Logo

कविता – एक छोरी जन्माउनुछ आमा !

                -अन्जना पौडेल

मलाइ एक छोरी जन्माउनुछ आमा !

पार्वती जस्ती छोरी होइन

जसले महादेव पति पाउन बालखैदेखि

शिवलिङ्ग खडा गरेर पूजा र तपस्या गरिन्

उनैं महादेवले किराँतेस्वर रूप लिई

उनैंलाइ झुक्याए

बनविहारमा रंगरमिता गर्न निस्के !

पार्वतीलाइ मृग रूप धारण गर्न बाध्य बनाएर

उनको प्रेमको परीक्षा लिए ।

पार्वतीले देवता गुहार्न पर्यो

आफ्ना मृग बनेका पति पुन: प्राप्त गर्नलाई !

महादेवको इच्छा पनि कति कति

सतिदेवी मन पराए

उनैलाई विष्णुको जालझेलले आफ्नी बनाए

उनको अत्याचार पनि कस्ता कस्ता

गोमालाइ सराप दिए

शिवशर्मा ब्राम्हण बनेर

उनैंलाइ भोग गरेपछि

गोमालाइ दु:खाका नुनिला समुन्द्रमा

एक्लै एक्लै नुहाउन छोडिदिए !

हरे राम !

उनैं राम जसले सिता जस्ती

पवित्र पत्नीलाई रावणले मनपराएकै कारण

चौध वर्षको बनबास पछि

राज्यको सुखसुविधा भोग गर्न नदिएर

धोबीका कुरा पत्याएर

पुन: शोकबाटिकामा धकेलीदिए

अग्निपरिक्षा लिए !

आफ्नैं सन्तान लवकुसलाइ बेसाहारा बनाए !

हरे कृष्ण ! 

उनैं कृष्ण ,एक राधालाई मनमा सजाए

उनैंलाइ मायाकी भोकी बनाए

रूक्मीणिको सिउँदो सजाए !

र आफू सोर्ह सय गोपिनिसँग रासलिला मनाए

! हे स्वस्थानी माता

हे आमा !

मलाइ छोरी जन्माउनुछ आमा

म रूदा सँगै रोइदिने

म हाँस्दा सँगै हाँसिदिने

मेरो आत्मामा प्राण भरिदिने

मेरो जीवनमा खुसीका इन्द्रेणी सजाइदिने !!!

जो सबै भन्दा विल्कुल अलग होस्

उसले सितामाथि गिद्दे नजर लगाउने

रावणका आँखा आफ्नै नङ्ग्राले

झिकेर हरियो पातमा राखेर क्षार

समुन्द्रमा बगाउन सकोस् !

विना हनुमान आफैँ लंका भष्म गर्न सकोस्

र हस्तिनापुरमा राम राज्य होइन

सिताराज्य बनाएर

राज गर्न सकोस् !

पटक पटक भाङ्ग धतुरो खाएर झुक्याउदै

धोका दिने पतिलाई

देवादीदेव महादेव भन्दै चरण धोएर जल

खाने होइन ,

बरु उसका कुकृत्यलाइ निमोठेर

हिन्द महासागरमा फाल्दिने छोरी जन्मोस् !

कृष्ण जस्तो धोकेबाज प्रेमी र पतिलाई

तृष्णाले छट्पटिदै

उ मेरो प्राण,मेरो कृष्ण भन्दै

चरणको धुलो सजाएर शिर निहुराउने

छोरी जन्माउनु छैन आमा !

उ यती निडर होस्

दानवरूपी कुसंस्कारलाइ

जरैदेखि निमोठ्ने काली जन्मोस् !

या

आफ्नैं हातका कलमले

संविधान बनाएर

नारीका लागि बनेका

अग्ला पर्खालहरू भत्काअोस्

नारीका लागी बुनेका चुँडालोस्

अन्धविश्वासका बलिया साँङ्लाहरू !

र निस्कोस् बुद्ध बनेर

ज्ञान र शान्तिको ज्योति छर्दै

संसारका कुनाकुनामा !

हे आमा ,

हे स्वस्थानी माता यदि तिमी छौ भने वरदान देऊ

मलाइ, 

हो ! मलाइ यस्तै एक छोरी जमाउनु छ !!!

प्रकाशित मिति, २०७४ साल माघ १७ गते, बुधवार 

 

प्रतिक्रिया दिनुहोस्