Logo

हात र साथ दिने पो सच्चा मित्र !

 - निर्मलरमण पराजुलीका ५ मुक्तकहरू

               मुक्तक -१

देशलाई माया गर्ने मान्छे , राजनीतिमा आउनुपर्छ

स्वच्छ छवि भए मात्र , देश हाँक्न पाउनुपर्छ

देश र जनता सबै भुली , आफ्नै स्वार्थ पूरा गर्ने

जनता मिली अब यस्ता , नेता पाखा लाउनुपर्छ ।

                    मुक्तक -२

जता हेर्छु उतै देख्छु , पाइलैपिच्छे काल सडकमा

कहिले हुन्छ धुलै धुलो , कहिले हुन्छ ताल सडकमा

फोहोर मैला भिडभाड , जताततै जामै जाम

कहिलेसम्म हेर्नुपर्छ ? यस्तै यस्तै बेहाल सडकमा ।

                       मुक्तक -३

सिउँदोको सिन्दूर पुछिएपछि , हातका चुरा फुटेपछि

जिन्दगीबाट सदाका लागि , पतिको साथ छुटेपछि

मलाई बोक्सीसम्म भन्न , पछि परेन यो समाज

मेरो सुन्दरता मेरो जवानी , समयले सबै लुटेपछि ।

                  मुक्तक -४

सुख होइन दुःख पर्दा , हात र साथ दिने पो सच्चा मित्र

हाँसो भन्दा आँसु झर्दा , हात र साथ दिने पो सच्चा मित्र

शत्रु पनि आफ्ना हुन्छन्, खुशी र सुखी हुँदाखेरि

दुःख पिडाको नदी तर्दा , हात र साथ दिने पो सच्चा मित्र ।

                  मुक्तक -५

तिम्रो साथ पाउँदा जीवन , लाग्छ बहार छाए जस्तो

जिन्दगीमा दुःख सिद्धिई , खुशीका दिन आए जस्तो

आफ्नोभन्दा बढी तिम्ले , मेरो माया गर्दाखेरि

साँच्चै लाग्छ अचेल मलाई , ठूलै वरदान पाए जस्तो …।

         – सामाखुशी , काठमाण्डौं ।

प्रतिक्रिया दिनुहोस्