कविता – सागर बिच उभिएको एक्लो साईप्रस म
-उषा शेरचन
साँचो प्रेम गर्न कति गार्हो हुन्छ?
मैले त्यो बुझेको छु
साँचो प्रेम पाउन कति सार्हो हुन्छ?
मैले त्यो पनि बुझेको छु
प्रेम गर्दा प्रेम मात्रै गर्छु म
कुनै लेखाजोखा गर्दिन
कुनै यक्ष प्रश्न सोध्दिन
कुनै हिसाब किताब राख्दिन
हो, म प्रेम गर्छु तिमीलाई
हृदयको अत्यन्तै गहिराइबाट
तर, सालको पात फेरेझैँ फेर्दै
प्रेमलाई बदनाम गर्दिन म
शून्यबाट एक र एकबाट अनेक गर्दै
प्रेमलाई बदनाम गर्दै हिँड्दिन म
चाहे मिलन र बिछोडका हिमालहरू
जति नै चढ्न किन नपरोस् ?
चाहे आशा र निराशाका घोडाबाट
जति नै लड्न किन नपरोस् ?
कायर भएर कहिल्यै भाग्ने छैन म
तिमीलाई प्रेम गर्न कहिल्यै छाड्ने छैन म
हो ! मलाई पागल भन्छन् प्रेम गर्न नजान्नेहरू
हो ! मलाई पागल सोच्छन् प्रेमका मूल्य नबुझ्नेहरू
समयको निर्दयी प्रहार जति नै खप्नुपरे तापनि
समयको आँधिहुरी जति नै झेल्नुपरे तापनि
प्रेमको झन्डा गाडी नै रहनेछु म
प्रेमको उत्सव मनाई नै रहनेछु म
एक्लो बाँच्न त्यति सजिलो छैन
मैले त्यो बुझेको छु
एक्लै हाँस्न झनै सजिलो छैन
मैले त्यो पनि बुझेको छु
र, पनि यो अथाह सागर छेउ
एक्लै नितान्त एक्लै उभिएको
साईप्रस म
बषौंदेखि तिमी नआउने बाटो हेरेर
तिमीलाई नै पर्खिरहेको छु
तिम्रै बाटो हेरिरहेको छु
जीवन म प्रति जति नै कठोर बने तापनि
जीवनको सूर्य जति नै उदाउने र अस्ताउने गरे तापनि
जीवन प्रति कठोर बन्न
कदापि सक्तिन म
तिमीलाई प्रेम नगरी रहन
कदापि सक्तिन म
आफैँसँग आफैँले एउटा प्रण गर्दैछु म
आफैँले आफैसँग भीष्म प्रतिज्ञा लिँदैछु म
एक न एक दिन,
पाषाण हृदयमा प्रेमको अंकुर
फुटाएरै छाड्ने छु
प्रत्येक धड्कनमा प्रेमको विश्वास
जगाएरै छाड्ने छु
तिम्रा सबै पीडाहरू लिन चाहन्छु म
मेरा सबै खुसीहरू तिमीलाई दिन चाहन्छु म
छालहरू जति नै उर्लेर
मलाई ढाल्न खोजे तापनि
सुनामीहरू जति नै उठेर
मलाई गाल्न खोजे तापनि
अजम्बरी प्रीत लाई नै रहने छु म !
अजम्बरी गीत गाई नै रहने छु म !!
– प्रकाशित मिति, २०७७ साल श्रावण ७ गते बुधवार