Logo

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेता हरि बहादुर थापा

                                               -ले. डा. रामदयाल राकेश

“But what is important is Hamlet and a Mid Summer Night’s Dream, not who wrote them, but that somebody did. The artist is of no importance only what he creates is important.” ……. William Faulkner. “
अर्थात् हैमलेट र मिडसमर नाइट्स ड्रीम महत्वपूर्ण छन् न कि यसका लेखक विलियम शेक्सपियर तर जसले यसलाई अभिनयकृत गरे त्यो महत्वपूर्ण छ । कलाकार महत्वपूर्ण होइन जसले यसलाई सृजना गरे त्यो महत्वपूर्ण हो । हैमलेट र मिडनाइट्स ड्रीम महत्वपूर्ण हुन गयो । लेखक (नाटककार) पर्दा पछाडिमा पर्छन तर जसले यसलाई रंगमञ्चमा अभिनीत गरे त्यो स्मरणीय हुन जान्छ । गीतकार पनि पर्दा पछाडि नै पर्दछ तर गायक प्रसिद्द भइहाल्छ । तसर्थ नाटकमा अभिनय गर्ने कलाकार महत्वपूर्ण हुन्छ उसको सफल अभिनयबाट नाटक प्रसिद्द हुनजान्छ ।

अभिनेता हरि बहादुर थापाको प्रथम अभिनय मैंले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्रेक्षागृहमा अभिनित मालती मंगले नाटकमा सर्वप्रथम हेर्ने सु–अवसर प्राप्त गरें र त्यो प्रथम प्रभाव मेरो मन मस्तिष्कमा आज पनि जीवितै छ । भनिन्छ नि  First Impression is the last impression वास्तवमा यस सन्दर्भमा यो सत्प्रतिशत चरितार्थ हुन गयो ।

मैंले मालती मंगले हेरेपछि त्यसै बखत लेखें,“नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षागृहमा प्रदर्शित भइरहेको मालती मंगले गीतिनाटक नेपाली साहित्यका कवि तथा गीतकार माधव घिमिरेको लोकप्रिय र जनप्रिय नाट्यकृति हो ।”नेपाली गीतिनाट्य परम्पराको एउटा अत्युत्तम उपलब्धि मालती मंगले काठमाण्डौको दर्शकबृन्दमा चर्चाको बिषय हुन गएको छ । यो बहुचर्चित गीतिनाटय हाम्रो गीति  नाट्यको क्षेत्रमा एउटा नयाँ आयाम थप्न सफल भएको छ ।”

नेपाली लोकसंस्कृतिको जीवन्त चित्रण यसमा भएको छ । यस नाट्य कृतिका नायक मङ्गलेको भूमिकाको निर्वाहमा हरिबहादुर थापा सफलताको सोपान उक्लनमा सफल भएका छन्। एउटा सफल अभिनेताका वैशिष्ट्य सहजै उनको अभिनयमा हेर्न सकिन्छ । हरिबहादुर थापा उत्कृष्ट अभिनयको प्रदर्शन गर्नमा पारंगत देखिन्छन्।

साप्ताहिक मंच २०४२ आषाढ २७

प्रकारान्तरले राष्ट्रकवि माधव घिमिरे ज्यूले पनि विलियम फकनरको भनाईलाई समर्थन गर्न पुग्नुभएको छ जस्तो “नाटककारले शब्द, पात्रको आनीबानी, बेलाबेलाको हाउभाउ, चिन्तन मनन सबै भन्न सक्तैनन तिनको संकेत सम्म गर्न सक्छन् । विशेष मनःस्थिति एकैछिन आँखाको अघि उभिएको ब्यक्तिलाई एकै झलकमा आँखाले जति देख्छ, त्यसभन्दा बढी प्रतिभाले देख्न सक्दछ तर नाटककारले पनि लेख्न सक्दैन । परन्तु कुशल अभिनेताले नाटककारले चित्रण गरेको पात्रलाई र नाटकीय वस्तुलाई पनि राम्ररी उतार्न सक्छ । यतिमात्र हैन, प्रतिभाशाली अभिनेताले त त्यसलाई जीवन्त बनाउन सक्छ ।”

तद्उपरान्त हरिबहादुर थापाको अभिनय यात्रा अनवरत चल्दैआएको छ र आजपनि उत्तिकै सजीव एवं जीवन्त अभिनयमा उहाँ अग्रसर भइराख्नुभएको तथ्यलाई पनि उहाँले आजसम्म अभिनय गरेका नाटकहरुले साक्षात र स-प्रमाण गवाही दिन्छन्र साक्षी बनेका छन्। जस्तो अहिलेसम्म उहाँले अभिनय गरेका यी बिभिन्न नाटकहरु जस्तो वीरकुश, श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह, भक्त भानुभक्त, फर्केर हेर्दा, जब घाम लाग्छ, कोही किन बर्बाद होस, पहाड चिच्याईरहेछ, शकुन्तल, एउटा क्षितिजको उद्घाटन, अतृप्त आत्मा,आघात, भित्तेघडी, हामी बाँच्न सक्छौं, तासको जामा, पुरानो घर, अमरसिंह, सहनशीला सुशिला, अन्धवेग, विष्णुमाया(नाटिका) र मसान तथा गीति नाटक देउकी ।

यी उपर्युक्त नाटकहरुमा अभिनय और निर्देशन दुबै पक्षमा हरिबहादुर थापा निपुण कलाकारको भूमिका निर्वाह गर्नमा सफल हुनुभएको छ । उहाँमा अभिनयको अभिमान देखा पर्दैन कि म नै सफल अभिनयकर्ता हुँ भनेर । उहाँ बिनम्र बिनीत भएर आफ्नो आत्मस्वीकृतिको यस्तो अभिब्यक्ति दिनु नै, उहाँको महानता हो मैले सानैदेखि अनुशासित हुन र अरुलाई सहयोग गर्न सिकें ।

रंगमञ्चमा पनि मैले यी कुराहरुलाई हरेक समयमा पालना गर्ने प्रयास गरेको छु । नेपाली रंगमञ्चमा लागेर मैले धेरै कुराहरु जान्ने र जीवनलाई नजिकबाट बुझ्ने अवसर पाएको छु । मैले बिभिन्न् नाटकहरुमै अभिनय गर्दा मेरो बारेमा दर्शक तथा समीक्षकहरुबाट सुझावहरु पाउने गरेको छु । त्यही सुझाव र हौसलाले नै मलाई यो अवस्थासम्म आउन सहयोग पुर्याएको हो, जस्तो लाग्छ ।

यसै सब कारणले गर्दा कलाकार हरि बहादुर थापाको अभिनय कलाको बारेमा अभिनन्दन गर्दै बरिष्ठ संस्कृतिबिद् सत्यमोहन जोशी ज्यूले सही कुरा केलाउनुभएको छ । “मेरा फर्केर हेर्दा, जब घाम लाग्छ र सपना ब्यूँझन्छ नाटकमा कलाकार हरिबहादुर थापाले
निर्वाह गर्नुभएको भूमिका आज पनि मेरा आँखा सामु झलझली नै भैरहने गर्दछ ।” निर्देशक प्रचण्ड मल्ल्ले हरिबहादुर थापाको बारेमा सही समीक्षाहरु र टिप्पणी यी पंक्तिहरुमा पोख्नुभएको छ ,“म हरिबहादुर थापाको कुशल अभिनयदेखि गद्गद्” भएँ र अंकमाल गर्दै मुरी मुरी बधाई दिएँ । संभवतः यो दिन हरिबहादुर थापाको लागि कलाकार हुनुको नाताले जीवन भरी रहने दिन थियो ।”

अभिनेता हरिबहादुर थापाको विनम्रताको बारेमा सामीक्षक डा. मोहन हिमांशु थापाले सही टिप्पणी गर्दै आफ्नो अभिब्यक्ति यसरी पोख्नुभएको छ, “हरिबहादुर थापामा आफ्नो बिशिष्ट अभिनय कलाप्रति अनावश्यक घमण्ड र अहंको लेसमात्र पनि पाईंदैन तर पनि ब्यावहारिक जीवन र रङ्गक्षेत्रमा ब्यक्ति र अभिनेताका रुपमा स्वाभिमानी भने अवश्य पनि छन्”

हरिबहादुर थापाको अन्तर्राष्ट्रिय स्तरबाट पनि अभिनय कलाको बारेमा अभिनन्दन गरिएको प्रमाण टड्कारो रुपमा देखापर्दछ । जस्तो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले उहाँलाई रंगमञ्च सम्राट अवार्ड पदान गरेर अभिनन्दनीय कार्य गरेको छ । उहाँको राष्ट्रमात्र होइन अन्तर्राष्ट्रियले पनि अभिनय कलाबाट अभिभूत भएको यो प्रमाण प्रशस्त प्रशंसाको ध्योतक हो । त्यस्तै अमेरिका नेपाल, सहयोगी समाजले वहाँलाई सम्मान पत्र अर्पण गर्दै यसप्रकारको अभिब्यक्ति दिएको पाइन्छ ,

“बाल्यकालदेखी रङ्गमञ्चमा संलग्न भई नेपाल प्रज्ञा प्रतिष्ठानबाट आफ्नो रंगयात्रा शुरु गरीअभिनय कलामा सक्रिय रुपमा पाँच दशकसम्म ऐतिहासिक, सामाजिक र गीति नाटकहरुको जीवन्त अभिनय र नेपाली रङ्गमञ्चको इतिहासमै पहिलो एकल नाटक ‘दश पाइलाको’ सफल प्रस्तुतिले रंगमञ्चको गरिमा बढ्नुको साथै बिश्व रंगमञ्चको राजधानी न्यूयोर्कको अफ ब्रोडवे युएसएमा नाटकलाई पहिलो पटक मंचन गरि बिश्व रंगमञ्चमा पुर्याउन सफल रंगमञ्च सम्राट प्राज्ञ हरिबहादुर थापा ज्यू लाई यहाँको उल्लेखनिय योगदानको कदर गर्दै यो सम्मान गरिन्छ ।”

यसप्रकार स्पष्ट हुन्छ कि हरिबहादुर थापाको कलाकारिता, अभिनय क्षमता राष्ट्रिय क्षितिज पार गर्दै अन्तर्राष्ट्रिय क्षितिजसम्म पुग्न सफल भएको छ । रङ्गमञ्चका पर्याय हरि बहादुर थापा पुस्तिकामा पनि यस कुराको उल्लेख गरिएको छ, “त्यो भन्दा पनि उल्लेखनीय प्रसंग २०७२ मा विश्वकै चर्चित रङ्गमञ्चको शहर चिचिने न्यूयोर्क अमेरिकाको ‘अफ ब्रोडवे ७७७’ नाट्यशालामा हरि बहादुर थापाले जीवनकै सर्वाधिक उत्कृष्ट रङ्गमञ्चीय गतिबिधि गरेर प्रशंसा कमाए । त्यस नाट्यशालामा उनले अशेष मल्ल लिखित ‘जोडियोस भत्किएका मनहरु’ को निर्माण साथै सशक्त निर्देशन र सूत्रधारको भूमिकामा अभिनय समेत गरेका थिए ।”

प्रकाशित मिति, २०७५ साल जेष्ठ १७ गते, बिहीवार 

प्रतिक्रिया दिनुहोस्