Logo

रोजगारी गुमाउदै बहुसंख्यक युवाहरु

कारोबार आज ,भदौ १८ गते बिहिवार २०७७,काठमाण्डौं – कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएका नेपालीहरु धमाधम स्वदेश फर्किने क्रम बढ्दो छ । अधिकांश त आउन नपाएर उतै रोकिएका छन् । स्वदेशमै पनि रोजगारी गुमाउनेको संख्या दिनपरदिन बढ्दै गईरहेको छ । बर्तमान परिवेशमा स्वदेश होस् या विदेश, रोजगारी गुमाउने भनेका युवा जनशक्ति नै रहेका छन् ।

नेपाल कृषि प्रधान देश भएकोले सरकारले जनताहरुलाई कृषिमा बढि सहजीकरण गर्न सकेमा पक्कैपनि भोकमरीले मानिसहरु मर्नुपर्ने छैन । सहुलियत कर्जामा सहजीकरण गरे वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यवसायिक कृषिमा लाग्नेछन् । कृषि, पर्यटन र उध्योगमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिन्छ । उध्योग लगायत प्राविधिक क्षेत्रमा अधिकांश विदेशी कामदारहरु रहेको परिप्रेक्ष्यमा नेपालीलाई सीप सिकाएर विदेशी कामदार विस्थापित गर्न सकिने बलियो सम्भावना देखिन्छ ।

कृषिमा ठूलो रोजगारीको सम्भावना भने छैन । तथापी नयाँ प्रविधिबाट रोजगारीमा आउन सक्ने सम्भावना भने प्रबल रहेको छ । पर्यटन क्षेत्रमा पनि यो वर्ष तालिम दिएर अर्को वर्ष पूर्वाधार लगायतमा रोजगारी दिलाउन सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् । मझौला तथा घरेलु उध्योग क्षेत्रमा पनि पर्याप्त रोजगारी सिर्जना गर्न सकिने देखिन्छ । वित्तीय प्याकेजमा सहयोग गरे रोजगारी पुनःस्थापित हुन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अल्पकालीन रुपमा रोजगारी पाएपनि यसबाट व्यक्तिहरु पूरै बेरोजगार भने हुँदैनन् । जसबाट रोजीरोटीका लागि भारत जानुपर्ने बाध्यता केहि हदसम्म भएपनि टर्नसक्ने देखिन्छ ।

चालू आर्थिक बजेटमा सरकारले करिब १० लाखलाई रोजगारी दिने उल्लेख गरिएको छ । कोरोनाका कारण बेरोजगारको संख्या बढ्दै जाँदा सरकारले त्यसलाई सम्बोधन गर्ने वास्तविक खाका भने ल्याउन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवालाई सक्षम बनाउँदै स्वदेशमै रोजगारी दिने घोषणा गरे । जसमा बेरोजगारी समस्या हल हुने गरी रोजगारीका कार्यक्रम ल्याउने तयारी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

नेपालको करिब ३ करोड जनसंख्यामध्ये १ करोड ७ लाख युवा छन् । स्वदेशमा रोजगारी नपाएका २६ लाखभन्दा बढी युवा विदेशमा पसिना बगाइरहेका छन् । बर्सेनि ५ लाखभन्दा बढी युवा श्रम बजारमा आउँछन् । ती मध्ये ५० हजारले पनि स्वदेशमा रोजगारी पाउन सकेका छैनन् । हरेक बर्ष साढे ४ लाख जनशक्ति विदेश पलायन हुन्छ । जसमध्ये १.५ प्रतिशत मात्रै दक्ष जनशक्तिका रूपमा बाहिरिन्छन् । ७४.५ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष रहेको पाइएको छ । त्यसमाथि कोरोनाले वैदेशिक रोजगारी खुम्चिने देखिएको छ ।

वैदेशिक रोजगार बोर्डको अध्ययन अनुसार खाडी र मलेसियाबाट मात्रै ४ लाख ७ हजार युवाले रोजगारी गुमाएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार विदेशबाट पौने ६ लाख नेपाली कोरोनाका कारण फर्किने तयारीमा छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार स्वदेशमै १६ लाख युवाले रोजगारी गुमाइसकेका छन् । कोरोनाको कहर झन्झन् बढ्दै गएकाले बेरोजगारीको भयावह स्थिति आउने अर्थविद्हरुले आँकलन गरेका छन् ।

केन्द्रीय तथ्यांक विभागको श्रमशक्ति सर्वेक्षण २०१९ अनुसार श्रम बजारमा उपलब्ध ८० लाख नेपाली मध्ये ९ लाखभन्दा बढी (११.४) प्रतिशत बेरोजगार छन् । श्रमबजारमा उपलब्ध मध्ये ७१ लाखले मात्र रोजगारी पाएका छन् । नेपालमा १५ वर्षमाथि काम गर्ने उमेरको जनसंख्या २ करोड ८ लाख छ । श्रमशक्तिभन्दा बाहिरको जनसंख्या १ करोड २७ लाख ५० हजार रहेकोमा पुरुष ४२ लाख ५० हजार र महिला ८५ लाख छन् । रोजगारीमा रहेका जनसंख्यामध्ये ६९ प्रतिशत सहर र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा कार्यरत रहेको तथ्यांकले देखाउँछ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले युवा रोजगारी तथा सशक्तीकरणका लागि युवा लक्षित कार्यक्रममा ६४ अर्ब ४९ करोड बजेट विनियोजन गरिएको बताएका थिए । बढीभन्दा बढी युवालाई रोजगारीमा संलग्न गराउन स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ रहेको थियो ।

राजनीतितर्फ हेर्ने हो भने स्थानीय तहमा ४० प्रतिशत, प्रदेश तहमा ३० प्रतिशत र केन्द्रमा १३ प्रतिशत युवाको प्रतिनिधित्व रहेको छ । नीति निर्माणमा युवा सहभागिता बढाउन सके बेरोजगारी समस्या समाधान गर्न सहज हुने मन्त्री सुनारको भनाइ छ । राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसंख्याको ४०.३५ प्रतिशत (१ करोड ७ लाख) युवा छन् । युवा विकास सूचांकमा १४५ औं स्थानमा रहेको नेपाल सन् २०१६ देखि ६८ देशलाई उछिन्दै विश्वमा ७७ औं नम्बरमा उक्लिएको छ । रोजगारी, शिक्षा लगायतमा सुधार गर्ने गरी परिषद्ले युथ भिजन २०२५ अवधारणा अघि सारेको छ । गुणस्तरीय शिक्षा र रोजगारीका लागि समूहगत प्राथमिकता निर्धारण गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको भनाइ छ । उनका अनुसार युवा उद्यम, राष्ट्रपति उद्यम कार्यक्रम र सहुलियत कर्जामार्फत युवालाई रोजगारीमा जोड्न पहल भइरहेको छ ।

सहुलियत कर्जाबाट मात्रै यस वर्ष ४ लाखभन्दा बढी युवा लाभान्वित हुने उनको दाबी छ । परिषद्ले वैदेशिक रोजगारीबाट फर्केका युवालाई एनएमबी बैंकसँग सम्झौता गरी सहुलियत कर्जा प्रदान गर्न पहल गर्दै आएको छ । अन्य बैंकसँग पनि सम्झौता गरी सहुलियत कर्जा कार्यान्वयनमा जोड दिइएको छ । अनेरास्ववियुकी नेत्री सुनिता बरालले जीवनोपयोगी तथा रोजगारी केन्द्रित शिक्षा दिन सके बेरोजगार बस्नु नपर्ने बताइन् । तलब र ज्याला पाउने काममा वा नाफा र नोक्सान आफैं बेहोर्ने गरी कुनै व्यवसायमा युवालाई संलग्न गराउन सरकारले ठोस नीति ल्याउनुपर्ने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रेमिट्यान्स भित्रिएको छ। यो कुल गार्हस्थ्य उत्पादनको तुलनामा २४ प्रतिशत हिस्सा हुन आउँछ । अघिल्लो वर्षको तुलनामा चार अर्ब कम रेमिट्यान्स भित्रिएको छ ।

साभार,अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्