड रहेको थियो ।  चालु आर्थिक बर्षको माघमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४६ पुगेको छ । गत आर्थिक बर्षको माघमा सूचीकृत कम्पनीहरूको संख्या २२६ रहेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालु आर्थिक बर्षको माघ मसान्तमा कुल रु.१५० अर्ब  ६८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । तंथ्याकअनुसार नेपाल धितोपत्र बोर्डले कुल २२ अर्ब ४८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

दिर्घकालीन पुँजी परिचालन गरी आर्थिक क्रियाकलाप गर्न सेयर बजार महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको हुन्छ । तर, नेपालको सन्दर्भमा सेयर बजारमा सिमित कम्पनीहरू छन् । त्यसमा पनि दुई तिहाई बैंक तथा वित्तीय संस्था छन् । तिनै संस्थाबाट कर्जा लिएर तिनै संस्थाको सेयर खरिद हुने गरेको अवस्था पनि छ । त्यसैले गर्दा यस्ता तमाम ठाउँमा पैसा लगाउँदा बजारमा पैसाको कारोबार कम देखिएको हो ।

भावना अवस्थी,काठमाण्डौं

प्रतिक्रिया दिनुहोस्