Logo

कविता -सुनामीको प्रतीक्षा

           – रविन न्यौपाने

कुनै यस्तो भयानक आगलागी होस !

जसले राख पारोस्

धोत्रिएर धमिरा लागेको बुढा रुखहरू ….

अनि पलाउन कलिला भाब्राहरु ….

कुनै यस्तो भयानक हुरी आओस् !

जसले उडाओस् जमिनका कुडा कर्कटहरु ….

अनि रङ्गहरू पोतोस् विकास र समृद्धिका …

कुनै यस्तो भयानक झरी परोस् !

जसले बगाओस् कुरीति र कुसंस्कारका पाप्राहरू ..

अनि चम्किउन स्वयम्भुनाथका गजुरहरू …

कुनै यस्तो भयानक सुनामी आओस्  !

जसले डुबाउन सदियौँदेखि राज गरेका

अँध्यारा हिरन्यकसिपुहरु ….

अनि जन्माउन

उज्याला उज्याला महात्मा प्रल्हादहरु ।

कुनै यस्तो भयानक भुमरी परोस् !

जसभित्र पुरिएर सर्वनाश होउन्

निशाचारका पश्चगामी कोइलाहरू ….

अनि प्रज्वलित होउन्

गर्भभित्रका लाभाका

अग्रगामी झिल्काहरू ….

प्रतिक्रिया दिनुहोस्