Logo

कविता – फूल

                                     – लक्ष्मण चौलागाईं विद्रोही
प्रेमिल फूलहरू रङ्ग भर्दै थिए
फाट्टफुट्ट फूल जिस्काउँदै थिए
तारे भिरबाट फूलले डाक्दै गर्दा
म नसुन्ने भैसकेको थिएँ,
फूलको रंग नठम्याउने बन्दै थिएँ।
उज्यालोमा रात धेरै थियो,
देख्ने प्रयत्न गर्दा गर्दै –
चर्म-चक्षुको उज्यालो
निभ्दै थियो…
फूलले मलाइ बोलाउँदै गर्दा,
मेरो यात्राको तर्जुमा हुँदै थियो।
अन्ततः ती फूलहरुको साथ
हराउँदै जाँदा…
म रूपी शरीर मृत थियो
मलाइ अन्तिम भेट गर्दै
ओइलाउँदै निर्दोष
सयपत्री
मेरो शव पुर्दै थियो।
प्रेम दिवसमा शुभकामना
सन्देश बाहक फूलहरू
मलाइ हेर्नुहुन्न भन्दै थिए।
भिरको अप्ठ्यारोमा
मलाइ डाक्ने फूलहरू
झरिसकेका थिए ।
म चितामा जल्दै गर्दा
मेरो संसार मै सँग जल्दै थियो।
फूलहरू म बाट टाढा थिए,
नटर्ने मिति पुगेकोले
मेरो संसार मै सँग
जल्दै थियो।
यादहरू मात्र छोडेर
म रूपी मनको शरीर
क्रमशः एक मुठी खरानी
बन्दै गर्दा,
आत्मा,मुक्तिको महाप्रस्थानमा
विलय भई उड्दै थियो।
ती प्रेमिला फूलहरूले नदेख्ने गरी
कथा कहानीको अन्त्य थियो ।
राम्रो चर्चा गर्ने धेरै थिए,
नराम्रो सोच्नेहरू नराम्रो चर्चामा
डुब्दै थिए,
ती चर्चा अरूले सुन्दै थिए,
म त्यहाँ थिइन,तर कोहीको
यादमा म बाचेको मैले थाहा
पाउन पाइन
चर्चा भने चल्दै थियो…।
अबोध फूलहरूले चर्चा सुनेनन्
न कि त्यो फूलको लागि
इतिहास मेरो अन्जान थियो ।।
प्रकाशित मिति, २०७७ साल असार २५ गते बिहिवार

 

 
प्रतिक्रिया दिनुहोस्