छोरी पाउन सरकारी जागिर चाहियो
- मेरुदण्ड राईका ५ मुक्तकहरू
मुक्तक – १
न त भाला नै चाहियो न त तीर चाहियो ?
यो भन्दा दु:खी हुन अरू के पीर चाहियो ?
केटी माग्न जाँदा यस्तो प्रस्ताव आउँछ,
छोरी पाउन सरकारी जागिर चाहियो ।
मुक्तक – २
न मित्र न आफन्तजन फूल जस्ता थिए
बरू मेरा लागि दुश्मन फूल जस्ता थिए
उही मान्छेले आज प्रहार गरी गएका छन्,
जो पत्थर जस्ता थिएनन् फूल जस्ता थिए ।
मुक्तक – ३
गरेर छलफल गरेर तय राखिदिनुपर्यो
अन्यौलमै छन् कतिपय राखिदिनुपर्यो
प्रेम सम्बन्ध जोगाउने उपाय जान्न सरकार,
पाठ्यक्रममा प्रेम बिषय राखिदिनुपर्यो ।
मुक्तक – ४
लाग्यो रोग बढ्यो दम बुढेसकालमा
हुँदै गयो आयु कम बुढेसकालमा
छोरो मेरो सहारा सुख देला भनेको त,
राखिदियो वृद्धआश्रम बुढेसकालमा ।
मुक्तक – ५
यस्तो जोखिम लिनु चानचुने कुरा होइन
खुट्टाबिना उभिनु चानचुने कुरा होइन
भन्न त प्रेमीहरू, तारा झारिदिन्छु भन्छन्,
तर तारा झारेर दिनु चानचुने कुरा होइन ।
– सोलुदुधकुण्ड न.पा.-११ तिङ्ला, सोलुखुम्बु ।