Logo

वलिवूडकी पहिलो महिला सुपरस्टार श्रीदेवीको आकस्मिक हृदयघातका कारण निधन

स्तावेज,फाल्गुण १४ गते,सोमवार,२०७४,काठमाण्डौं – वलिवूड पहिलो महिला सुपरस्टार अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५४ वर्षीया श्रीदेवीको अकस्मात् हृदयाघातका कारण दुबईको एक अस्पतालमा शनिबार राति निधन भएको भारतीय सन्चार माध्यमले उल्लेख गरेका छन्  ।

 श्रीदेवी आफ्ना भान्जा मोहित मारवाहको बिहेमा सहभागी हुन पति बोनी कपुर र कान्छी छोरी खुसीका साथ केही दिनदेखि दुबईमा थिइन् । उनलाई स्थानीय समय अनुसार शनिबार राति साढे ११ बजे कार्डियक अरेस्ट [आकस्मिक हृदयाघात ] भएको थियो । त्यस लगत्तै उनलाई अस्पताल लगिए पनि चेक जाँचपछि डाक्टरले उनलाई मृत घोषित गरेका थिए । श्रीदेवीको पार्थिव शरीर दुबईको अल घुसैसको मोर्गमा राखिएको छ । बोनीका भाइ सञ्जय कपुरले भाउजू श्रीदेवीलाई त्यसअघि कहिल्यै पनि मुटुसम्बन्धी समस्या नभएको बताएका छन् ।

श्रीदेवी पति र छोरीका साथ दुबईको अमिरातमा बसेकी थिइन् । भारतीय मिडियाका अनुसार श्रीदेवी सो होटेलको बाथरुममा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई बाथरुममै हृदयाघात भएको हुन सक्ने बताइएको छ ।

जेठी छोरी जान्हवी कपूर चाहिँ एउटा फिल्मको सुटिङका कारण बिहेमा सहभागी हुन पाइनन् । बिहे सकेपछि कपुर परिवारका अन्य सदस्य मुम्बई फर्किसकेका थिए । श्रीदेवीको अन्त्येष्टि सोमबार मुम्बईमा गरिने बताइएको छ । उनको पार्थिव शरीर निजी जेट विमानबाट मुम्बई ल्याइँदै छ । सन् १९६३ को अगस्त १३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवीले सन् १९७५ मा जुली फिल्ममा बालकलाकारका रूपमा बलिउडमा डेब्यु गरेकी थिइन् । उनलाई सन् १९८३ मा बनेको हिम्मतवाला फिल्मले रातारात स्टार बनाएको हो । त्यो फिल्मपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

करिब तीन सयवटा फिल्ममा अभिनय गरेकी श्रीदेवीलाई बलिउडकी पहिलो महिला सुपरस्टार मानिन्छ । पुरुष कलाकारको दबदबा रहेको बलिउडमा ८० र ९० को दशकमा श्रीदेवीले आफूलाई चर्चा र सफलताको शिखरमा पुर्याएकी थिइन् । उनका थुप्रै फिल्म हिट छन् । उनको अभिनय, रूप, बोली र रहस्यमयी मुस्कानले सधैँ चर्चा पाईरह्यो ।

उनले सन् १९९६ मा निर्माता बोनी कपुरसँग बिहे गरेकी हुन् । सन् १९८७ मा मिस्टर इन्डिया फिल्म सुटिङका क्रममा उनीहरू प्रेममा परेका थिए । हिरोइनका रूपमा श्रीदेवीको डेब्यु फिल्म सन् १९७८ को सोलहवा सावन हो । उनले चालबाज, लम्हे, खुदा र गवाहमा डबल रोल निर्वाह गरेकी थिइन् । उनका हिम्मतवाला, मिस्टर इन्डिया, तोहफा, नगिना, आखिरी रास्ता, कर्मा, चाँदनी, जुदाइ, सदमालगायत थुप्रै फिल्म चर्चित छन् ।

उनको पछिल्लो फिल्म ‘मम’ सन् २०१७ को ७ जुलाईमा रिलिज भएको थियो । त्यसभन्दा अघि उनी सन् २०१२ मा इंग्लिस– बिंग्लिस फिल्ममा देखिएकी थिइन् । उनी शाहरुख खानको डिसेम्बरमा रिलिज हुने नयाँ फिल्म जिरोमा विशेष भूमिकामा देखिनेछिन् । श्रीदेवीलाई भारत सरकारले सन् २०१३ मा प्रतिष्ठित पद्मश्री सम्मान प्रदान गरेको थियो । श्रीदेवीले अभिनेता जितेन्द्रसँग सर्वाधिक १८ वटा फिल्ममा अभिनय गरेकी थिइन् । उनीहरूको जोडीलाई दर्शकले निकै मन पराएका थिए ।

उनीहरूले जैसीकी तैसी, जस्टिस चौधरी, मवाली, जानी दोस्त, हिम्मतवाला, मक्सद, तोहफा, सरफरोस, महागुरु, बलिदान, सुहागन, औलाद, मजाल, अकलमन्द, धर्म अधिकारी, आग और सोला, सोने पे सुहागलगायत फिल्ममा सँगै अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्