कविता – मृत्यु
ऊ आफ्नो घर छोडेर मेरोमा आयो,
या म, मै नरही उसमा मिसिएँ,
बहसको विषय रहेन ,
छोडेर जाने यो पिँजडा
जसको भए पनि केही फरक परेन।
फरक यो मानेमा परेको छ कि !
ऊसँग भेटिएपछि म नराम्ररी मेटिएकी छु ,
आफ्नो नामोनिसान सम्म भेटिन्न आफैँभित्र ।
म भित्रको म बस्ने सानो कुर्सी सम्म छैन,
धर्मराउँदै ठोकिन्छु उसकै नयनमा ,
अनि पोखिन्छु उसकै धड्कनमा ।
उसको सामिप्यता मृत्यु भन्दा भयानक छ ,
र पनि घिस्रिरहन्छ यो मन तन उसै तिर
बिसाईदिन आफूलाई ,
मेटाइदिन उही चौडा छातीमा ।
रन्किएको मेरो निधारमा ,
उसका झन् ताता ओठहरूको स्पर्शले
शीतल हुने कुरै भएन,
उल्टै आगो लाग्छ कोमल मुटुमा ,
फैलिन्छ उन्मादको डढेलो धमनी र शिराहरूमा।
ऊ मेरा आँखाका ढकनीहरू बिस्तारै जोडिदिन्छ,
सायद देखाउन चाहन्छ,
ऊ भित्र पनि दन्किरहेछ आगो !
बेहोशीमै खन्याउन मन लाग्छ ,ऊ माथि मेलम्ची मलाई ,
निर्बाध जोडिदिन्छु ओठहरू ,
ऊ पौडिन थाल्छ ,
चहार्छ ऊ कुना र कोप्चेराहरुमा बाँकटे हान्दै ,
घरी लप्लपाउँछ किनारामा स्वाद लिँदै,
मानौँ मह जडित छ,
ऊ पिउन र पौडिनमै मस्त छ ,
म उसैलाई हेरेर मख्ख पर्छु ।
म सोच्छु,
म बासनाको मेलम्ची बगाइदिन्छु,
ऊ पुरुषत्वको सगरमाथा ठड्याउला ,
किञ्चित यस्तो हुँदैन ,
ऊ क्षण भङ्गुर सुखमा नै थकित थकित हुन्छ ,
बिसाइदिन्छ मेरो छातीको थुम्किलोमा
गलित अपार्थिब।
र फैलाइदिन्छ अनौठो बासना मृत्युको वरिपरि ।
यो मेरो चाह विपरीत भयो,
प्रेमको बदला ऊ मृत्यु कसरी दिन सक्छ !!
के यसको लागि कुनै अदालत छ ?
हुन्छ सुनुवाइ मेरो उजुर नामामा ??
नमिता दवाडी ,गोर्खा नेपाल ,हाल : न्यूजिल्यान्ड