Logo

प्रदेश दुईमा गत आर्थिक वर्षमा करिब ४७ प्रतिशत बजेट मात्र खर्च

कारोबार आज,  २०७७ साल साउन ८ गते बिहिवार,जनकपुरधाम – प्रदेश दुईमा गत आर्थिक वर्षमा कुल बजेटको आधापनि खर्च भएको छैन। संघ सरकारले बजेट नै दिएन भनेर आरोप लगाउने प्रदेश सरकारले प्रत्येक वर्ष झै यस वर्षपनि आफ्नो बजेट खर्च गर्न सकेको छैन।

आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले ल्याएको बजेटको ४६.९५ प्रतिशत मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश दुई सरकारले ल्याएको ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार कुल बजेट मध्ये १८ अर्ब २ करोड ३० लाख ५० हजार मात्रै खर्च हुन सकेको छ।

गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा २७ प्रतिशत मात्रै खर्च हुन सकेकोमा आर्थिक वर्षको अन्तिम महिना असार मसान्तमा थप १९ प्रतिशत खर्च भएको जनाइएको छ।गत वर्ष प्रदेश सरकारले सबैभन्दा बढी बजेट धनुषा जिल्लाको लागि छुट्याएको थियो तर खर्चको अवस्था पनि सबैभन्दा निराशाजनक धनुषा जिल्लाकै रहेको छ।

प्रदेश लेखा नियन्त्रकको कार्यालय अनुसार धनुषा जिल्लामा २७.९ प्रतिशत बजेट मात्र खर्च हुन सकेको छ । धनुषा जिल्लाका लागि प्रदेश दुई सरकारले चालु तर्फ १० अर्ब ४८ करोड छुट्याएकोमा ३ अर्ब २८ करोड खर्च भएको छ। त्यस्तै धनुषा जिल्लाकै लागि पूँजीगत तर्फ ११ अर्ब ५४ करोड छुट्याइएकोमा २ अर्ब ८७ करोड मात्रै खर्च हुन सकेको हो। धनुषा जिल्लाका लागि छुट्याइएको बजेट मध्ये कुल ६ अर्ब १४ करोड मात्रै खर्च हुन सकेको छ ।

प्रदेश दुईमा सबैभन्दा बढी बजेट खर्च महोत्तरीमा भएको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सबैभन्दा कम बजेट रहेको महोत्तरी जिल्लामा सबैभन्दा बढी बजेट खर्च भएको हो। गत आर्थिक वर्षमा महोत्तरी जिल्लाका लागि पूजीगत तर्फ ६९ करोड ९१ लाख बजेट छुट्याइएकोमा ४५ करोड ८७ लाख खर्च भएको छ। महोत्तरीमा कुल बजेटको ७५.२ प्रतिशत बजेट खर्च भएको हो।

सिरहामा ६२.६९ प्रतिशत बजेट खर्च भएको छ। सिरहामा १ अर्ब ४८ करोड बजेट छुट्याइएकोमा १ अर्ब ११ करोड बजेट खर्च भएको छ। त्यस्तै सप्तरीमा १ अर्ब १९ करोड छुट्याइएकोमा ७३ करोड ३४ लाख अर्थात ६७.७५ प्रतिशत बजेट मात्र खर्च भएको छ। सर्लाहीमा ९७ करोड ८४ लाख बजेट छुटयाइएकोमा ४२ करोड ४३ लाख अर्थात ६८.४७ प्रतिशत बजेट खर्च भएको छ।

रौतहटमा पूजीगत तर्फ कुल १ अर्ब ४० करोड बजेट उपलब्ध गराइएकोमा १ अर्ब ४ करोड अर्थात ७१ प्रतिशत खर्च भएको छ। पर्सा जिल्लाका लागि १ अर्ब ९९ करोड पूजीगत तर्फको बजेट छुट्याइएकोमा १ अर्ब २० करोड अर्थात ५९.४९ प्रतिशत खर्च भएको हो।

त्यस्तै बारामा ६१.६८ प्रतिशत बजेट मात्र खर्च भएको छ। ७७ करोड ३५ लाख कुल बजेट छुट्याइएकोमा यस जिल्लामा ३९ करोड ६६ लाख खर्च भएको छ। आर्थिक वर्ष २०७५/०७६ मा समेत प्रदेश सरकारले बजेट खर्च गर्न सकेको थिएन। त्यस आर्थिक वर्षमा प्रदेश दुईमा ५१ प्रतिशत बजेट खर्च गरेको थियो। गत आर्थिक वर्षमा कोरोना महामारी, अवण्डा रकम बढी रहेकोले बजेट खर्चको अवस्था निराशाजनक रहेको प्रदेश दुईका लेखा नियन्त्रक कार्यालयका प्रमुख मनोज कुमार दासले बताए।

प्रतिक्रिया दिनुहोस्