Logo

दिक्षा र रामबिक्रम बने दशककै उत्कृष्ट खेलाडी

ज्याक खड्का,दस्तावेज संवादादाता ,पौष १७ गते सोमवार २०७४,काठमाडौँ – मोटरसाइक्लिङ स्पोर्ट्समा दीक्षा श्रेष्ठ र रामबिक्रम थापा दशककै उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । गत पुस ८ र ९ गते सम्पन्न भएको मोटरसाइक्लिङ सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठको हातबाट दुवै खिलाडीहरुलाई २५/२५ हजार रुपैंया नगद, प्रमाणपत्र र शिल्ड प्रदान गरियो । उनीहरू विगत केही वर्षदेखि मोटरसाइकल रेसिङ क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आइरहेका छन्।

धुलिखेल निवासी २० वर्षीय खेलाडी दिक्षा श्रेष्ठले मोटर स्पोर्ट्समा निकै ख्याती कमाई सकेकी छिन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा समेत सहभागिता जनाएकी छिन् । उनी होन्डा डिभा कप २०१३ मा प्रथम, रेसमान्डु २०१४ मा प्रथम तथा रेसनारी २०१६ र २०१७ को विजेता भएकी थिइन् । साथै मलेसियामा आयोजित एसिया कप अफ रोड रेसिङ २०१६ मा सहभागी पनि भएकी थिइन् । हालै स्नातक उत्तीर्ण दीक्षा श्रेष्ठको मोटर स्पोर्ट्समा भविष्य उज्वल देखिन्छ ।

यसैगरी रामबिक्रम थापा पनि मोटर स्पोर्ट्स क्षेत्रमा चर्चित छन् । उनी रेसमान्डु १,२,३,४,५ मा सहभागी भएका थिए भने रेसमान्डु ४ का विजेता पनि हुन् । साथै रेसमान्डु ५ को नेसनल क्याटागोरीमा पाँचौ पनि भएका थिए । थापाले एसिया कप अफ रोड रेसिङ जस्ता अन्तर्राष्ट्रिय खेलहरुमा पनि सहभागिता जनाएका छन् । हालै भारतमा सम्पन्न एसिया कप अफ रोड रेसिङ २०१७ मा सहभागी भएर उनले नेपाललाई तेस्रो स्थान समेत दिलाएका थिए ।

कुनै बगैचामा फूलेका फूलहरु मुलतः सबै सुन्दर हुन्छन् । त्यस्तै नेपाली राइडर्स र ड्राइभर्स सबै सुन्दर फुल हुन् । समग्र क्षेत्रको हिसाबले त्यसमा रामबिक्रम र दीक्षा अझ सुन्दर निस्किएका मात्र हुन् ।

ख्याल ख्यालैमा नेपाली मोटर स्पोर्ट्सले १ दशकको यात्रा सम्पन्न गर्न लागेको छ, अर्थात् ९ वर्ष पुरा गरेको छ । सामान्य मनोरञ्जन यात्रा, टुरिजम प्रमोसन तथा कम्पनीको प्रमोसनको लागि मात्र नेपालमा भइरहेको गतिविधिलाई एकैपटक साहसिक स्पोर्ट्स, साहसिक पर्यटनको मूल आधार तथा कला, साहित्य र समाज सेवाको संयोगको रूपमा समेत उदाएको छ नेपालमा मोटरिङ । २०६५ सालमा तत्कालीन रूपमा नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसन (नासा) को स्थापना हुँदा कुनै चर्चा परिचर्चा र स्थान ग्रहण गर्न नसकेको नेपाली मोटरसाइक्लिङ स्पोर्ट्स हाल नेपालमा मात्र नभई संसारमै चर्चामा पुगेको छ । त्यसको श्रेय नासाका अफिसियल, प्राविधिक लाई जान्छ नै, तर त्यो भन्दा ठुलो योगदान नेपाली राइडर्स तथा ड्राइभर्सले गरेका छन् भन्दा अत्युक्ति नहोला ।

आज दीक्षा श्रेष्ठ, अमन चौधरी, रामबिक्रम थापा, उपेन्द्र प्याकुरेल, आसिक लामा तथा प्रत्यूष कुँइकेल जस्ता खेलाडीको श्रम, सिप, साहस र सिर्जनामा अडेको मात्र होइन सुरक्षित् रूपमा गुडेको पनि छ मोटर स्पोर्ट्स । हो तिनै राइडर्सलाई बिर्सने कुरा कल्पना भन्दा टाढाको कुरा रह्यो । तसर्थ यो पहिलो दशकका दुई जना राइडर्स छनौट गरी दशककै उत्कृष्ट राइडर्स घोषणा गरियो । यही डिसेम्बर २३ अर्थात पुस ८ गते काठमाडौँमा, जसले नेपाली मोटरसाइक्लिङ स्पोर्ट्सलाई आज संसारमा चिनाउन महत्वपूर्ण योगदान गरेको ठहर नासा तथा मोटर साइकल फेडरेसनले गरेको छ।

प्रतिक्रिया दिनुहोस्