Logo

कमोडिटी मार्केटमा कसरी गर्ने लगानी ?

काठमाण्डौं – कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेल लगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम कम गर्ने उद्देश्यले यस्ता वस्तुहरूको व्यवस्थित तवरले एक्सचेञ्जमार्फत कारोबार हुन्छ । यो प्रणालीमा वस्तुहरूको कारोबार करारपत्र बनाई गरिन्छ । यस्तो करार सूचीकरण गरी कारोबार गर्ने गराउने एक्सचेञ्जहरूलाई कमोडिटीज एक्सचेञ्ज भनिन्छ । नेपालको हकमा हालसम्म स्थापित सबै कमोडिटीज एक्सचेञ्जहरूले कृषिउपज, धातु तथा ऊर्जाको करारमा कारोबार गर्दै गराउँदै आएका छन् । अहिले चलनचल्तीमा यस्ता करारका चार प्रकार प्रमुख छन् : फरवार्ड, फ्युचर्स, अप्सन र स्वाप । हाल नेपालको कमोडिटीज एक्सचेञ्जमा भने फ्युचर्समा मात्र कारोबार हुने गरेको छ । नेपालको कमोडिटी बजारमा उपयोग हुने मूल्य अमेरिकी डलर र भारतीय रूपैयाँलाई आधार मानेर तय हुने गरेको छ ।

के हो कमोडिटि एक्सचेन्ज ?

कमोडिटी एक्सचेञ्ज विभिन्न वस्तुहरूको खरीदबिक्री गर्ने ठाउँ हो । कमोडिटी बजारमा वस्तुको स्वामित्व एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नेमात्र नभएर भौतिकरूपमा पनि वस्तुलाई एक ठाउँबाट अर्को ठाउँमा सारिन्छ । अहिले भौतिक वस्तुको उपस्थितिबिना पनि त्यस्ता वस्तुको स्वामित्व मात्र खरीद बिक्री हुन थालेको छ । यो कारोबार संगठित कमोडिटीज एक्सचेञ्ज (वस्तु बजार)बाट हुनेगर्छ । स्वामित्वको मात्र खरीद बिक्री हुँदा वस्तु भने जहाँ थियो त्यहीँ (अर्थात गोदाममै) रहिरहन सक्छ । वस्तुको स्वामित्व जनाउने कागजको मात्र खरीद बिक्री हुन्छ । यसरी हेर्दा कमोडिटी बजार जग्गाको खरीद बिक्री जस्तै हुन्छ । तसर्थ, यस्ता वस्तुहरू (जसलाई कमोडिटीज भनिन्छ)मा पनि शेयर वा जग्गामा जस्तै लगानी गर्न सकिन्छ । यसकारण संगठित कमोडिटी एक्सचेञ्जलाई स्टक एक्सचेञ्ज जस्तै पूूँजीबजारको एक अंगको रूपमा लिने गरिन्छ ।

नेपालमा कमोडिटीज एण्ड मेटल एक्सचेञ्ज नेपाल

नेपालमा कमोडिटी बजारको शुरूआत भएको दशकौं भए पनि औपचारिकरूपमा करीब सात वर्षअघिदेखि मात्र भएको हो । कमोडिटी एण्ड मेटल एक्सचेञ्ज नेपाल (कोमेन)को स्थापनासँगै १४ डिसेम्बर सन् २००६ बाट यसको औपचारिक शुरुवात भएको हो । (कोमेन), मर्कण्टाइल एक्स्चेञ्ज नेपाल (मेक्स), नेपाल डेरिभेटिभ एक्सचेञ्ज (एनडेक्स), वेल्थ एक्स्चेञ्ज प्रालि (वेक्स), कमोडिटी फ्युचर एक्सचेञ्ज (सीएफएक्स), एसियन डेरिभेटिभ एक्सचेञ्ज (एडिएक्स), डेरिभेटिभ एण्ड कमोडिटी एक्सचेञ्ज(डीसीएक्स),एभरेष्ट कमोडिटी एक्सचेञ्ज (ईसीएक्स) र आरसीडीएक्स गरी नौवटा कमोडिटीज एक्स्चेञ्ज कम्पनी सञ्चालनमा छन् । केही कम्पनी सञ्चालनको तयारीमा रहेको बुझिएको छ ।

 समग्रमा, कमोडिटी मार्केटमा लगानी गर्दा यी कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ :

  • कमोडिटी फ्युचर्स कारोबार गर्दा सतर्कता अपनाउने ।
  • विज्ञहरुको सल्लाह सुझावलाई बराबर महत्व दिने ।
  • विभिन्न वेबसाइटमा भएका लगानी मन्त्रका बारेमा सचेत रहने ।
  • आधिकारिक वेबसाइट, टेलिभिजन मात्र प्रयोग गर्ने ।
  • जथाभावी आउने इमेलका बारेमा सचेत रहने ।
  • सल्लाह सुझाव दिने क्लियरिङ मेम्बर, ब्रोकरमा विश्लेषणको वास्तविकताको जाँच गर्ने ।
  • आफूले लिने जोखिमको मात्राको निर्धारण गर्ने ।
  • नाफा बुक गर्ने र सँधै अगाडि रहने ।

आफूसँग केके चाहिन्छ ? 

कमोडिटी बजारमा लगानी गर्न तपाइँसँग लगानी गर्ने रकमका साथै कम्प्युटर र इन्टरनेट कनेक्सन हुनुपर्छ ।
कमोडिटी बजारको बारेमा राम्रो जानकारी पनि हुनुपर्छ । यसका लागि विभिन्न पुस्तक, तालिम र वेबसाइट सहयोगी हुन सक्छन् ।

कमोडीटी फ्युचर्सको विश्व इतिहास 

कमोडिटीमा फ्युचर्स कारोबार प्राचीन दार्शनिक थेल्सले शुरू गरेको पाइन्छ । थेल्सले एउटा यस्तो विशेष सूत्र विकास गरेका थिए, जसको सहायताले सो समयमा जैतूनको भविष्यको मूल्य अनुमान गरेर त्यसमा लगानी गरी मुनाफा आर्जन गरेका थिए । यसलाई दार्शनिक ‘एरिस्टोटल’ ले आफ्नो पुस्तक ‘पोलिटिक्स’ मा समेत उल्लेख गरेका छन् । तर पहिलो आधुनिक कमोडिटी फ्युचर्स एक्सचेञ्ज जापानको ओसाकामा रहेको ‘डोजिमा राइस एक्सचेञ्ज’लाई मान्ने गरिएको छ । त्यसपछि अमेरिकामा सन् १८४८ मा ‘सिकागो बोर्ड अफ ट्रेड’ (सीबीओटी) स्थापना भएको थियो ।

अहिले सबैभन्दा ठूलो कमोडिटी फ्युचर्स एक्सचेञ्जमा ‘सिकागो मर्कण्टाइल एक्सचेञ्ज’ पर्छ । सिकागो मर्कण्टाइल एक्सचेञ्ज सन् १९१९ मा स्थापना भएको हो । सन् १९७० को दशकमा आएर कमोडिटी डेरिभेटिभमा पनि कारोवार शुरू भयो । १९७० को दशकबाटै कमोडिटीको कारोबारमा उच्च प्रविधिको प्रयोग बढ्न थालेको हो । हाल विश्वभर कमोडिटी कारोबार अत्याधुनिक कम्प्युटरबाट स्वचालितरुपमा इण्टरनेटबाट हुने गर्छ । भविष्यको कुनै निश्चित समयमा वस्तु तथा सम्पत्ति हस्तान्तरण गर्ने गरी वा नगदै हिसाबकिताब गर्ने गरी आजै मूल्य तोकेर गरिएका सम्झौतालाई डेरिभेटिभ भनिन्छ । यस्ता सम्झौताहरू वस्तु तथा सम्पत्ति किनबेच गर्नमात्र नगरी अन्य वित्तीय सम्पत्तिहरू जस्तै शेयर, ऋणपत्र, ब्याज घरजग्गा आदि हस्तान्तरण वा किनबेच गर्न पनि गरिन्छ । यस प्रक्रियामा जुन वस्तुको सम्झौता गरिन्छ त्यसलाई त्यही वस्तुको डेरिभेटिभ भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्