Logo

मन्डलामा गुन्जिईन् दीपा

स्तावेज,माघ २३ गते, मंगलबार २०७४,काठमाडौँ – नेपाली सामाजिक परिवेशलाई कविताको माध्यमद्धारा यथार्थ चित्रण गरी समाजमा सकारात्मक सन्देश छर्न सफल कवयित्री ‘दीपा राई पुन’को एकल कविता वाचन माघ २२ गते मण्डला थिएटर अनामनगरमा भव्यतापूर्वक सम्पन्न भएको छ । मूलबाटो साहित्य प्रतिष्ठानले आयोजना गरेको कविता वाचन कार्यक्रमको पहिलो श्रृंखलामा अमेरिकामा बसेर लेखिरहेकी कवि ‘दीपा राई पुन’ले आफ्ना दर्जनौँ कविताहरू सुनाइन् । उनको कविता वाचनमा अग्रज कविहरू राजेन्द्र शलभ, ममता कर्माचार्य ,मणी लोहनी, बिमला तुम्खेवा, स्पन्दन राजा लगायत अन्यले सहयोग गरेका थिए ।

हाल अमेरिकाको बोस्टनमा आफ्नो कर्मथलो बनाइरहेकी ‘दीपा राई पुन’ले आफ्नो व्यस्त जीवनशैलीबाट फुर्सद निकालेर निरन्तर साहित्य साधनामा लागिरहेकी छिन् । प्रवासमा रहेर पनि नेपाली माटोलाई माया गर्ने कवयित्री पुनका कवितामा नारी संवेदनाको ज्वलन्त उदाहरण प्रष्फुटित हुन्छ । समसामयिक परिवेशमाथि लक्षित गरिएका उनका कविताहरू अत्यन्त मार्मिक रहेका छन् ।

 ‘दीपा राई पुन’को भावयुक्त वाचनले मण्डला थिएटर कुनै बेला आँसु खसाल्दै थियो त कुनै बेला प्रेमिल भावमा बगिरहेको थियो । उनका वजनदार कविताले सबै दर्शक श्रोतालाई चुर्लुम्म डुब्न बाध्य बनाएकी थिइन् । उनको कवितामा नारी समवेदना,सुुख,दुुख,प्रेम,घृणा एवं माटोको सुगन्ध भरिएको पाइन्छ । चोटिला, रसिला,गहकिला शब्द चयन गरी लेखिएको उनको कविताहरू हाँसो, खुशी, मिलन, बिछोडको संयोजनले भरिएका छन् ।

साहित्यको माध्यमद्धारा हमेशा दुःखको अग्लो पहाड उक्लिएर खुसीका आयामहरू खोजिरहेकी हुन्छिन् उनी । उनको भनाइमा, दुखाउनेहरूको लागि गर्न सकिने सबैभन्दा ठूलो कुरा माफी हो । मैले हरेक पटक चोट दिनेहरूलाई माफी दिएको छु ।’कार्यक्रमको अन्त्यमा उनले भनिन्, व्यस्तताको वावजूदपनि नेपाली साहित्यलाई निरन्तरता दिनु भनेको साहित्यप्रतिको तीव्र ईच्छ्याशक्ती र आफ्नो माटोप्रतिको अगाध प्रेम नै हो ।

आफ्नो माटो छोडेर प्रवासमा रहँदा कि कतै उनी हराएकी पो हुन् कि ? कतै उनी परिचयविहीन पो भएकी हुन् कि ? भन्ने भान हुन्छ उनलाई तर जब उनी आफूले लेखेको कविताहरू हेर्छिन्, नेपाली कविताहरू पढ्छिन्, तब महशुस गर्छिन् कि उनी परिचयविहीन भएकी होइनन् । उनको परिचय त ती कविताका अक्षरहरूमा सुरक्षित छ । उनी भन्छिन्, ‘विदेशमा बसेर कविता लेख्नु भनेको नेपाली भाषा, संस्कृति, रहनसहन, परम्परा आउने पुस्तालाई सिकाउनु हो ।’

उनको प्रकाशित कृतिमध्ये ‘तिम्रो सपनाको म’, ‘स्पन्दनका रागहरू’ र ‘छुटेको बागदाता’ हुन् भने उनी पुन: नयाँ कविता संग्रह प्रकाशनको तयारीमा छिन् । कवयित्री ‘दीपा राई पुन’को नयाँ कविता संग्रह छिट्टै प्रकाशित होस् दस्तावेज डट कमको तर्फबाट अग्रिम शुभकामना !

  Deepshikha Sharma

[email protected]

प्रतिक्रिया दिनुहोस्